हुन त नेपालमा जति पर्यटनमा विविधीकरण अन्य देशमा बिरलै मात्रै सम्भव होला । किनभने नेपालमा पर्वतारोहणका लागि विश्वकै सबैभन्दा अग्लो हिमाल (८८४८.८६ मिटर) सगरमाथा– चोमोलुङमा– एभरेस्टदेखि लिएर ५५०० मिटरभन्दा माथिका चार सय ७१ वटा हिमाल नेपाल सरकारले पटक पटक गरेर स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि आरोहण गर्नलाई खुला गरेको छ । त्यस्तै गरेर पदयात्रा (ट्रेकिङ)का लागि सयौँ पदयात्रा मार्ग खुलेका छन् भने जलयात्रा (र्याफ्टिङ)का लागि पनि एक दर्जनभन्दा बढी सानाठूला नदीहरू खुला गरेको छ, नेपाल सरकारले । माथि उल्लेख गरिएबाहेक नेपालमा जंगल सफारी, सिकार पर्यटन, माउन्टेन फ्लाइट, बञ्जी जम्पिङ, बालुनिङ, कायाकिङ, क्यानोइङ, साइक्लिङ, साइट सिन, सिटी टुर, गाउँ पर्यटन (भिलेज टुर), जिप फ्लाइङ, बाइकिङ टुर, कल्चरल टुर स्की पर्यटन, बर्ड वाचिङ टुर आदिको विविधीकरण रहेको छ । जुन स्केलमा नेपाली पर्यटन क्षेत्रमा विविधीकरणको सम्भावना रहेको छ, पर्यटनमा त्यो खालको विविधिकरण विश्वका अन्य कुनै देशमा छैन भनी ठोकुवा गर्न सकिन्छ ।
पर्यटनको कुरो गर्दा के भनिन्छ भने, विश्व पर्यटनमा पर्वतारोहणपछि धेरै अथवा भनौँ राम्रो आमदानी हुने क्षेत्र भनेको ‘माइस टुरिज्म’ हो । ‘माइस टुरिज्म’ भन्नाले ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिविसन’ हो । अर्थात् नेपाली भाषामा चाहिँ ‘बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी’ हो । साथै यस (माइस टुरिज्म)मा व्यापार पर्यटन (व्यापारीहरू एक देशबाट अर्को देशमा माल सामान बेच्न आउने जाने प्रक्रिया)लाई पनि जोड्न सकिन्छ । किनभने व्यापारीहरूले पनि ‘बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी’मा जाने पर्यटकहरूले जस्तै प्रशस्त खर्च गर्नसक्ने क्षमता राखेका हुन्छन् । जे होस्, विश्व पर्यटन जगतमा अहिले धेरै देशले ‘माइस टुरिज्म’का लागि प्रवर्द्धन गरिरहेका छन् । विश्वमा आर्थिकरुपमा सम्पन्न र इनेगिनेका देशहरूले समेत आफनो देशमा विश्वभरिबाट ‘माइस टुरिज्म’ भित्र्याउन वा भनौँ ‘माइस टुरिज्म’लाई आकर्षित गर्न लागिपरेका छन् । धेरै देशले त्यसका लागि धेरै लामो समयअघिदेखि प्रचारात्मक अभियान चलाइरहेका छन् ।
यो लेख लेख्नुको आशय अब नेपालले पनि ‘माइस टुरिज्म’का लागि किन ध्यान नदिने अथवा किन पहल नगर्ने ? भन्ने रहेको छ । नेपाल पर्वतारोहण र पदयात्राका लागि त विश्वका प्रमुख गन्तव्यहरूमध्येमा पर्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरो हो । त्यसबाहेक धेरथोर रुपमा विदेशी पर्यटकहरू नेपालमा जलयात्रा, जंगल सफारी, सिकार पर्यटन, माउन्टेन फ्लाइट, बञ्जी जम्पिङ, बालुनिङ, कायाकिङ, क्यानोइङ, साइक्लिङ, साइट सिन, सिटी टुर, गाउँ पर्यटन, जिप फ्लाइङ, बाइकिङ टुर, कल्चरल टुर स्की पर्यटन, बर्ड वाचिङ टुर आदिका लागि पनि आउने गरेका छन् नै । त्यसैले अब हामीले विश्वभरिका ‘माइस टुरिज्म’ अर्थात् ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिविसन’ गर्न चाहने विश्वका कुनै पनि देशका संघ–संस्था, कम्पनी, सरकारी कार्यलय, दातृ निकाय, आईनजीओ, एनजीओ, व्यापारिक निकाय, इभेन्ट आयोजक आदिलाई विश्वकै सबैभन्दा अग्लो हिमाल (८८४८.८६ मिटर) सगरमाथा–चोमोलुङमा–एभरेस्ट सहित लगभग १७ सय वटा साना ठूला हिमाल भएको हिमालको देशमा आउनु होस्, आफ्नो सभा, सम्मेलन, प्रोत्साहन कार्यक्रम, प्रदर्शनीदेखि लिएर अन्य कार्यक्रमहरू गर्नु होस् भनेर किन आग्रह नगर्ने, उनीहरूलाई किन प्रोत्साहन नगर्ने ? साथै विभिन्न देशका व्यापारीहरूलाई पनि हामीले नेपालमा बोलाएर ‘नेपाल लगायत विश्वका अन्य देशमा भई रहेको र आगामी दिनमा हुने व्यापार–व्यवसायको सम्भावनाहरू बारेमा हिमालयको देशमा बसेर छलफल र बहस गर्नु होस्’ भनेर छुट्टै आग्रह गर्न सकिन्छ ।
हाल विश्वका विभिन्न देशले माइस टुरिज्मबाट ठूलो फाइदा लिई रहेका छन् । जस्तै अफ्रिका महादेशको मोरोक्को भन्ने देश एक रहेको छ । मोरोक्को पनि माराकेस र कासाब्लान्का मुख्य गन्तव्यका रुपमा रहेको छ भने अफ्रिका महादेशकै दक्षिण अफ्रिका देशको दर्बान सहरले पनि माइस टुरिज्म आयोजकहरूको राम्रो उपस्थिति रहने गरेको छ । त्यस्तै अफ्रिका महदेशकै इजिप्ट देशको राजधानी समेत रहेको कायरो सहरमा पनि माइस टुरिज्मले राम्रोसँग फस्टाउने मौका पाई रहेको देखिन्छ । यता एसिया तथा प्रशान्त क्षेत्रमा पर्ने सिंगापुर देशले पनि धेरै राम्रोसँग माइस टुरिज्मबाट फाइदा लिइरहेको छ भने एसियाकै थाइल्यान्ड देशले पनि माइस टुरिज्मलाई राम्रैसँग आकर्षित गरिहेको छ ।
त्यसरी थोरै समयमा धेरै राम्रो आमादानी हुने पर्यटन अर्थात् माइस टुरिज्मको कुरो गर्दाखेरि विगत लामो समयदेखि युरोप महादेशका विभिन्न देशहरूले माइस टुरिज्ममा अग्रणी स्थान लिई रहेका छन् । त्यसमा पनि अष्ट्रियाको भियना, स्पेनको बार्सिलोना र म्याड्रिट प्रमुख गन्तव्यका रुपमा रहेका छन् । खासमा स्पेन देशको बार्सिलोना सहर र म्याड्रिट सहर विश्वभरिकै माइस टुरिज्मको उत्कृष्ट एवं प्रमुख केन्द्रका रुपमा स्थापित भएको छ । स्मरणीय छ, स्पेनको म्याड्रिट सहरले सन् २०२१ मा ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिविसन’का लागि उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । उता दक्षिण अमेरिका महादेशको अर्जेन्टिना देशको ब्युनर्स आयर्स र कोस्टारिका देश पनि माइस टुरिज्मका लागि रोजाईको गन्तव्यमा पर्ने गरेको छ । त्यस्तै गरेर उत्तर अमेरिका महादेशको संयुक्त राज्य अमेरिको लस भेगास सहर र डल्लास सहर पनि माइस टुरिज्मका लागि छनौटमा पर्ने गरेको देखिन्छ । त्यस्तै गरेर मध्य पूर्वी क्षेत्रको युनाइटेड अरब ईमिरेट्स (युएई) देशको दुबई सहर र युएईको केन्द्रीय राजधानी सहरका रुपमा रहेको अबुधावी सहर पनि माइस टुरिज्मको गन्तव्य बन्दै गएको छ ।
मथि उल्लेख गरिएका अधिकांश देशमा पर्यटकलाई आकर्षित गर्ने चिजबिचहरूमा मुख्यतया समुन्द्र प्रमुख आकर्षणका रुपमा रहेको छ भने केही देशमा प्राचीन सहर र स्मारकहरू पनि रहेको छ । तर ती देशमा भौतिक पूर्वाधार र यातायातको राम्रो सेवा सुविधा उपलब्ध रहेको छ । त्यसैले हाम्रो देश नेपालमा पनि भौतिक पूर्वाधार र यातायातको राम्रो सेवा सुविधा उपलब्ध गराउन सकेमा ‘माइस टुरिज्म’ले छिट्टै फस्टाउने मौका पाउने थियो ? किनभने हामीसँग त प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरू प्रशस्तै रहेका छन् । नेपालमा माइस टुरिज्मका लागि नगरकोट, चन्द्रागिरि, दामन, पोखरा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको ल्होमन्थाङ, डोल्पा जिल्लाको फोकसुन्डो ताल, एभरेस्ट क्षेत्रको एभरेस्ट होटेल, कञ्चनजंघा क्षेत्रको घुन्सा, मुगु जिल्लाको रारा ताल क्षेत्र आदिमा माइस पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्ने देखिन्छ ।