इस्लामाबाद । बेलायतले उड्डयन सुरक्षाको चिन्ताका कारण लगाइएको पाँच वर्षको निलम्बन अन्त्य गरेपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले शनिबार बेलायतका लागि सीधा उडान पुनः सुरु गरेको छ ।
पाकिस्तानी ध्वजावाहक विमान एयरबस ए ३२० कराँचीको नजिकै दुर्घटना भई करिब एक सय जनाको मृत्यु भएको एक महिनापछि ऋणमा डुबेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) लाई सन् २०२० को जुनमा बेलायत, युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिका उडानमा रोक लगाइएको थियो ।
उक्त घातक दुर्घटनामा मानवीय त्रुटि भएको आरोप लगाइएको थियो । बेलायतले जुलाईमा हवाई सुरक्षा मापदण्डहरू सन्तोषजनक र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको निष्कर्ष निकाल्दै पाकिस्तानी ध्वजावाहकहरूमाथिको प्रतिबन्ध हटाएको थियो । इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पीआईएको विश्वसनीयता पुनः स्थापनाका लागि एक प्रमुख कोशेढुङ्गा भएको बताए ।
‘पाँच वर्षको लामो र कठिन ढिलाइपछि आज इस्लामावादबाट म्यानचेस्टरसम्मको उडान पुनः सुरु हुनु भनेको हामीले हाम्रो कडा परिश्रम र दृढताबाट हासिल गरेको उपलब्धि हो,’ आसिफले भने । बेलायतले प्रतिबन्ध लगाएपछिका वर्षहरूमा पाकिस्तानी अधिकारीहरूले पाइलटको प्रशिक्षण, इजाजतपत्र, विमान मर्मत र सुरक्षा प्रोटोकलमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न परिवर्तन गरेको उनले बताए ।
इस्लामावाद र म्यान्चेस्टरको बीचमा हप्तामा दुई उडान भर्नेबाहेक पीआईएले लन्डन र बर्मिंङ्घमको लागि पनि उडानहरू सञ्चालन गर्ने योजना बनाएको छ । युरोपेली सङ्घ उड्डययन सुरक्षा निकायले सन् २०२४ नोभेम्बरमा पीआईएमाथि लगाइएको प्रतिबन्ध हटाउपछि जनवरीमा पेरिसका लागि उडानहरू पुनः सुरु गर्न एयरलाइन्सलाई अनुमति दिइएको थियो ।
करिब सात हजार व्यक्तिलाई रोजगारी दिइरहेको पाकिस्तानी ध्वजाबाहक पीआईएले लामो समयदेखि ऋण, कुव्यवस्थापन र नियामक मुद्दाहरूविरूद्ध सङ्घर्ष गर्दै आएको छ । सरकारले एयरलाइन्सलाई निजीकरण गर्ने वाचा गरेको छ, यद्यपि गत वर्ष एक खरिदकर्ता कम्पनीले प्रस्तावित मूल्यभन्दा धेरै कम प्रस्ताव गरेपछि सम्झौता हुन सकेको थिएन ।
सन् १९५५ मा स्थापना भएको पीआईए कुनै समय पाकिस्तानको राष्ट्रिय गौरव र द्रूत विकासको प्रतीक थियो तर दशकौँदेखिको वित्तीय घाटा र सुरक्षा कमजोरीका कारण यसको प्रतिष्ठा खस्किँदै गएको छ । रासस/एएफपी