काठमाडौं । आईसीटी अवार्ड २०२५ का लागि केही विधामा नोमिनेसन खुला रहेको र केही विधामा बहुपर्यायी छनोट प्रक्रिया जारी छ । क्याटेगोरी ‘ए’ अन्तर्गत दोस्रो चरणको मूल्यांकनपश्चात् चार विभिन्न विधामा उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ ।
स्टार्टअप र प्रडक्ट आईसीटी अवार्डमा उत्कृष्ट १२–१२ सेमिफाइनलिस्ट चयन गरिएका छन् भने राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन विधामा उत्कृष्ट १३–१३ सेमिफाइनलिस्ट चयन भएका छन् । १४ जना विज्ञ जुरी सदस्यहरूले आवेदनकर्ताहरूका कागजात, वेबसाइट, प्रणाली र एप्लिकेसनहरूको अध्ययन गरी व्यवस्थित डिजिटल भोटिङ प्रणालीमार्फत मूल्यांकन गर्दै सेमिफाइनलिस्टहरूको छनोट गरेका हुन् । अब सेमिफाइनलिस्टहरूले उत्कृष्ट पाँच फाइनलिस्ट छनोटका लागि विभिन्न प्रि–इभेन्ट, ग्रान्ड जुरी प्रस्तुति र स्पिड डेटिङ चरणहरू पार गर्नुपर्नेछ ।
पहिलो चरणमा प्राप्त आवेदनहरू सर्टलिस्ट गरी १५ दिनभित्र विज्ञ जुरीले ग्रान्ड जुरीको लागि सेमिफाइनलिस्टहरू सार्वजनिक गरेका हुन् । यी चार विधामा तीन सय बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो । यी विधाहरूबाहेक क्याटेगोरी ‘सी’अन्तर्गतका संस्थागत अवार्डहरूको छनोट प्रक्रिया जारी छ भने क्याटेगोरी ‘बी’अन्तर्गतका व्यक्तिगत अवार्डहरूको नोमिनेसन अझै खुला रहेको छ । यसैगरी, दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप र प्रोभिन्स स्टार्टअप रिकग्निसनको नोमिनेसन पनि अन्तिम चरणमा पुगेको छ ।