काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । मंगलबार ललितपुरबाट पक्राउ परेका उनीमाथि ठगी गरेको आरोप छ ।
उनीविरुद्ध यसअघि नै उजुरी परेको थियो । स्रोतका अनुसार उनीविरुद्ध झण्डै अर्ब रुपैयाँ ठगी गरेको आरोप छ । ठाकुर प्रसाद मानन्धरलगायतले उनीसहित प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाविरुद्ध समेत दिएको जाहेरीपछि सीआईबीले उनलाई पक्राउ गरेको हो ।
भट्टचन २०७९ को निर्वाचनमा नेकपा एमालेबाट जनजाति कोटामा समानुपातिक सांसद बनेका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा पनि आबद्ध थिए ।
उक्त ठगीसहित आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको आधारमा लामो समयदेखि अनुसन्धानलाई नै प्रभावित गरी लुकिछिपी बस्दै आएका थिए ।
उनी पूर्वसभासद तथा प्रभु मनि ट्रान्सफर प्रालिको अध्यक्ष (प्रभु ग्रुपका सञ्चालक) हुन् । भट्टचन समेतले रेमिट कारोबार गर्ने लाइसेन्स नेपाल राष्ट्र बैंकमार्फत् प्रभु मनि ट्रान्सफर प्रालिले प्राप्त गरी सोमार्फत् विदेशमा बसेका नेपालीहरुले नेपालका विकट गाउँहरुमा आफ्ना आफन्तलाई सहजरुपमा नजिकैको स्थान विशेषबाट छरिएका सहकारीमार्फत् विप्रेषणबापतको रकम भुक्तानी गराउनको लागि २०६९ पुस १ गते प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनि ट्रान्फर प्रालिबीचको करार सम्झौता हुँदाका बखत दुवै कम्पनीका मुख्य सञ्चालक भट्टचन रहेको, प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेन्टको रूपमा नियुक्त गरी उक्त प्रभु म्यानेजमेन्ट प्रालिका तर्फबाट तत्कालीन प्रबन्ध निर्देशक कुसुम लामाले देशभरका विभिन्न सहकारी संस्थाहरूमार्फत् विप्रेषणको कारोबार गर्ने सम्झौता गरेका थिए ।
त्यसमा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ सोही साल माघ १३ गते जारी भई प्रचलनमा आएको र उक्त विनियमावलीको बुँदा नं. ९ मा कम्पनीले भित्र्याउने (इनवार्ड रेमिट्यान्स) कार्य गरी आफैँ वा आफूद्वारा नियुक्त सब–एजेन्ट वा सब–रिप्रेजेन्टेटिभमार्फत सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्नुपर्नेछ भन्ने व्यवस्थाको विपरीत कार्य जारी राखी प्रभु म्यानेजमेन्ट प्रालिको सब–एजेन्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्तिलाई विप्रेषणबापतको रकम भुक्तानी गरेको खुलेको छ ।
तर प्रभु मनि ट्रान्सफर प्रालि का अध्यक्ष भट्टचनलगायतले सो रकम हिनामिना गरेका थिए । सो रकम प्रभु म्यानेजमेन्ट प्रालिबाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम शोधभर्ना नगरेको भन्दै तीन दर्जनभन्दा बढी सहकारी संस्थाले उजुरी दिएका थिए । सीआईबीले अनुसन्धान गरी भट्टचनका नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी गरेको थियो । सोही क्रममा उनी मंगलबार ललितपुर गोदावरी नगरपालिका ३ टौकेलबाट पक्राउ परेका हुन् । उनीविरुद्ध अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।