काठमाडौं । एउटा अज्ञात व्यक्तिको फोनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने अन्तिम तयारीमा रहेका सम्पदा अभियान्ता भनिने गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा काटिएको थाहा भएको छ । शनिबार बेलुका प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँगै राखेर आइतबार पर्यटनमन्त्रीको सपथ ग्रहणका लागि परम्परागत नेवारी पोशाकमा आउन निर्देशन दिएकी थिइन् ।
उक्त निर्देशनपछि उनले असन आएर आफ्नो पोशाकको जोहो गरेका थिए । आइतबार सपथ ग्रहणमा जाने तयारी भइरहेको बेला उनलाई पर्यटन मन्त्रालयबाट हटाएर भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको समाचार सार्वजनिक भएको थियो । त्यसलगत्तै उनी प्रधानमन्त्रीको सम्पर्कमा पुगेका थिए ।
प्रधानमन्त्री कार्कीले आफूले मन्त्रालय परिवर्तन गराउन नखोजेको तर गणपतिलाललाई पर्यटन मन्त्रालय नदिएर भूमि व्यवस्था मन्त्रालय दिन भनी आफूलाई फोन आएको कुरा बुझिएको छ । तर त्यो अज्ञात फोन कोबाट आएको हो र त्यो फोन मान्नै पर्ने बाध्यता प्रधानमन्त्री कार्कीलाई किन परेको हो ? भन्ने कुरा उनले खुलाएकी छैनन् ।
गणपतिलाललाई पर्यटनमन्त्री बनाउने सहमति अर्याललाई गृहमन्त्री बनाउने सहमति भएकै बेला एकैचोटि भएको थियो । अर्याल गृहमन्त्री भएको एक महिना बितिसक्दा पनि गणपतिलाललाई मन्त्री हुन किन रोकिएको हो ? र उनलाई मन्त्री नबनाउन कसले भूमिका खेलिरहेको छ ? भन्ने कुरामा जेन–जीको नेतृत्वकर्ता सुदन गुरुङ आफैँ अनभिज्ञ हुँदै गएको बताइएको छ ।
मन्त्रीमा प्रस्तावित गणपतिलाल काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको मुखबोली दाइ हुन् । सुनिताले उनलाई वर्षेनि किजा पूजा गर्दै आएकी छन् । सुनितासँगको यहि नातासम्बन्धका कारण सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सेनालाई प्रस्ताव गर्ने प्रथम पात्रका रुपमा चिनिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पर्यटनमन्त्री हुनबाट उनको नाम कटाएको हुन सक्ने आशंका गरिएको छ ।