घर भनेको मायाले बन्छ, बास हुँदा मात्र घर हुँदैन । घरमा माया हुनुपर्छ, एक–अर्कामा सहयोगको भावना हुनुपर्छ । कलह हुन हुँदैन । दुःख बिसाउने चौतारी नै घर हो भने समाज पनि अलिक ठूलो क्षेत्र भएको घर हो । समाजमा वैमनस्यता भयो, एकले अर्कालाई होच्याउने समाज भयो, सुविधा एकै जनाले लिनेजस्ता क्रियाकलाप भएको समाज भयो भने त्यस्तो समाजमा बस्नु उचित हुँदैन । समाजले आधार दिनुपर्छ, समाजले इज्जत दिनुपर्छ, समाजले चाहिएको बेला सहयोगी हातको साहस एक–अर्कालाई प्रदान गर्नुपर्छ । तर आज आएर नेपाली समाज मिश्रित भएको छ । समाजमा बुढ्यौली बढेको छ । झन् सहरमा त हरेक जिल्लाका मानिसको संगमस्थल भएकोले र जनसंख्या वृद्धि भएकाले छाडापन पनि धेरै मानिसहरूमा बढेको देखिन्छ । यो नेपालमा मात्र होइन, संसारमै ठूला सहरहरूमा हरेक ठाउँका मानिस बसोबास गर्ने गर्दछन् ।
पहिला–पहिला कुन गाउँमा को बस्छ, कुन समुदायको बाहुल्यता छ, के जातका मानिस बास गर्छन् र पेसा के गर्छन् भन्ने समेत थाहा हुन्थ्यो । विस्तारै सहरीकरणको विकास हुँदै गयो, मानिसहरू पहाडबाट बेँसी झर्दै गए, बेँसीबाट सहर छिर्दै गए । सहर कोलाहलमय हुँदै गयो । न राज्यले सुविधा दिन सक्यो न जनताले रोजगारी पाउन सके । समाजमा भाँडभैलो हुँदै गयो । धेरै परम्परागत संस्कृतिहरू पनि लोप हुँदै गएका छन् । बिहेबारी पनि अहिले धेरैजसो अन्तरजातीय हुँदै गएका छन् । यो हुँदैमा समाज बिग्रिएको त होइन, तर समाजको आफ्नै पहिचान, कतिपय जातअनुसारका कला र संस्कृतिहरू पनि बिस्तारै लोप हुँदै गइरहेका छन् । आधुनिकतासँगै कतिपय कुराहरूको अस्तित्व नै मेटिने अवस्थामा पुगिसकेका छन् । यी सबै कुरा भए पनि आजको समाज भड्किलो हुँदै जानुका साथै निम्नलिखित कुराहरूको कमी पनि समाजमा देखिन थालेको छ । समाज मानव जीवनको आधार हो । समाजबिना मानिसको अस्तित्व अधुरो हुन्छ । समाज भनेको केवल मानिसहरूको समूह होइन यो आपसी समझदारी, सहयोग, माया, आदर र सहअस्तित्वको जगमा बनेको संरचना हो ।
तर, आजको नेपाली समाज पहिलेको तुलनामा निकै परिवर्तन भइसकेको छ । केही कुराहरूमा विकास र निर्माणमा पनि अघि बढ्यो होला, शिक्षित मानिसहरू बढे होलान् तर समाजमा हुनुपर्ने जुन खालको एउटा मजबुत सम्बन्ध थियो त्यो देखिएको छैन । पहिले–पहिले गाउँ त के कुरा, सहरमा समेत टोल–टोलको राम्रो सम्बन्ध थियो । सहरमा पनि लगभग एक–अर्कालाई चिन्दथे ‘१२ गाउँका मान्छे चिन्ने’जस्तो थियो । को कस्तो छ, के गर्छ सबैलाई थाहा हुन्थ्यो । तर सहरमा अव्यवस्थितरूपमा जनसंख्या मात्र बढ्दै जाँदा र सुविधा नहुँदा जीवन अस्तव्यस्त र कोलाहलमय हुँदै गयो । राज्यले आवश्यक सुविधा दिन सकेन र जनताले पनि रोजगार पाउन सकेनन् । फलस्वरूप समाजमा भाँडभैलो फैलिन थाल्यो । संस्कृतिको संरक्षण पनि कमजोर हुँदै गयो भने अर्कोतर्फ बिहेबारीमा पनि अन्तरजातीय सम्बन्ध बढ्दै गयो, जुन आधुनिकताका दृष्टिले राम्रो भए पनि यससँगै समाजको मौलिक पहिचान, परम्परा, कला र संस्कृतिको अस्तित्व क्रमशः हराउँदै गइरहेको छ ।
अहिलेको समाजमा शिक्षित मानिसहरूको संख्या त बढ्यो, केही सकारात्मक परिवर्तन पनि भए, तर यसका साथै धेरै कमजोरीहरू पनि देखिएका छन् –
१. सहयोगको भावना घट्दै गएको छ
आज गाउँघरमा मानिस काममा व्यस्त छन् भने हुनेहरूले पनि त्यति सहयोगको भावना जगाउन छोडेका छन् । सहरमा त झन् आपसी सहयोग अत्यन्त कम भएको छ । पहिलेका गाउँहरूमा एक–अर्काको दुःख–सुखमा सघाउने चलन बलियो थियो । अहिले मानिसहरू व्यक्तिगत जीवनमा व्यस्त छन् र अरूका समस्या हेर्ने समय राख्दैनन् । यसले सामाजिक एकता कमजोर बनाएको छ । तर समाजमा एक–आपसमा सहयोगको भावना हुनुपर्छ ।
२. एउटै घरमा बस्ने मानिसहरू पनि आपसमा बोल्दैनन्
सहरमा भाडामा बस्ने मानिसहरू एउटै कोठाको मान्छे अर्को कोठा वा एउटै फ्ल्याटको मानिससँग बोलचाल गर्दैनन् । यसका साथै परिवारभित्रको सम्बन्ध पनि कमजोर हुँदै गएको छ । सबै मोबाइल वा इन्टरनेटमा व्यस्त छन्, जसले आपसी संवाद र भावनात्मक सम्बन्ध घटाएको छ र एक–आपसमा बसेर कुरा गर्ने चलन हराउँदै गएको छ ।
३. मानिसहरू अत्यधिक स्वार्थी बन्दै गएका छन्
आज सबै मानिस पैसा र पदमा लिप्त हुन थालेका छन् । आजको समाजमा ‘मपाईँ’ बढेको छ र ‘मेरो’ भन्ने सोच हाबी भएको छ । अरूको भलोभन्दा आफ्नो फाइदा प्राथमिक भएको छ । आफ्नो परिवारवाद र नातावाद–कृपावाद मात्र छ, जसले सामूहिक सोचलाई हराएको छ ।
४. पैसा र शक्तिको घमण्ड देखाउने प्रवृत्ति बढेको छ
समाज धेरै मानिसहरूको बसोबास हो । धेरै प्रकारका मानिस यहाँ पाइन्छन् र यही मानिसहरू धन र पदलाई नै सम्मानको मापन ठान्छन् । पैसा भएकाहरूले अरूलाई तल्लो दर्जामा हेर्छन् र अप्रत्यक्ष रूपमा हेप्ने पनि गर्छन् । तर सबैले के हेक्का राख्नुपर्छ भने समाज एक जनाले मात्र बन्दैन, सबैको समान सहभागिताले नै असल समाजको निर्माण हुन्छ ।
५. युवायुवती र बालबालिका इन्टरनेटमा रमाउँदा बाहिरी संसारसँग टाढा भइरहेका छन्
सोसल मिडिया र भर्चुअल जीवनले उनीहरूलाई समाजको वास्तविकता, संस्कार र मानवीय सम्बन्धबाट टाढा बनाइरहेको छ । खेलकुद, आपसी भेटघाट र वास्तविक अनुभव घट्दै गएका छन् ।
६. वृद्ध, असहाय, महिला र बालबालिकाप्रति सम्मान घट्दै गएको छ
समाजमा सबै उमेर समूहका मानिस बस्छन् । पहिलेजस्तै बुढाबुढीलाई सम्मान, महिलालाई सुरक्षा र बालबालिकालाई माया दिने संस्कार अब कम हुँदै गएको छ । यसले नैतिक पतनको संकेत दिन्छ ।
७. आपसी झगडा र द्वन्द्व बढेको छ
बाटोमा हिँड्दा होस् वा कतै जाँदा, हामीले सामान्य विषयमा पनि वादविवाद, ईष्र्या र असहिष्णुता बढेको पाउँछौँ । साना कुरा पनि ठूला विवाद बन्न थालेका छन् ।
८. हुनेले नहुनेलाई तल्लो नजरले हेर्ने र नहुनेले हुनेप्रति ईष्र्या गर्ने प्रवृत्ति मौलाएको छ
समाजमा आर्थिक र सामाजिक खाडल बढेको छ । सम्पन्न र विपन्नबीचको असन्तुलनले आपसी विश्वास घटाएको छ । यसले वैमनस्यता पनि ल्याएको छ ।
९. देखावटीपन र प्रदर्शनको संस्कार बढेको छ
समाजमा विवाह वा धार्मिक कार्य हुँदा, सामाजिक वा व्यक्तिगत काममा पनि वास्तविक भावनाभन्दा प्रदर्शन बढी भएको छ । कुनै पनि चाडपर्व र विवाह, व्रतबन्ध तथा साना–ठूला कार्यक्रमहरूमा पनि महँगो संस्कार र हुनेहरूले गर्ने, महँगो विवाह, महँगा गाडी, फोटो–भिडियो र सोशल मिडिया पोस्टमा केन्द्रित हुँदा गलत धारणा बन्न सक्छ । समाजमा भड्किला परम्परा रोकिनुपर्छ ।
१०. गाउँ–टोलका चौतारा, पाटी–पौवा, खेलमैदान बनाउने चलन हराउँदै गएका छन्
पहिले मानिसहरू चौतारा वा पौवामा भेला भई विचार साटासाट, गीत–गफ, निर्णय गर्थे । अहिले ती सामूहिक स्थानहरू हराउँदै गएका छन्, जसले सामाजिक सम्बन्ध कमजोर पारेको छ ।
११. भजन–कीर्तनजस्ता धार्मिक–सांस्कृतिक कार्यक्रम घट्दै गएका छन्
यी कार्यक्रमहरूले सामाजिक एकता र आध्यात्मिकता जगाउँथे । तर आजको पुस्ता यस्ता गतिविधिप्रति कम आकर्षित भएका छन्, जसले परम्परा कमजोर बनाएको छ ।
१२. मानिस बाह्यरूपमा आस्थावान देखिए पनि अपराध र अनैतिकता बढ्दै गएको छ
धार्मिकरूपमा आफूलाई श्रद्धालु देखाउने तर व्यवहारमा ठगी, झुट, भ्रष्टाचारजस्ता कार्य गर्ने प्रवृत्ति बढेको छ, जसले समाजमा नैतिक द्वन्द्व ल्याएको छ ।
१३. मिलिजुली काम गर्ने भावना कमजोर भएको छ
पहिले गाउँका सबैले मिलेर पुल, बाटो, मन्दिर वा बारी सिँचाइ बनाउँथे । अहिले सबै आफ्नो व्यक्तिगत फाइदामा मात्र केन्द्रित छन् । सामूहिक प्रयास हराउँदै गएको छ ।
१४. भाइचारा र एकता घटेको छ । आजकल एउटै खलकमा पनि जात, धर्म, राजनीति, क्षेत्रीयता आदिले गर्दा समाजमा विभाजन बढेको छ । एक–आपसमा सहकार्यभन्दा वैमनस्यता बढ्दै गएको छ ।
१५. युवाहरू विकास–निर्माणमा सक्रिय छैनन्
युवा शक्ति राष्ट्रको आधार हो । तर अहिले धेरै युवा विदेश गएका छन्, बाँकीहरू पनि बेरोजगारी वा असन्तुष्टिमा छन् । यसले देश र समाज विकासमा रोक लगाएको छ ।
१६. श्रमदानजस्ता सशक्त परम्पराहरू हराउँदै गएका छन्
पहिले गाउँलेहरूले मिलेर बाटो बनाउने, मन्दिर मर्मत गर्ने, बारी सिँचाइ गर्ने गर्थे । अहिले पैसाको भरमा काम हुन्छ, सामूहिक श्रमको संस्कृति हराएको छ ।
१७. राजनीतिक ध्रुवीकरणले आपसी दुश्मनी बढाएको छ
राजनीतिक विचारका कारण मित्रता, छिमेकी सम्बन्ध र पारिवारिक एकता समेत बिग्रिएका छन् । दलगत झुकावले समाजमा विभाजन ल्याएको छ ।
१८. आफ्नो गाउँ–समाज आफैँ बनाउने संकल्प घटेको छ
पहिले मानिसहरू आफ्नै गाउँको विकासका लागि पहल गर्थे, अहिले युवा क्लब बनाउने तथा भेटघाटमा कमी आएको छ ।
१९. आर्थिक असमानता र खाडल अझ गहिरो बन्दै गएको छ
धनी अझ धनी, गरिब अझ गरिब हुने अवस्था छ । यसले समाजमा असन्तोष, ईष्र्या र अपराध बढाउँछ ।
२०. सामूहिक कार्य, उत्सव र चाडपर्व मिलेर मनाउने संस्कार हराउँदै गएको छ
अहिले सहरमा सबै व्यस्त छन् । चाडपर्व पनि औपचारिक मात्र बनेका छन् । जहाँ पहिले ‘तिम्रो दुःख मेरो दुःख’ भन्ने भावना थियो, अहिले ‘म बाँचूँ, अरू जेसुकै होस्’ भन्ने स्वार्थी सोच हुन थालेको छ ।
समाज अब कस्तो हुनुपर्छ र कसरी बनाउनुपर्छ ?
हाम्रो समाज हामीले बनाउने हो, हाम्रो अस्तित्व हामीले जोगाउने हो । आज हाम्रो समाज भौतिक रूपमा त अघि बढ्दैछ, तर मानवीय मूल्य र आत्मीयता भने घट्दै छन् । यदि हामीले सहयोग, सम्मान, आपसी एकता र सामूहिक भावनालाई पुनर्जीवित गर्न सकेनौँ भने, हाम्रो समाज आधुनिक त अवश्य हुनेछ, तर मानवीय आत्माविना खाली खोल मात्र हुनेछ ।
अब हामी जागौँ, नेपालको समाजलाई आधुनिक, सशक्त र समावेशी बनाउन । अब हामीले हाम्रो सोच र व्यवहार परिवर्तन गर्न अघि बढ्ने दिन आएको छ । यदि प्रत्येक व्यक्तिले आफ्नो समुदायप्रति उत्तरदायित्व बोध गर्दैन भने त्यो सामाजिक प्राणी हुनै सक्दैन । हाम्रो समाज फेरि एक पटक आपसी सद्भाव, सुरक्षित, माया र प्रेमले भरिएको समाज बनाउन हामी सबै मिल्न जरुरी छ । समाजले आफ्नो मौलिकता कायम राख्नुपर्छ, सद्भावको भावना हुनुपर्छ, सहयोगको भावना सधैँ हुनुपर्छ, कहिल्यै आफ्नो पहिचान र अस्तित्व गुमाउन हुँदैन ।
साँचो समाज त्यही हो जहाँ मानिसहरूबीच समानता र न्याय होस्, सबै नागरिकहरू सुरक्षित हुन्, कसैलाई कसैको डर नहोस् । सबै धर्म, जात, लिङ्ग र समुदायलाई सम्मान गरियोस्, कसैलाई भेदभाव नहोस् । सबैलाई राम्रो व्यवहार गरियोस्, वृद्ध, असहाय र बालबालिकालाई माया र संरक्षण दिइयोस्, शिक्षाको खोलो ओढी कसैलाई नडुबाइयोस् । युवाहरूलाई समाजले नै रोजगारी प्रदान गरोस्, सामाजिक रूपान्तरण विकासबाटो होस्, श्रम, सोच र नवप्रवर्तनका माध्यमबाट देश विकासमा टेवा पुगोस्, आफ्नो ठाउँलाई सुरक्षित राख्न सकून् र साझा भावना र भाइचाराको सम्बन्ध बलियो होस् । रोजगारी आफ्नै समाजले दिन सकोस् । स्वस्थ खानेपानी, शिक्षा र महिलाको रोजगारी पनि समाजमै होस् । हरियाली पार्क, खेलमैदान र सीपको विकास गर्ने ठाउँ समाजमै होस् ।
अब बेला आएको छ, सहयोग र सद्भाव पुनः जगाउने, परिवार र छिमेकीसँग आत्मीयता बढाउने, वृद्ध, असहाय र बालबालिकालाई माया र सम्मान दिने, सामाजिक–सांस्कृतिक परम्पराको संरक्षण गर्ने, युवाहरूलाई राष्ट्र–निर्माणमा सहभागी गराउने, र जात, धर्म, राजनीतिभन्दा माथि उठेर एक नेपालीको रूपमा सोच्ने । त्यो समाज नै असल र राम्रो समाज हो ।
तर यही समाजका कतिपय मौलिकतामा बज्रपात हुँदा समाजका मानिस रमिता बन्नु, समाजकै भ्रममा पर्नु हो भने— मुखमा राम–राम, बगलमा छुरा भनेझैँ, झन्डा ओढी मौलिकता जलाउनु बहादुरी होइन, यो कायरता हो र अपराध हो । तर जलेकोलाई निभाउने, ढलेकोलाई उठाउने, बिग्रेकालाई बनाउने नै सामाजिक उत्तरदायित्व हो । सहयोग र सहअस्तित्वको भावना पुनः स्थापना गर्ने नारा मात्र होइन, व्यवहारमा उतार्ने बेला आएको छ र सांस्कृतिक पहिचान जोगाउने बेला आएको छ । आधुनिकतासँगै र प्रविधिसँगै हातेमालो गरी हाम्रो मौलिक संस्कार पनि सँगसँगै अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।