काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले चार सय ५० भन्दा बढी क्यान्सरको शल्यक्रिया गरेको छ । प्रतिष्ठान गत आर्थिक वर्ष २०८१/८२ मा उक्त संख्यामा क्यान्सर पीडितलाई सेवा प्रदान गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
संस्थाले क्यान्सरका दुई प्रमुख उपचार विधि शल्यक्रिया (सर्जरी) र सिस्टेमिक थेरापी (किमो, हर्मोनल, टार्गेटेड) मा गुणस्तरीय सेवा दिँदै आएको छ । यद्यपि, क्यान्सर उपचारको तेस्रो महत्वपूर्ण आधार रेडियोथेरापी अझै अपेक्षितरूपमा विस्तार हुन सकेको छैन । प्रतिष्ठानले सिस्टेमिक थेरापी सेवाअन्तर्गत दुई हजार सात सय २८ जना बहिरङ्ग र नौ सय २२ जना अन्तरङ्ग बिरामीहरूलाई उपचार सेवा दिएको तथ्याङ्क सार्वजनिक गरेको छ । संस्थाले ब्रेस्ट, ग्यास्ट्रोइन्टेस्टाइनल, ओभेरियन, बोन ट्युमर, प्रोस्टेटलगायतका क्यान्सरका बिरामीलाई शल्यक्रिया तथा औषधि उपचार सेवा दिएको जनाएको छ । ब्रेस्ट तथा इन्डोक्राइन क्यान्सरका ८० बिरामी, ग्यास्ट्रोइन्टेस्टाइनलका ५४, हेपाटोबिलियरी र पेन्क्रियाटिकका ३५ र ओरल क्याभिटी क्यान्सरका ३७ बिरामीको शल्यक्रिया गरिएको छ । प्रतिष्ठानका अनुसार सर्जरी र किमोथेरापी सेवामा नियमित प्रगति भए पनि रेडियोथेरापी सेवा अझै सुदृढ गर्न बाँकी रहेको छ । प्रवक्ता डा. अन्जु प्रधानका अनुसार रेडियोथेरापी सेवाको विस्तारका लागि सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । प्रतिष्ठानले स्क्रिनिङ ओपीडी, ब्रेस्ट क्यान्सर सचेतना, एचपीभी डीएनए परीक्षण र कोल्पोस्कोपीजस्ता रोकथाम तथा सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।