काठमाडौं । सरकारले अनुकूल व्यवसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीहरूको सहभागितामा बैठक राख्न परिपत्र गरेको छ ।
गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई बिहीबार परिपत्र गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा सुरक्षा प्रत्याभूतिका गर्न सरकारले गरेको उक्त निर्णयका लागि महासंघले गृह मन्त्रालयलाई धन्यवाद दिएको छ । महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिताका कात्तिक २ गते गृह मन्त्रालयमा पत्राचार गरेको थियो । महासंघले सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्यगरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्याङ्कन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको थियो । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सरकार र निजी क्षेत्रबीच समन्वय संयन्त्रको आवश्यकता महसुस गरिएको अवस्थामा सरकारको यो निर्णयले व्यावसायिक मनोबल बढाउन सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्यमा सहजता थप्ने महासंघले जनाएको छ ।
‘यस निर्णयबाट व्यवसायीको मनोबल बढ्न गई अर्थतन्त्र चलायमान हुने विश्वास हामीले लिएका छौँ,’ महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले भने, ‘यसका लागि हामी नेपाल सरकार गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छौँ ।’ यसैबीच महासंघले सरकारको निर्णयअनुसार जिल्लास्थित उद्योग वाणिज्य संघहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ ।