काठमाडौं ।जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती प्रधानमन्त्री सुशीला कार्कीसँग वार्तामा बसेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ प्रधानमन्त्री कार्की र जेनजी युनाइटेड समूहबीच वार्ता भएको हो। गत शनिबार समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो। सो क्रममा प्रदर्शनमा सहभागी केही युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि सरकारले वार्ताका लागि समूहका नौ प्रतिनिधिलाई सिंहदरबार बोलाएको हो। वार्तामा समूहका तर्फबाट हालैका आन्दोलनका माग र युवा पुस्ताको आवाजबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताइएको छ। उता, जेनजी युनाइटेडका अन्य सदस्यहरू भने वार्ताको समयमा बबरमहल क्षेत्रमा प्रदर्शनरत थिए। वार्ता सकारात्मक वातावरणमा सम्पन्न भएको र मागका विषयमा सरकारले आवश्यक छलफल अघि बढाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।