वेलिङटन । न्यूजिल्याण्ड सरकारले सन् २०१७ को आधार वर्ष मानेर सन् २०५० सम्म कृषि क्षेत्रबाट निस्कने मिथेन ग्यास उत्सर्जनलाई १४ देखि २४ प्रतिशतसम्म घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।
सिन्ह्वाका अनुसार सन् २०१७को यो नीति मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । सरकारका अनुसार, यो निर्णय कृषक समुदायसँगको व्यापक परामर्शपछि गरिएको हो ।
कृषि, व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले भने, ‘हामीले न्यूजिल्याण्डको कृषि उत्पादक क्षमतालाई ध्यानमा राख्दै, रोजगारी र उत्पादन जोगाउने तथा जलवायु परिवर्तनप्रति प्रतिबद्धता जनाउने व्यावहारिक र न्यायसंगत बाटो रोजेका छौँ ।’ जलवायु परिवर्तन मन्त्री साइमन वाट्सका अनुसार, सन् २०५० सम्म नेट–शून्य उत्सर्जन लक्ष्यप्रति सरकार प्रतिबद्ध छ, जसमा कृषि क्षेत्रको पनि महत्वपूर्ण र न्यायोचित योगदान रहनेछ । सरकारले नीति अन्तर्गत सन् २०४०मा मिथेन कटौती लक्ष्यको कानुनी समीक्षा गर्ने, कृषिजन्य मिथेन उत्सर्जनमा कर नलगाउने र करको सट्टा प्रशोधनकर्ताहरूलाई प्रोत्साहन तथा साझेदारीको माध्यमबाट उत्सर्जन कटौती गर्ने जनाएको छ ।
मिथेन न्यूनीकरण प्रविधिको विकासका लागि सरकारले निजी क्षेत्रसँग मिलेर ४० करोड न्यूजिल्याण्ड डलर (करिब २३० लाख अमेरिकी डलर) लगानी गरिरहेको छ । सन् २०३० सम्म ११ वटा नयाँ प्रविधि ल्याइनेछ भने पहिलो प्रविधि सन् २०२६ देखि नै प्रयोगमा ल्याइनेछ । म्याक्लेले किसानलाई सहजीकरण गर्न ‘अन–फार्म इमिशन क्याल्कुलेटर’ सुरु गरिएको जानकारी पनि दिएका छन् ।