काठमाडौं । सरकारले वैदेशिक अनुदानको तुलनामा पाँच गुणा बढी वैदेशिक ऋण परिचालन गरेको छ । अर्थ मन्त्रालयले घाटा बजेट परिपूर्तिको लागि वैदेशिक ऋण बढी परिचालन गरेको बताएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा अनुदान २३ अर्ब ५३ करोड र ऋण एक खर्ब २५ अर्ब ४० करोड गरी कुल एक खर्ब ४८ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन भएको छ । गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत रहेको छ । योसँगै वैदेशिक अनुदानको तुलनामा वैदेशिक ऋण करिब पाँच गुण बढी परिचालन भएको हो ।
घाटा बजेट परिपूर्तिको लागि गत आवमा ८२ मा तीन खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण र एक खर्ब २५ अर्ब ४० करोड रुपैयाँ बाह्य ऋण गरी जम्मा चार खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन भएको छ । गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा यथार्थ खर्च १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१ दशमलव ३३ प्रतिशत भएको छ ।
चालू खर्चतर्फ ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकोमा नौ खर्ब ५६ अर्व ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत र पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएकोमा दुई खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३ दशमलव ५६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन भएकोमा तीन खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको छ ।
मन्त्रालयलाई प्राप्त कार्यजिम्मेवारीलाई सम्पादन गर्ने क्रममा आव २०८१/८२ मा मन्त्रालय वा अन्तर्गतबाट वर्षभरि सञ्चालन गरेका कार्यक्रम सम्पन्न भएका क्रियाकलाप र त्यसको प्रगति तथा उपलब्धिलगायतका विषय समावेश गरी सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम वार्षिक प्रतिवेदन तयार गरी सो कुरा जनाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नेपालको संविधानको धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन तयार गर्न सहयोग समेत पुग्ने गरी प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ ।
गत आवमा कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ, गैरकर राजस्वतर्फ एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ गरी कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिको राजस्व परिचालन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व संकलन भएको छ ।
गत आवमा कुल वस्तु निर्यातमा ८१ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष यस्तो निर्यातमा ३० प्रतिशतले कमी आएको थियो । त्यसैगरी, कुल वस्तु आयातमा १३ दशमलव तीन प्रतिशतले वृद्धि भई १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात एक दशमलव दुई प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव दुई प्रतिशत र ३१ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । गत आवमा कुल वैदेशिक लगानी आप्रवाहमा ४१ दशमलव आठ प्रतिशतले वृद्धि भई १५ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
गत आवमा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर तीन दशमलव ६७ प्रतिशत रहेको थियो । गत आवमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्व सात अर्ब २२ करोड रुपैयाँ पुगेको अनुमान छ । २०८२ असार मसान्तमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ लाख ९९ हजार जना पुगेको छ । २०८१ असारसम्म यस्तो संख्या ६२ लाख २६ हजार जना पुगेको थियो ।
केन्द्रीय विजक अनुगमन प्रणाली (सीबीएमएस) मा वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने र विभागले तोकेका अन्य करदाताले अनिवार्यरुपमा यस प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्थाअनुरुप यस अवधिमा उक्त प्रणालीको क्षमता वृद्धि गरी थप ३४ सय सात करदातालाई यस प्रणालीमा आबद्ध गर्ने लक्ष्य लिइएकोमा ४१ सय ११ करदातालाई प्रणालीमा आबद्ध गरिएको छ ।