अमेरिका,अमेरिकाको एक अदालतले क्यान्सरका कारण मृत्यु भएकी एक महिलाको परिवारलाई ६६ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न जोनसन एन्ड जोनसन कम्पनीलाई आदेश दिएको छ। अदालतले कम्पनीको बेबी पाउडरका कारण महिलाको मृत्यु भएको ठहर गर्दै कम्पनीलाई जिम्मेवार मानेको हो।
अदालतको फैसलाअनुसार परिवारलाई करिब १६ मिलियन डलर क्षतिपूर्ति र थप ५० मिलियन डलरभन्दा बढी दण्डात्मक जरिवाना उपलब्ध गराइनेछ। उक्त फैसला अमेरिकाकी मे मुर नामकी ८८ वर्षीया महिलाको निधनपछि आएको हो, जसको मृत्यु सन् २०२१ मा भएको थियो।
परिवारले अदालतमा मुरले जीवनभर जोनसन एन्ड जोनसनको बेबी पाउडर प्रयोग गरेको र सोही कारण उनलाई क्यान्सर भएको दाबी गरेको थियो। वकिल जेसिका डीनले पाँच वर्ष लामो कानुनी संघर्षपछि कम्पनीको जिम्मेवारी अदालतले स्वीकारेको बताइन्।
मुरले करिब ८० वर्षसम्म जोनसन एन्ड जोनसनको बेबी पाउडर र शावर–टु–शावर नामक पाउडर प्रयोग गरेकी थिइन्। कम्पनीले उक्त शावर–टु–शावर उत्पादन सन् २०१२ मा १५ करोड डलरमा भ्यालेन्ट फार्मालाई बेचेको थियो।
जोनसन एन्ड जोनसनका विश्वव्यापी कानुनी मामिला प्रमुख एरिक हासले यो फैसला “अन्यायपूर्ण र विरोधाभाषी” भएको प्रतिक्रिया दिँदै त्यसविरुद्ध तत्काल अपिल गर्ने बताएका छन्। कम्पनीले बेबी पाउडरमा रहेको एस्बेस्टसका कारण दायर हजारौं मुद्दा सुल्झाउन हालसम्म तीन अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ।
हाल पनि जोनसन एन्ड जोनसनमाथि ७० हजारभन्दा बढी मुद्दा विचाराधीन छन्, जसमा उक्त पाउडरका कारण मेसोथेलियोमा र डिम्बाशयको क्यान्सर भएको आरोप लगाइएको छ। कम्पनीले सन् २०२३ मा विश्वभरबाट बेबी पाउडर बिक्री स्थगित गरेको थियो।
मुद्दाबाट जोगिन कम्पनीले दिबालिया घोषणा गरी अदालतको संरक्षण खोज्ने प्रयास तीनपटक गरिसकेको छ, तर सबै प्रयास असफल भएका छन्। (स्रोत: एनडीटीभी)