काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा सङ्गीता सिंह भण्डारी, तत्कालीन कामु रजिस्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीलगायतको मिलेमतोमा प्रतिष्ठानका लागि ‘एमआरआई’ मेसिन कम गुणस्तरको खरिद गरी आर्थिक अनियमितता गरेको पाईएपछि मुद्दा दायर गरिएको हो । आयोगले बिहीबार भण्डारीविरुद्ध १२ करोड सात लाख ६० हजार ९४५ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तत्कालीन उपकुलपति भण्डारीसमेतले एमआरआई मेसिन खरिदमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत बदनियतपूर्ण ढङ्गले कम गुणस्तरका उपकरण खरिद गरेको र खरिद आवश्यकताको पहिचान एवम् खरिद गुरुयोजना नबनाई बजेट माग गरी पदाधिकारी र कर्मचारीको मिलेमतोमा खरिद गरी अनियमितता गरेको पाइएको आरोपपत्रमा उल्लेख छ । सोही प्रकरणमा प्रतिष्ठानका तत्कालीन कामु रजिस्ट्रार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नीतिन कुर्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।