मानव जीवनलाई सहज र समृद्ध बनाउन विभिन्न उपायहरूको खोजी निरन्तर चल्दै आएको छ । उद्यमशील व्यक्तिको जीवन उत्साहजनक र समृद्ध बन्दै जान्छ । उद्यमशीलता फ्रेन्च भाषाको इन्टरपे्रन्डरेबाट आएको हो । यसको अर्थ नयाँ कुराको सुरु गर्ने, चुनौती स्वीकार गर्ने र मूल्य सिर्जना गर्ने हो । उत्पादनका साधानहरू पुँजी, श्रम, कच्चापदार्थ, प्रविधि आदिको दक्षतापूर्वक उच्चतम प्रयोग गरेर आय आर्जन गर्नु नै उद्यमशीलता हो । व्यावसायिक तालिम, क्षमता विकास र आवश्यक स्रोतसाधनको उपलब्ध गराउँदै उत्प्रेरणा जगाउने नीति तथा कार्यक्रमलाई उद्यमशीलता विकास भनिन्छ । उद्यमशीलताले आर्थिक वृद्धि, सामाजिक प्रगति र दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्छ । यसले रोजगारी सिर्जना, बजार व्यवस्थापन र उद्योगमा नवप्रवर्तन गर्नुका साथै विविध अवसरहरू सिर्जना गरी जनसमुदायलाई आत्मनिर्भर बनाउन प्रोत्साहित गर्छ । नेपालमा गरिबी निवारण र आर्थिक विकासको लागि स्वरोजगार बन्न र रोजगार सिर्जना गर्न अहम् भूमिका खेल्छ । अर्थात् उद्यमशीलता व्यक्तिगत आत्मनिर्भता मात्र नभएर राष्ट्रको दिगो विकासको आधार पनि हो ।
आजको युगमा उद्यमशीलता प्रगति, समृद्धि र आत्मनिर्भताको आधार बनेको छ । उद्यमशीलता भन्नाले अवसरको पहिचान गरेर जोखिम लिनु, स्रोतहरूको व्यवस्थापन गर्नु र नयाँ व्यवसाय स्थापना तथा विकास गर्नु पनि हो । यसले नयाँ विचार, सीप र स्रोतलाई प्रयोग गरी उत्पादन वा सेवा विकास गर्ने क्षमता र साहसलाई बुझाउँछ । उद्यमीले नाफाको साथसाथै रोजगारी सिर्जना, समाजलाई आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै समग्र विकासमा योगदान पुर्याउँछन् ।
उद्यमशीलताको महत्व
रोजगारीको सिर्जना उद्यमशीलताले नयाँ उद्योग र व्यवसाय स्थापना गरेर बेरोजगार युवाहरूलाई काम दिने अवसर सिर्जना गर्छ । यसले बेरोजगारी समस्या समाधान गर्न ठूलो योगदान पुर्याउँछ । आर्थिक विकासको आधारः कुनै पनि राष्ट्रको आर्थिक प्रगति उत्पादन र उद्योगमाथि निर्भर रहन्छ । उद्यमशीलताले राष्ट्रको उत्पादन, आय, राजश्व कर र जीडीपि बृद्धि हुन्छ ।
नवीनता र आविष्कारमा योगदान
नयाँ विचार उत्पादन र प्रविधिको आविष्कार एवम् विकास र विस्तार हुन्छ । यसबाट गुणस्तरमा सुधार उपलब्धतामा सहजता प्रदान गर्छ ।
आत्मनिर्भरता र आत्मविश्वास उद्यमशील व्यक्तिहरू परनिर्भर नभई आफ्नै स्रोत र सीपको अधिकतम प्रयोग गर्छन् । व्यक्तिलाई स्वावलम्बी र राष्ट्रलाई परनिर्भता घटाउने मद्दत गर्छ । उद्यमशिलताले युवाहरूमा सहाश, नेतृत्व क्षमता र आत्मबल वृद्धि गराउँछ ।
प्रतिस्पर्धा र गुणस्तर
अधिक उद्यमीहरूको प्रवेशले बजारमा स्वस्थ प्रतिस्पर्धा भई गुणस्तरीय वस्तु र सेवा उपलब्धता रहन्छ । उपभोक्ताले सहज सुपथ रुपमा उपभोग गर्न पाउँछन ।
निर्यात वृद्धि र विदेशी मुद्रा आर्जन
उद्यमशीलताबाट उत्पादित वस्तु वा सेवाको निर्यात गरी विदेशी मुद्रा आर्जन र अर्थतन्त्र सबल बनाउन सहयोग गर्छ ।
सामाजिक विकास
शिक्षा, स्वास्थ्य, कृषि पर्यटनजस्ता क्षेत्रमा उद्यमशीलताले अर्थपूर्ण सहयोग गर्छ । यसबाट अधिक मात्रमा व्यक्तिलाई रोजगारको अवसर प्राप्त हुन्छ । जीवनस्तरमा सुधार भई समृद्ध समाजको निर्माण हुन पुग्छ ।
नेपालमा उद्यमशीलताको महत्व
राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको २१.६८ प्रतिशत १५ देखि २४ वर्ष, त्यस्तै ३५.९९ प्रतिशत २४ देखि ५४ वर्ष उमेर समूहको जनसंख्या रहेको छ । अझै पनि १५ देखि ३४ वर्ष उमेर समूहका करिब ६९.१ प्रतिशत आर्थिक रुपमा सक्रिय रोजगारीका अवसरका लागि भौतारिरहेका छन् । नेपालको श्रमशक्तिको ६० प्रतिशत अनौपचारिक र ४० प्रतिशत मात्रै औपचारिक रुपमा उद्यमशील क्षेत्रमा संलग्न रहेको पाइन्छ । अनौपचारिक क्षेत्रमा महिलाहरूको संख्या बढी र औपचारिक शिक्षामा पुरुषको संख्या अधिक रहेको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण अनुसार कुल उद्योग संख्या ६० हजारको हाराहारीमा छ । जसमा माइक्रो स्तरका ९५ प्रतिशत र बाँकी साना, मध्यम र ठुला उद्योगहरू पर्छन । कतिपय सानाखालका उद्योगहरू सूचना पहुँचको सिमितता, जटिल प्रक्रिया तथा फितलो नियमनका कारण दर्ता नभइकन सञ्चाल भएका छन् ।
सोह्रौँ योजना पञ्चवर्षीय (२०८१।८२ —२०८५।८६) योजनामा उद्यमशीलता
सोह्रौं योजनामा आर्थिक वृद्धिका सूचकहरू यसप्रकार छन् । आर्थिक कुल गार्हस्थ्य वृद्धि दर ३.९ बाट ७.३, प्रतिव्यक्ति आय करिब १४०० बाट अधिकतम २४१३ अमेरिकी डलर पुर्याउने, गरिबी दर २०.३ बाट १२ प्रतिशतमा र बेरोजगारी दर ११.५ बाट ५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । साथै प्रति वर्ष १.२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । यी लक्ष्यहरू प्राप्तिका लागि सोह्रौँ योजनामा उद्यमशीलता प्रवद्र्धनका निम्नलिखित कार्यक्रमहरू समावेश गरिएको छ ।
नवप्रवर्तन र स्टार्टअप प्रवर्द्धन योजनाअनुसार युवाहरूका लागि उद्यमशीलता अभियान चलाइने, शैक्षिक संस्था र व्यवसायिक इन्क्युवेटरहरू सँग सहकार्य गरिने लक्ष्य राखेको छ ।
निजी क्षेत्रको लगानी वृद्धि निजी क्षेत्रको योजना लक्ष्य पुरा गर्ने महत्वपूर्ण स्रोत मानिएको छ । यसले उद्यमशीलताको अवसर र रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
सुलभ ऋण सुविधा माइक्रोफाइनान्स तथा अन्य साना उद्यमीहरूलाई ऋण पुनसंरचना र सस्तो ऋणमा पहुँच दिने व्यवस्था गरिने भनिएको छ ।
सीप विकास र रोजगारी सिर्जना रोजगारीमा आधारित शिक्षा, सामाजिक समावेशी, सीप विकास कार्यक्रमहरू बढाउने, युवाहरूको उद्यमशीलता बढाउने क्षेत्रमा काम गर्ने ।
उत्पादन, प्रतिस्पर्धात्मक र क्षेत्रीय विशेषीकरण
कृषिको व्यवसायीकरण, उत्पादनमूलक उद्योगहरूको प्रवर्द्धन, विशेष आर्थि क्षेत्र र औद्योगिक क्षेत्र विकास गर्ने योजना रहेको ।
राष्ट्रिय युवा नीति,२०७२ ले युवा उद्यमशीलता प्रवद्र्धन र व्यवसाय विकास केन्द्र सञ्चालन गरी युवाका समस्या समाधान गर्ने रणनीति अपनाएको छ । यसले कमजोर वर्ग र समुदायका लागि करमा सहुलियतको व्यवस्था गर्ने, वित्तीय स्रोत र साधनमा पहुँच बढाउने, युवा उद्यम सञ्जाल निर्माण गर्ने र युवा अनुभव आदानप्रदान जस्ता कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । राष्ट्रिय रोजगार नीति, २०७१ मा व्यवसाय विकास सेवा तथा सञ्चारमार्फत युवाको वित्तीय सेवामा पहुँच र चेतना अभिवृद्धि गर्न निजी लगानी कोषको प्रावधान समेत राखेको छ ।
वैदेशिक रोजगारी प्रतिको मोह
नेपालमा करिब चार लाख नव श्रम शक्तिहरू वर्सेनी थपिने गरेको छ । स्वदेशी श्रम बजारमा पर्याप्त रोजगारीको अवसर नभएको कारण बाट विदेशिने युवाहरूको लर्को विमानस्थल तथा भारतीय सिमा क्षेत्रमा उलेख्य मात्रामा बढेको जगजाहेर नै छ । ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि विदेशिनु देशको लागि कदापि शुभसंकेत होइन । रोजगारीको लागि नेपाली युवाहरू भौतारिदै कस्तुरीले आफुमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिंएर हिडेजस्तै मृगतृष्णाको रुपमा आफ्नै देशमा उपलव्ध पेसा अंगाल्न हिच्किचाउँदै लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहरबजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुगलान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतीर अभावै अभावबाट छटपटीई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी ‘तावाबाट उम्केको माछा भुंग्रोमा’ परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।
निष्कर्ष, उद्यमशीलता आधुनिक समाज र राष्ट्रको मेरुदण्ड हो । यसले बेरोजगारी कम गर्छ, अर्थतन्त्रलाई मजबूत बनाउँछ, नागरिकलाई स्वावलम्बी र स्वाभिमानी बनाउँछ । व्यक्तिलाई आत्मनिर्भर बनाएर समाज र देशलाई समृद्ध बनाउँछ । समृद्ध नेपाल सुखी नेपालीको लागि उद्यमशीलताको अपरिहायर्ता लाई नकार्न सकिन्न । त्यसकारण सरकार र सरोकार पक्षले उद्यमशीलतालाई प्रोत्साहन गर्न कुनै कसर बाँकी राख्नु हुन्न । देशमै उद्यमशीलताको विकास र विस्तार गरी विदेसिएका युवायुवतीलाई स्वदेशमा फर्काउने वातावरण नबनाउने हो भने हाम्रो पहाडी बस्ती खाली हुने र नेपाल बुढाबुढी र बालबालिकाको आश्रयस्थलमा परिणत हुने निश्चित छ । तसर्थ युवायुवतीलाई समयसापक्षे विषय र क्षेत्रमा उद्यमी बन्न उत्प्रेरित गर्नेतर्फ आवश्यक नीति निर्माण गर्न अग्रसरता देखाउनु दूरदर्शिता ठहर्छ ।