काठमाडौँ । सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढाले अनशन तोडेका छन् । उनी विभिन्न तीनबुँदे माग ब्यानरमा राखेर अनशन बसेका थिए ।
काठमाडौँको माइतीघर मण्डलामा विभिन्न माग राखेर चार दिनदेखि अनशन बस्दै आएका बुढालाई गृहमन्त्री ओमप्रकाश अर्यालले अनशनस्थलमा पुगेर पानी पिलाएर अनशन तोडाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
गृहमन्त्री अर्यालले अनशन तोडाउँदै पीडितको निवेदन आइसकेकाले दोषीलाई कारबाहीको दायरामा ल्याइने बताए । माइतीघर मण्डलामा गत शुक्रबारदेखि आमरण अनसन बसेका मदनको स्वास्थ्य बिग्रिएपछि मंगलबार बीर अस्पताल भर्ना गरिएको थियो ।