काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलगायतका स्थानमा र्‍याली, धर्ना र प्रदर्शन गर्न रोक लगाएपछि शनिबार अपराह्न राजावादीहरूले सामाखुसीमा प्रदर्शन गरेका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शान्ति–सुरक्षामा देखिएको तनावका कारण प्रशासनले कुनै पनि र्‍याली, जुलुस वा धर्नाका कार्यक्रम गर्न अनुमति नदिने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा हालको अवस्थालाई ध्यानमा राखी सार्वजनिक सुरक्षामा जोखिम बढ्न सक्ने भन्दै यस्तो निर्णय गरिएको उल्लेख छ। शनिबार विभिन्न समूहले मोटरसाइकल र्‍याली तथा सभा गर्ने तयारी गरेपछि प्रहरीले सवारी साधनमा निगरानी बढाएको थियो। त्यसबीच राजावादी समूह सामाखुसी चोकमा भेला भई नारायणहिटी जाने तयारीमा थिए, तर प्रशासनको रोकपछि उनीहरूले सामाखुसीमै प्रदर्शन सीमित गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले “राजा आउ, देश बचाऊ” लगायतका नाराबाजी गरेका थिए। यसअघि काठमाडौं प्रशासनले कुनै पनि र्‍याली वा जुलुस गर्न अनुमति नदिने सूचना जारी गर्दै पूर्वस्वीकृति बिना कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको थियो। प्रशासनले जेनजी आन्दोलनपछि देखिएका तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा भएको क्षतिलाई स्मरण गर्दै शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।