(विकिपिडियामा राजनीतिक भ्रष्टाचार: भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरू सित जोडिन्छ । भ्रष्टाचारलाई बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा सङ्गठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन्, जसमा घुसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् । राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताको साथ कार्य गर्दा हुन्छ ।)
उच्च पदमा रहेका कसैले पनि करोडौँकरोडका घुस लेनदेनको संवाद गरेका अर्थात् घुसवार्ताका अडियो रेकर्ड पाउनै गाह्रो हुन्छ । घुस आफैँमा गोप्यरुपले लेनदेन गर्ने कुरा हो । हतपत यस्तो लेनदेद खुल्दैन पनि । लामो अनुसन्धानपछि मात्रै यसका केही संकेतहरु मिल्छन् । त्यसकै आधारमा अनुसन्धान गर्ने निकायले घुस ठहर गरेर अदालतसम्म पुर्याउने हुन्छ ।
तर पछिल्ला समय भने प्रविधिले यस्तो लेनदेनको उजागर गर्ने गरेका पाइन्छ । ती पक्षहरुबीच भएका यस्ता टेपवार्ताहरु बेलाबेला सार्वजनिक पनि हुने गरेका स्थिति छ । तर यस्ता टेपवार्ताहरु सार्वजनिक हुँदा पनि अधिकांशमाथि कारबाही पाइँदैन । कि फेक भनेर उम्कन्छन् वा उम्काइन्छ कि उनले धारण गरेको पदबाट राजीनामा दिलाएर मुक्ति दिलाइन्छ ।
एउटा त घुसको यस्तो अडियो रेकर्ड गर्नु नै जटिल काम हो । रेकर्ड भैँसेको कुरा सम्बन्धित व्यक्ति आफ्नो स्वर होइन भनेर धर पाउने अवस्था बनाइन्छ । घुसको रकम माग वा प्रस्ताव भएको अडियोबाट उल्लेखितबाहेक कारबाहीमा परेका घटना अपवादमा मात्रै पाइएला । यहीँबाट प्रश्न उठ्छ, भ्रष्टाचारको छानबिनका लागि यस्ता दुर्लभ प्रकारका विवरण प्राप्त हुँदा पनि किन त्यस प्रकारको छनबिन र कारबाही हुँदैन ?
हालै निवर्तमान भएका प्रधानमन्त्री (केपी शर्मा ओली)को मात्रै दुईजना मन्त्री अडियो घुस काण्डमा मुछिए र राजीनामा दिएर उम्किए ।
यसअघिका अर्का प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड)को सबैभन्दा निकट एक पात्र जो छ पटक महत्वपूर्ण मन्त्रालयका मन्त्री भए, उनको पनि यस्तै घुसवार्ताको अडियो सार्वजनिक भयो । तर उनी पनि फेक अडियो भनेर उम्किए । उनले सांसद खरिद गर्न भनी गरेको यस्तो डिलको रकम पचास करोडको थियो । घटना भने करिब १५ वर्षअघिको हो ।
पछिल्लो आमनिर्वाचनबाट संसद्को चौथो शक्तिको रुपमा उदाएको अर्को एउटा दलका सांसद पनि घुसवार्ताको टेप सार्वजनिक हुनेमा परेका थिए । त्यो वार्तामा आफू मन्त्री हुन लागेको र पार्टीलाई सहयोग गर्नुपरेको भन्दै कसैसँंग उनेले तीन करोड रकम मागेका थिए । यस्तो टेपवार्ता सार्वजनिक भएपछि उनले पनि पदबाट राजीनामा दिएर उम्किए वा राजीनामा दिलाएर उम्काइयो । उनको दल गएको निर्वाचनमा भ्रष्टाचारको धेरै नै चर्को विरोध गरेर नै यो ठाउँमा आइपुगेको थियो । तर चुनाव जितेपछि त्यो दलले पनि अरुले जस्तै पदबाट हटाएर पुग्ने परम्परा नै पछ्यायो ।
घुसको टेपवार्ताका सन्दर्भमा दुईवटा नमुना प्रस्तुत छ, जसमा एकजनाले पचास (५०) करोड र अर्काले सत्तरी (७०) करोड मागेका थिए । सत्तरी (५०) करोड माग्नेको त फेक भनिएर थप केही गरिएन । त्यो केही हुँदैहोइन भनेर नै टारियो । (७०) करोड माग्नेको चाहिँ राजीनामासम्म गराइयो । त्यसपछि थप केही भएन । यस्तो ७० करोडको वार्ता हुँदा उनी त्यो सरकारका सञ्चारमन्त्री तथा प्रवक्ता थिए ।
५० करोड माग गरिएको वार्ता
माओवादी उपाध्यक्ष समेत भएका कृष्णबहादुर महराको चिनियाँ नागरिकसँग संसद्मा सांसद खरिद गर्न भनी चिनियाँ नागरिकसँग टेलिफोन संवादमा पचास करोड मागेको विवरण सार्वजनिक भयो । यो संवादमा नै सांसद खरिदका लागि यति रकम आवश्यक पर्ने भनेर महराले चिनियाँ नागरिकसँग रकम मागेको अडियो नेपाल वान टेलिभिजनले २०६७ भदौ १८ गते सार्वजनिक गरेको थियो । त्यसपछि अरु माध्यमले पनि यसलाई प्रकाशन गरे । त्यो अडियोमा महराले चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेका प्रष्टै सुनिन्छ ।
त्यसका लागि उनी हङकङ जान पनि तयार भएका थिए । यति क्रुर भइसकेपछि स्वाभाविक छ, उनी हङकङ गए र त्यो रकम नेपाल पनि आयो होला भनी मान्नुपर्छ । तर न त्यो रकम र यो संवादमाथि राज्यबाट छानबिन नै भयो । अर्थात् त्यसै डिसमिस गरियो, अरु केही गरिएन । महरा र चिनियाँ नागरिकबीचको टेलिफोन संवादः
चिनियाँः चुनाव आउँदै छ भन्ने सुनिन्छ, के हुँदैछ ?
महराः हो, चुनाव निकट आएको छ । तर, कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन ।
चिनियाँः के माओवादीले राम्रै स्थान ल्याउला भन्ने सोच्नुभएको छ ?
महराः त्यस्तो सम्भावना छैन । तर, हामीले प्रयास गरिरहेका छौँ । धेरै गाह्रो छ ।
चिनियाँः केले समस्या बनाएको हो त ?
महराः हामीसँग १० देखि १५ वटा त पहिल्यै छ । ५० हाराहारी आउँछ होला ।
चिनियाँः अर्को, ५० चाहियो हैन त ?
महराः हो, पाँचलाई सुन्ना पचास।
चिनियाँः तपाईंहरूलाई ५० सिट ल्याउन कस्तो खालको सहयोग गर्न सक्छौँ त ?
महराः योचाहिँ अलिक गाह्रै काम हो किनभने दक्षिणले उनीहरूलाई सहयोग गरिरहेको छ । दक्षिणलाई ‘न्युट्रलाइज’ गर्न र दोस्रो कुरा केही पैसा चाहिन्छ ।
चिनियाँः कति जति चाहिन्छ होला ?
महराः म यसै भन्न सक्दिनँ । मैले यसबारे अध्यक्षसँग कुरा गर्नुपर्छ ।
चिनियाँः मेरा एक जना साथी छन्। जसले तपाईंलाई सहयोग गर्ने कुरा गरिरहेका छन् । भेटेर कुरा गर्नुपर्छ ?
महराः भेट्नका लागि तपाईंलाई कहाँ पायक पर्छ ?
चिनियाँः हङकङ हुन्छ ?
महराः उनले कोसँग भेट्न चाहेका हुन् ?
चिनियाँः तपाईं र अध्यक्षसँग मात्रै, अरूसँग होइन ।
महराः तर, हाम्रो अध्यक्षलाई आउजाउ गर्न साह्रै गाह्रो छ । उहाँ हङकङ जानुभयो भने सबैले उछाल्छन् । किनभने उहाँ पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको उम्मेदवार पनि हुनुहुन्छ ।
चिनियाँः त्यसो भए तपाईंले उहाँको प्रतिनिधित्व गर्दै मेरो साथीलाई भेट्न सक्नुहुन्छ कि ?
महराः हुन्छ, हुन्छ। म जहाँ आउन पनि तयार छु। म यहाँ, त्यहाँ, जहाँ पनि जान सक्छु तर यो सन्देश उहाँकहाँ पु¥याउनैपर्छ । उहाँलाई निम्ता पुग्नुप¥यो र अनि उहाँले मलाई पूर्ण जिम्मेवारी दिनुहुन्छ ।
चिनियाँः हाम्रो योजना के छ भने पहिला हामी तपाईसँग भेट्न चाहन्छौँ । हामी सबै कुरा विस्तृतमा गर्नेछौँ । ५० सीट ल्याउन के सहयोग गर्न सकिएला भनेर छलफल गर्नेछौँ ।
महराः त्यसका लागि महत्वपूर्ण ठाउँ चीन नै हुन्छ होला । चीनको छेन्दुमा । छेन्दु राम्रो ठाउँ हो । कसैलाई थाहा पनि हुँदैन ।
चिनियाँः तर यो संवेदनशील विषय हो, हामी वर्तमान सरकारसँग कुनै खालको हस्तक्षेप चाहँदैनौँ ।
महराः त्यसो हो भने सिंगापुर अर्को ठाउँ छ नि !
चिनियाँः सिंगापुर कि हङकङ ?
महराः हङकङमा धेरै नेपाली छन् । त्यहाँ उनीहरू हुन्छन् । त्यसैले सिंगापुर नै राम्रो हुन्छ ।
चिनियाँः ल म आफ्नो साथीसँग कुरा गर्छु ।
महराः आज साँझ म तपाईंलाई फोन गर्छु, हुन्छ ?
चिनियाँः हुन्छ, हुन्छ। हङकङमा सम्भव हुन्छ कि भन्ने हेर्नुहोला ।
महराः हुन्छ, म यही नम्बरमा तपाईंलाई फोन गर्छु ।
चिनियाँः हुन्छ, ल म तपाईंको फोनको प्रतीक्षामा हुन्छु ।
महराः हुन्छ, तपाईंले आफ्नो स्रोतबाट अध्यक्षज्यूकोमा पनि सन्देश पुर्याउनुहोला ।
चिनियाँः के तपाईंले मलाई अध्यक्षसँग पनि कुरा गरोस् भन्न चाहनुभएको हो ?
महराः हुन्छ, म फोन गर्छु।
चिनियाँः हुन्छ, हुन्छ।
०००
चिनियाँः हेलो महराज्यू !
महराः हजुर, हजुर । के छ? सन्चै हुनुहुन्छ?
चिनियाँः ठीक छ, ठीक छ। धन्यवाद ! मलाई त तपाईंले हिजो फोन गर्नुहोला भन्ने लागेको थियो ।
महराः हिजो बेलुका मैले फोन गर्न सकिनँ । त्यही भएर मैले आजै बिहान फोन गरेँ ।
चिनियाँः ए ! ठीक छ, ठीक छ।
महराः तपाईंको सुझावबारे मैले अध्यक्षज्यूसँग कुरा गरेँ । कोही अर्को व्यक्तिले पनि अध्यक्षज्यूसँग कुरा गरिरहेको छ भन्ने कुरा आयो, के त्यो सही हो ?
चिनियाँः मेरो तर्फबाट त होइन । मेरो साथी र मैले त तपाईंसँग मात्र कुरा राखेका छौँ ।
महराः तर त्यो कुरा कुनै ठोसरूपमा गएको छैन । अध्यक्षज्यूसँग कुराकानी गर्दा उहाँले के भन्नुभयो भने अब त चुनावका लागि चार दिन मात्रै बाँकी छ । हामीलाई ५० सदस्य आवश्यक छन् । त्यो हासिल गर्न एक जनालाई कम्तीमा पनि १० लाख नेपाली रुपैयाँ चाहिन्छ ।
चिनियाँः त्यसो भए नेपाली सय लाख चाहियो, हैन ?
महराः हो ।
चिनियाँः तर पहिला भेट्नु नै पर्नेछ, किनभने केही कुरा विस्तृतरूपमा गर्नुपर्ने हुन्छ । त्यसका लागि तपाईं हङकङ आउन सक्नुहुन्न ?
महराः तर त्यहाँ धेरै नेपाली छन् । के गर्ने होला ?
चिनियाँः अर्को देशमा जाँदा मेरो साथीलाई विशेष भिसा लिनुपर्ने हुन्छ, तर हङकङमा उहाँ सजिलै जान सक्नुहुन्छ। कसैले थाहा पनि पाउँदैनन् ।
महराः कहिले त?
चिनियाँः जहिले भए पनि हुन्छ। हामी त खुला नै छौँ त्यसमा । तर तपाईं कहिले आउन सक्नुहुन्छ ?
महराः अब चार दिन मात्रै बाँकी छ। अलि छिट्टै गर्नुपर्ने हुन्छ । म भोलि आऊँ त ?
चिनियाँः हुन्छ ।
महराः कि आजै गरूँ ?
चिनियाँः तपाईं हङकङमा कति बस्नुहुन्छ, एक रात ?
महराः अँ, एक रातले पुगिहाल्छ ।
चिनियाँः हुन्छ ।
महराः ल म तपाईंलाई नेपालको १२ बजे फोन गर्छु है त ! म आजै साँझ पनि आउन सक्छु ।
चिनियाँः हुन्छ, हुन्छ।
महराः ल मेरो इमेल हेर्नुहोला १० मिनेटमा ।
चिनियाँः म एउटा मिटिङमा जाँदैछु। नेपालको १० बजेसम्म म इमेल चेक गर्न पाउँदिनँ होला।
महराः हुन्छ, १० बजे इमेल हेर्नुहोला।
चिनियाँः तपाईं हङकङमा कहाँ बस्नुहुन्छ, मलाई भन्नुहोला । ताकि तपाईंलाई भेट्न सकुँ ।
महराः हुन्छ, हुन्छ ।
सञ्चारमन्त्रीको ७० करोड कमिसन वार्ता
तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । यस्तो छ त्यो कुराकानी:
विजय प्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्विस एम्बेसी आउँछ । स्विस एम्बेसीले बोलाएर आउँछ तपाईंले बोलाएर आउने हैन ।
मन्त्री गोकुल बाँस्कोटा : हँ..
विजय प्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने कि भन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको –कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ ।
मन्त्री गोकुल बाँस्कोटा : ठीक छ।
विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि तपाईंले टाइम मिलाइदिनुपर्यो ।
मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु।
विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि ? तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस।
मन्त्री गोकुल बाँस्कोटा : अब । क्यापासिटीको कुरा ।
विजय प्रकाश मिश्र शर्मा : कुराचाहिँ मैले राखेको छु उनीहरुलाई ।
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने ?
विजय प्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छन् ?
विजय प्रकाश मिश्र शर्मा : यसको टोटलको पर्सेन्ट निकाल्ने हो ।
मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौँ ।
विजय प्रकाश मिश्र शर्मा : केही न केही त भइराछ त्यही बेसमा जाने हो । बेसचाहिँ तपाईंहरुको उसमै जाने हो हामी ।
मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो । मानौं २५ निस्क्यो भने कति हुन्छ ?
विजय प्रकाश मिश्र शर्मा : ७० जति आउला कि ? आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि ।
मन्त्री गोकुल बाँस्कोटा : तपाईंलाई के गर्छन्? छुट्टै गर्छन् ?
विजय प्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सप्यारेन्ट हुन्छ ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छ ?
विजय प्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने १५ देखि १६ हामीले राख्ने । हामीले पनि त अलि अलि राख्नुपर्यो नि । आउट अफ ट्रयाक गइयो भने...
मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कसले कुरा गर्छ नि ?
विजय प्रकाश मिश्र शर्मा : त्यो कुरा तपाईं गर्नुस् ।
मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस् भने यी मु...कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन् । त्यसकारण यो कुरामा तपाईं आफैँ लाग्नुस् । कुरा बुझ्नुभो...
विजय प्रकाश मिश्र शर्मा : त्यसो भए म आफैँ लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो मु..ले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस् ।