सबैभन्दा पहिले त ‘जेन–जी’ पुस्ता भन्नाले ‘नवजागरण’ पुस्ता बुझौँ । विसं १९९७ साल माघ महिनाका चार सहिद र विसं २०८२ साल भदौ महिनाका ७६ सहिदलाई मैले एउटै प्रकृतिको नवजागरण परिणाम संज्ञा दिएको छु । किनभने ०९७ सालका चार सहिदको नवजागरण कुनै माक्र्सवाद, गान्धीवाद, लेनिनवाद, माओवादको छाया (प्रभाव) थिएन भने ०८२ सालको ७६ सहिदको नवजागरणमा पनि कुनै वैदेशिक (पराया) विचारधारा र वादको छाया छैन ।
एक सय चार वर्षको जहाँनीया निरङ्कुश राणासत्ताको शोषण, दमन, अत्याचारको विरुद्ध देशभित्रै नेपालआमाकै कोखबाट जन्मेको उठेको नवजागरणको प्रतिफल ती चार सहिद थिए । त्यसैगरि खासगरि विसं २०५१ सालको मध्यावधियता विगत ३१ वर्षको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, वैचारिक स्वतन्त्रता नामको मनपरितन्त्र, लुटतन्त्र, राष्ट्रघात, जनघात, देश बेच्ने (महाकाली सन्धि) मानव तस्करी (भुटानी शरणार्थीदेखि भिजिट भिसासम्म) र मुलुकका ११ हजार गिरोह गुण्डा नाइके (गगन थापा, महेश बस्नेत, दिपक खड्का आदि इत्यादि)हरूले राज्यसत्तालाई पूर्णरूपमा क्याप्चर गरेर (एक वैदेशिक रिसर्च रिपोर्ट) ८० लाखभन्दा बढी बलिया पाखुरी जनसंख्यालाई खाडी मुलुकमा रगत पसिना बगाउन बलात धकेलेर ७५ लाख जनताका सहकारीमा बचत रकम ठगेर लुटेर लघुवित्त मिटरब्याजका नाममा लाखौँ जनतालाई घरवारविहीन तुल्याएका खप्नु धान्नुको सीमा नाघेर उठेको नवजागरणको प्रतिफल अहिले (२०८२ साल)का ७६ सहिद हुन् । यो विशुद्ध नेपाल भूमिभित्रैबाट नेपालआमाकै कोखबाट जन्मेको हुर्केको नवजागरण क्रान्ति हो । जनआन्दोलन हो ।
केही डलर किसान भारु खेतीका प्राडाहरूले इतिहासको तथ्यपरक पाठ्यक्रमबाट वञ्चित पारिएका (विसं २०२८ सालको नयाँ शिक्षा नीति लागू भएयता) राजनीतिक चेतना शून्य (राजनीतिक चेतनाको पहिलो पाठशाला कखग इतिहास हो) जेन–जी पुस्ताका नवजागरण नायकहरूलाई ०४६को आन्दोलन पहिलो, ०६३को आन्दोलन दोस्रो र ०८२को आन्दोलन तेस्रो भन्ने पाठ घोकाउन थालेका पनि भेटिँदै छ । तर यस्तो पाठ्यक्रम भाष्य सरासर शत प्रतिशत गलत र नेपालआमाकै गर्भबाट जन्मेको हुर्केको जेन–जी पुस्ताको नवजागरण शक्तिलाई वर्गलाउने, भ्रमित तुल्याउने र उपलब्धिलाई स्खलित पार्ने खोटो सोच, समझ र नियत मात्र हो । यसमा मेरो संक्षिप्त कतिमात्र टिप्पणी छ भने भुङ्ग्रोलाई भुसले छोपेर त्यो छोपिनेवाला छैन ।
जतिय, क्षेत्रीय, धार्मिक द्वन्द्व (रडाको) मच्चाएर नेपालको अस्तित्व संकटमा पुर्याउने (भुटान हुँदै सिक्किम) षड्यन्त्र तहत लादिएको ०७२ को संविधान जोगाउनुपर्छ भन्दै जेन–जी पुस्ताको नवजागरण आन्दोलनलाई वर्गलाउने भ्रमित तुल्याउने जति पनि डलर किसान भारु खेतिका प्राडाहरू र तिनका पृष्ठपोषक सत्ताधारी छन् तिनीहरूको हालत छिट्टै नै यथा समय देउवा, ओली, प्रचण्ड आदि इत्यादिको हालत हुने पक्का छ । र त्यस्ता प्राडाहरूको डलर–भारु खेतीलाई मलजल पुर्याउने सामाजिक सञ्जालका पत्रकार भाइहरूलाई बेलैमा सचेत भएर नवर्गलिन र राष्ट्रघात जनघातको अपराधबाट जोगिन सल्लाह दिन्छु । भाइहरू किन भनेको भने म पनि मेरो लेख छाप्दा पत्रिका खारेज भएर सम्पादक जेल पुगेर लेखकीय प्रतिबन्ध झेल्दै २५ वर्ष पत्रकारिता गरेर वरिष्ठ कहलिएको, फाँसी या जन्मकैदको राजकाज मुद्दामा सात वर्ष जेल झेलेर अथक राजनीति योद्धा कहलिएको र नेपाली जनआन्दोलन विषयक दर्जनबढी पुस्तक प्रकाशित भएर लेखनमा निरन्तर रहेको छु । विगत १० वर्षदेखि एक पटक होइन, दुई पटक होइन सयौँ पटक लेख्दै र बोल्दै आएको थिएँ कि ‘जनआक्रोश र विद्रोह सुकेको दाउराको थुप्रोमा मट्टीतेल खनाइएको जस्तो अवस्थामा पुगेको छ र कतैबाट एउटा सलाइको काँटी सल्किँदा तिमीहरू (देउवा, ओली, प्रचण्ड) पाँचतारे शैलीका महलका छतमा उत्तानो परेर आकाशतिर हातखुट्टा उफार्दै मोजमस्ती गरिरहेका छौ, छतबाट मुलगेटसम्म आइपुगेर भाग्ने समय पनि पाउनेवाला छैनौ, खरानी हुनेछौ । ’
प्राडाहरूको प्रशङ्ग आइहाल्दा जेन–जी (नवजागरण) पुस्तालाई जानकारी मुलक अलिकति तितो/तथ्य, रोचक/घोचक पनि पाठ्यक्रम अभिलेख गर्न चाहन्छु । आफू पिएचडी (पर्मानेन्ट हेड ड्यामेज) नभएका कारण हाल मुलुकमा भिसी, राजदूत या सुशीला क्याविनेटका दाबेदार दुई सय/चार सय कति प्राडाहरू छन् तिनको यथार्थ तथ्यांक त मसँग छैन । तर प्राडा लोकराज बरालदेखि डा. सुरेन्द्र केसीसम्म लेखनदेखि भाषणसम्म मिडियामा (सामाजिक सञ्जाल) आइरहने जति पनि प्राडाहरू छन् तिनीहरूको न्वारानदेखिको नाडी राम्रैसँग छामेको दाबी गर्न सक्छु । यहाँ प्रतीक उदाहरणका रूपमा दुईथरी सोच, समझ, नियतलाई प्रतिनिधित्व गर्ने दुई जना प्राडाको नाम पाठ्यक्रममा अभिलेख गर्छु ।
एक प्राडा हुन् युवराज संग्रौला र अर्का प्राडा हुन उद्वव सिग्देल । दुवै प्राडा आफ्नो क्षेत्रको विज्ञातामा एक नम्बरकै दाबेदार छन् । जेन–जी पुस्ताको एउटा निर्णायक जनआन्दोलनपछिको राजनीतिक विश्लेषणमा युवराज संग्रौलाको दाबी छ– ‘०७२को संविधान नजोगिए नेपाल राष्ट्र नजोगिन सक्छ ।’ उद्वव सिग्देलको दावी छ– ‘०७२को संविधान जोगाए नेपाल राष्ट्र गम्भीर खतरामा पर्न सक्छ ।’ यी दुवै प्राडाहरूका सोच, समझ, नियत ठीक एक अर्काका विपरीत छन् । यसमा यी दुवै प्राडालगायत सबै प्राडाहरूलाई मेरो संक्षिप्त कथन (अध्ययन) छ– ‘चीन फ्याक्टरले मात्र अहिलेसम्म नेपाल जोगिइरहेको हो ।’
प्राडा युवराज संग्रैलाको सोच, समझ, नियतमा ०७२को संविधान कुन उद्देश्यबाट लादिएको थियो भन्ने सन्दर्भ माथि नै प्रस्ट आइसकेको हुनाले थप पाठ्यक्रम आवश्यक परेन । प्राडा उद्वव सिग्देलको ०७२को संविधान जोगाउने प्रयास गर्दा राष्ट्र थप खतरामा पुग्ने र जेन–जी पुस्ताको नवजागरणबाट उठेको जनआन्दोलनको उपलब्धि खेर जाने सम्भावनाको विश्लेषण शत प्रतिशत सत्य नै सत्य (यी पंक्ति लेखिरहेका बखत नै सरकार दूतावासको सत्ता नेतृत्वविहीन) रहेको हुँदा अलिकति पाठ्यक्रम अभिलेख गर्न चाहन्छु । सिग्देलले गत भाद्र २३/२४ गते ७६ जना भाइबहिनी, छोरानाती सहिद भएर उठेको ‘नवजागरण क्रान्ति’लाई ‘कलर लेमुलुसन’ या ‘गड रेमुलुसन’को संज्ञा दिएकामा अलिकति तितो/तथ्य, अलिकति रोचक÷घोचक सन्दर्भ जोड्न अग्रसर भएको छु ।
तितो/तथ्य के हो भने अनशनकारी गोर्खा (प्रचण्डको चुनाव क्षेत्र)का नन्दप्रसाद अधिकारीको लास विगत १३ वर्षदेखि अस्पतालमा कुहेर सडिरहेको छ । आफ्ना नागरिकको लास १३ वर्षसम्म सत्गत दाहसंस्कार गर्न नसक्ने राज्यसत्तालाई कुनै पनि हालतमा र कुनै पनि सर्तमा जनताको राज्यसत्ता व्याख्या गर्न मिल्दैन, सकिन्न । यो भयो धेरै नै धेरै दुर्भाग्यपूर्ण तितो÷तथ्य । आजका मितिका चीन, भारत, रुस, अमेरिका, युरोपियान युनियन या भनौँ दुनियाँका कुनै पनि राज्यसत्ताले आफ्ना नागरिकको एउटा लासलाई १३ वर्षसम्म सत्गत गर्न नसक्ने राज्यसत्तालाई मान्यता दिन मूल्य दिन सक्दैन । मिल्दैन । यसरी आज हाम्रो देश नेपालको राज्यसत्ता कुनै पनि परिभाषाले नेपालीको हितको छैन । ठान्न मिल्दैन ।
प्राडा सिग्देलको ‘गड रेमूलुसन’को सन्दर्भमा मैले अघि सार्न खोजेको रोचक÷घोचक प्रसङ्गचाहिँ के हो भने अनुमान गरौँ परिवारको कुनै सदस्यको मृत्यु हुँदा त्यो लासलाई १३ वर्षसम्म घर आँगनमै कुरेर राख्नुपर्ने सजाय भयो भने कत्रो ठूलो दिग्दारी र कष्ट व्येहोर्नुपर्ने हुन्छ ? त्यो दिग्दारी र कष्टको असैह्य वेदनालाई सायदै कुनै शब्दकोषबाट भाष्य निर्माण हुन सक्ला । नन्दप्रसाद अधिकारी भनेका नेपाल आमाका एक सन्तान हुन् । आफ्नो सन्तानको लास १३ वर्षसम्म सत्गत हुन नपाएर काखमै कुहाउनु पर्दा नेपाल आमालाई असैह्य पीडा दिग्दारी हुनु स्वाभाविक हो । नेपालआमाको यस पीडाबाट असैह्य कष्ट महसुस भएर दोलखाका भीमसेन देवता (शिला)मा पटक–पटक पसिना (आँशु) आउने गरेको समाचार सामाजिक सञ्जालमा भाइरल हुँदै आइरहेकै हो । भर्खरै पनि समाचार आइरहेकै छ । दोलखाका भीमसेनको आँशुबाट द्रवित भएर महादेव पशुपतिनाथले नन्दप्रसाद अधिकारीको लासमाथि टेकेर ताण्डव नृत्य प्रारम्भ गर्नुभएको छ ।
भुटानीशरणार्थीदेखि भिजिटभिषासम्मको मानव तस्करी र लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्साभित्र पुगेर देश (आमा) बेचेको लगायत यस कालखण्डमा सयकडौँ कांग्रेस, एमाले, माओवादीका भ्रष्टाचार, तस्करी, कालोबजार, राष्ट्रिय सम्पत्तिमा लुट मच्चाएर जनता रुवाएका, सहकारी बचत ७५ लाख गरिब निमुखा जनताका रकम ठगेका, लुटेका दुर्गा प्रसाईँ, टंक दाहाल आदि इत्यादिबाट भण्डाफोर भएका जति पनि काण्डहरू जेन–जी पुस्तालगायत आम जनता जनार्दनसमक्ष सतहमा छताछुल्ल भए ती सबै पशुपतिनाथको ताण्डव नृत्यबाट छुटेका अस्त्र, बाण, तिरहरू हुन् ।
प्राडा सिग्देलले भाष्य गर्न खोज्नुभएको यस ‘गड रेमुलुसन’मा जेन–जी पुस्ताको भाद्र २३/२४ गतेको नवजागरण आन्दोलनलाई पशुपतिनाथको तेस्रो नेत्र खुलेको (पाप धुरीबाट कराएको) ठान्न सकिएला । तर मेरो दृष्टिमा चाहिँ अझै तेस्रो नेत्र खुलिसकेको छैन । तेस्रो नेत्र खुलिसकेपछि त सबै राष्ट्रघाती, जनघाती राक्षसगण खरानी भइहाल्छन् । भाद्र २३/२४ गतेको प्रहार पनि ताण्डव नृत्यबाट छुटेको पहिले पहिलेका भन्दा अलि बढी शक्तिशाली अस्त्र वाण मात्र हो । तेस्रो नेत्र खुल्न त अझै बाँकी छ र जुन दिन तेस्रो नेत्र खुल्छ त्यसदिन नेपालआमा र दोलखाका भीमसेनलाई रुवाउने ७२को संविधान खरानी हुने पक्का छ ।
अन्त्यमा यस्ता साप्ताहिक स्तम्भका ठाउँमा भन्न चाहेका धेरै तथ्य अटाउन सकिन्न । एउटा अकाट्य तथ्य अभिलेख गरेर यस आलेखमा बिट मार्छु । त्यो के भने दलीय राजनीतिक प्रणालीबारे दुनियाँभरिका विश्वविद्यालयमा पढाइने राजनीतिशास्त्रको सर्वमान्य स्थापित पाठ्यक्रम के हो भने ‘प्राण गएको मानिस र विचार हराएको पार्टी (दल) एउटै हो– लास । लासको प्रकृति समयमै अन्त्येष्टि भएन भने त्यो कुहुन्छ, गनाउँछ र रोग फैलाउन थाल्दछ ।’ नेपालका मुख्य तीन दल कांग्रेस, एमाले, माओवादी विचार हराएर, कुहेर, गनाएर रोग फैलाउने चरणमा पुगेका यतिखेर कोरोनाभन्दा पनि खतरनाक क्यान्सर भएका छन् । यो क्यान्सरबाट देश, जनता र प्रणालीलाई स्वस्थ्य राख्न भदौ २३/२४को ‘केमोथेरापी’बाट मात्र सम्भव छैन । छिट्टै नै एउटा ‘मेजर अप्रेसन’ अपरिहार्य भएको छ ।
मदन भण्डारीको हत्यापछि एमाले विचारविहिन भयो । जुन दिन कांग्रेसतर्फको प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सरकारले ‘प्रचण्ड र बाबुरामको टाउको झोलामा लिएर आउ र त्यही झोलामा पैसा (५० लाख) लिएर जाऊ’ भन्यो त्यही दिनबाट कांग्रेस विचारविहीन भयो । जुन दिन १७ हजारभन्दा बढी नेपालआमाका सपूतहरूको आहुती र बलिदानपछि जंगल त्यागेर सहर (राजधानी) आइपुगेको माओवादी राजा ज्ञानेन्द्रद्वारा पुनर्स्थापित संसद्मा गिरिजाप्रसाद कोइरालाको हातबाट टीका (आशीर्वाद) थापेर सांसद भए (७३ जना) त्यही दिनबाट माओवादी विचारविहीन भयो । नवजागरण नायक बनेका र भोलि बन्ने ‘जेन–जी’ र ‘जेन–अल्फा’ पुस्ताले यस तथ्यलाई साङ्गोपाङ्गो अध्ययन गरेर भविष्यको उज्यालो बाटो हिँड्नेछन् भन्ने विश्वास लिएको छु । अस्तु ।