काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामालाई बर्खास्तगीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।
लुम्बिनीजस्तो पवित्र ठाउँको उपाध्यक्ष पदमा हातहतियार मुद्दामा सजाय पाएर पनि दबाबका कारण छुटेका लामा रहँदा विश्वमा नै नराम्रो सन्देश जाने भएकाले तत्काल हटाउन उजुरीमा माग गरिएको छ ।
नियुक्ति पाउनुअघि फौजदारी कसुरमा सजाय नपाएको, कुनै पनि जरिवाना भएको वा तिर्न बुझाउन पनि बाँकी नरहेको स्वघोषण नगरी लामाले नियुक्ति लिएका थिए । उनले हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अठ्ठाइस हजार पाँच सय जरिबाना तिरेको प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीमा उल्लेख छ ।
हातहतियारसहित पक्राउ परेका लामाले पदीय दुरुपयोग गरी लुम्बिनी क्षेत्र ३० वर्षका लागि लिजमा दिन खोजेको उजुरीमा आरोप लगाइएको छ ।