काठमाडौं । गत भदौ २४ गते नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कानुनविपरीत तामझामका साथ निस्केपछि चलेको जेलमा आन्दोलन र भाग अभियानमा संलग्न पाँच हजार पाँच सय ४७ जना कैदीबन्दीहरु अझै कहाँ छन् पत्तो लागेको छैन ।
भदौ २३ र २४ गतेको आन्दोलनको कारण सरकार परिवर्तन भएको छ । तर, परिवर्तित सरकारले ती कैदीबन्दीलाई पक्राउ गर्न जुन प्रयास गर्नुपर्ने थियो त्यो नगरी औपचारिकतामा मात्र खोजी अभियानलाई सीमित गरेको छ । देशका विभिन्न कारागार तोडेर भागेका कैदीबन्दीमध्ये नौ हजार आठ जना फर्किए पनि पाँच हजार पाँच सय ४७ जना भने अझै बेपत्ता नै छन् । ती फर्किएका पनि केही स्वच्छाले फर्किएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरेको हो ।
बेपत्ता भएका कैदीबन्दीहरुमा नेपालीको साथै भारत, चीन, बंगलादेश, अमेरिका, बेलायत, म्यानमार, उब्जेकस्थान, ब्राजिल, बोलिबिया, भेनेजुएला, युगान्डा, युक्रेन, जिम्बाबिया, पाकिस्तान, थाइल्यान्ड, साउथ अफ्रिका, अफ्रिका क्यारमिन, क्यानडा, रुस, हङकङ, इजिप्टलगायतका देशका छन् । भारतीयबाहेकका देशका नै एक सय आठ जना कैदीबन्दीहरु बेपत्ताको सूचीमा छन् ।
सरकारले बेपत्ता कैदीबन्दीहरुको सूची सार्वजनिक गरे पनि उनीहरुलाई पक्राउ गर्न खासै तदारुकता नदेखाएको भन्दै समाजमा त्रास उत्पन्न भएको छ । नेपालमा कैदीबन्दी बाहिरिएको कारण केही देशहरुले भिजिट भिसाको लागि नेपाललाई कडाइ गरेका छन् । फरारको सूचीमा भारतीय कैदीबन्दीहरु पाँच सय ४० जना छन् । उनीहरु अधिकांश भारत पसिसकेको अनुमान छ । त्यसरी फरार भारतीय कैदीबन्दीहरु फेरि नेपाल प्रवेश गरेर अपराध गर्छन् भन्ने अनुमान सुरक्षा निकायको पनि छ । नेपाली फरार कैदीबन्दीहरुलाई नै पक्राउ गर्न नसकेको कारण गृह मन्त्रालयको क्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।