काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन गर्नको लागि राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेकी छिन् । मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार निर्वाचन गर्नका लागि काम अगाडि बढाउन आग्रह गरेकी हुन् । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने मिति तोकेको छ । यस्तै, आयोगले सोहीअनुसार सोमबार निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । आयोगका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी थिइन् ।
यसका लागि सरकारको तर्फबाट समेत अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाउँदै उनले निर्वाचन आयोगलाई सरोकारवालाहरुसँगको समन्वयमा निर्वाचन कार्यतालिकाबमोजिमका कामहरु सघनरुपमा अगाडि बढाउन आग्रह गरेकी हुन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको प्रारम्भिक आकलनका बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
आयोगले निर्वाचन पूर्वतयारीका लागि कार्यतालिका स्वीकृत गरिसकेको र सो अनुसारका कार्य योजनाबद्धरुपमा अघि बढने उनले बताए । उनले निर्वाचनको प्राविधिक पक्षका अलावा सरोकारवालाहरुसँगको समन्वय र सहकार्यका कार्यहरु आवश्यक हुने बताए । त्यसका लागि सरकारको तर्फबाट समेत अनुकूल वातावरण सिर्जना हुने उनको विश्वास थियो ।
छलफलमा निर्वाचन आयुक्त सगुन शम्शेर जवराले निर्वाचनका क्रममा आइपर्न सक्ने सुरक्षा चुनौती र समाधानका उपायहरुका वारेमा आयोगको धारणा राखेका थिए । विदेशमा मतदान गर्ने विषयमा गर्नुपर्ने कार्यका विषयमा समेत छलफल भएको थियो । छलफलमा अर्थ तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, विभिन्न मन्त्रालयका सचिवहरु सुरक्षा निकायका प्रमुखहरूलगायत सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर ज.ब.रा. तथा आयोगका सचिव महादेव पन्थलगायतको उपस्थिति रहेको थियो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा सम्पन्न गर्ने र त्यसका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन गर्नुपर्ने कार्यहरुका विषयमा छलफल भएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । निर्वाचनमा नागरिकको अधिकतम सहभागिता सुनिश्चिचता, निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलसँग तिहारअघि नै छलफल गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार यसअघि सम्पन्न संसदीय निर्वाचका समयमा प्रयोग भएका स्रोतसाधनको प्रारम्भिक अनुमान गरी निर्वाचनका लागि थप आवश्यक स्रोतसाधन माग गर्ने तयारी छ । यसअघि असोज ७ गते पनि प्रधानमन्त्री कार्कीसँग निर्वाचनका विषयमा आयोगका पदाधिकारीले छलफल गरेका थिए ।