जेन–जी नवजागरणको प्रतिफल गत भदौ २३/२४ गतेको जनआक्रोश र विद्रोहदेखि भोगिसकेपछि पनि कांग्रेस, एमाले, माओवादीका महासमिति, महाधिवेशन प्रतिनिधि या केन्द्रीय सदस्यहरुले देउवा, ओली, प्रचण्डलाई नै नेता मानेर फेरि ०७२ को संविधानलाई नै अगाडि बढाउँछौँ भन्दै संसद् पुनः स्थापना गरेर चुनावमा जाने तयारी गर्नु कविलायी चेतना र दास मानसिकताको योभन्दा अर्को टड्कारो जीवन्त उदाहरण हुन सक्दैन । विदेशी ताकत (इन्डो अमेरिका) मिलेर देउवा, ओली, प्रचण्डलाई पछिल्लो नाङ्गेझार पारिदिएका ठान्नु पनि अवैध सम्बन्धबाट जन्मिएको बच्चाको आफ्नै आमाद्वारा हत्या भन्नुजस्तो मात्र हो । तर तथ्य र सत्य भने अर्कै छ जसलाई इन्कार गर्नु भुसलाई भुङ्ग्रोले छोपेजस्तो हुने पक्का छ ।
गत आइतबारको यसै स्तम्भमा ‘देउवा कांग्रेसका एआई उत्तराधिकार’हरुका सोच, समझ, नियतवारे ‘जेन–जी’ या त्यसपछि आउने ‘जेन अल्फा’ पुस्ताका लागि पाठ्यक्रम अभिलेख गर्दा वि.सं. २०२८ सालमा पहिलोपटक बी.पी.सँग भेट हुँदा (बनारसमा) आफ्नो उमेर १७ वर्ष रहेको बताएको थिएँ । ०७ साल यताको नेपाली राजनीतिमा सर्वाधिक बौद्धिक नेतृत्वको रुपमा बी.पी.को नाम उल्लेख हुने गरेका पाइन्छ । आजभन्दा ४४ वर्ष अघि बी.पी.ले अघिसार्नु भएको दूरदृष्टि आज आएर अक्षरसः चरितार्थ भएको पाउँदा यो तथ्य पुष्टि पनि हुन्छ । ‘जुन दिन कांग्रेसले राष्ट्रियताको अडान छोड्छ (महाकाली सन्धि) यसको औचित्य समाप्त हुन्छ र जुन दिन प्रजातन्त्रको आदर्श मूल्यमान्यता त्याग्छ (प्रचण्डसँग घाँटी जोडेर हसिया हथौडामा भोट माग्नु) समाप्त भएर जान्छ’ भन्ने बी.पी.को किटान दूरदृष्टि थियो ।
राजनीतिक क्षेत्रमा मात्र नभएर साहित्यक्षेत्रमा पनि (कथा, उपन्यास, लेखन) बी.पी.को नाम ध्रुवचन्द्र गौतम टाइपको लेखनभन्दा धेरैमाथिको प्रमाणित छ । राजनीतिलाई राष्ट्रको मगज मानिन्छ भने साहित्यलाई समाजको मुटु । मान्यता के छ भने देश विकास र प्रगतिका लागि राजनीति बाटो हो भने साहित्य त्यस विकास र प्रगति हेर्ने ऐना हो । म्याक्सिम गोर्कीको आमा उपन्यास पढेर लेनिनले ‘साहित्य भनेको समाजको ऐना हो’ भन्ने परिभाषा अघि सारेका थिए । लेनिनको यस परिभाषालाई आज संसारका सबै विश्वविद्यालयहरुले मान्यता दिएका छन् । यति भनिसकेपछि बी.पी.को जुन राजनीति उचाई स्थापित भएको छ, त्यसमा उहाँको साहित्यिक उचाइले पनि ठूलो काम गरेको थप वर्णन आवश्यक परेन ।
बी.पी.ले आजको परिभाषा जेन–जी पुस्तासँग राजनीतिक सहयात्रा गर्नुपर्दा हमेसा बारबार आफ्नो अध्ययन पद्धतिलाई विकसित र व्यवस्थित गर्न आग्रह गर्नुहुन्थ्यो । त्यसक्रममा विश्वका विख्यात फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोकोे अध्ययन अनिवार्य गर्न सल्लाह दिनुहुन्थ्यो र कतिपयलाई त (प्रदीप गिरि, शैलजा आचार्य हामीहरु जस्तालाई) आफैं पुस्तक पसलबाट ह्युगोको किताब किनेर पढ्नलाई दबाब पनि सिर्जना गर्नुहुन्थ्यो । यसरी बी.पी.को आग्रह र प्रेरणाबाट ह्युगोको अध्ययन गर्न थाल्दा के पाइयो भने १९औँ शताब्दीको विश्व साहित्यमा उहाँको चिनारी ‘साहित्य सम्राट’का रुपमा स्थापित भएको रहेछ । उहाँले आफ्नो जीवनकालमा ४४ वटा पुस्तक लेख्नुभएको रहेछ र ती सबै पुस्तकहरुको विश्वका ४४ भाषामै अनुवाद भएका रहेछन् । ४४ पुस्तक ४४ भाषामै अनुवाद हुनु सायद ‘प्रारब्ध’कै खेल थियो कि ? १९औँ शताब्दीका मगज अव्राहम लिंकन र मुटु भिक्टर ह्युगो भन्ने पनि विश्वविद्यालयहरुमा पाठ्यक्रम बन्ने गरेको रहेछ ।
१२ वर्षको उमेर हुँदा ह्युगो कि आमाको मृत्यु भएछ । आमाको मृत्युलगत्तै पछि पिताले सौतेनी आमा भित्र्याएछन् । सौतनी आमाको व्यवहार हाम्रो एसियाली क्षेत्रमा मात्र नभएर युरोपतिर पनि ताडना, अवहेलना र तरस्कार कै हुँदो रहेछ । यसरी १२ वर्षको उमेरदेखि नै (कतै कतै १४ वर्ष उल्लेख भएको पाइन्छ) दैनिकी गाँस, बास, कपास धान्नमै संघर्षपथमा जेलिनुपरेछ । जब कोही साहारा हुन्न त भगवान साहारा भएर आउँछन् भन्ने गीता वचनजस्तै १५ वर्षकै उमेरमा प्रतिभा चम्केर उदयमान कविको चिनारी बनेछ । त्यसपछिको ८० वर्षको उमेरसम्म गाँस बास कपासकै लागि कुनै संघर्षपथमा जकडिन परेनछ । उनको लेखनको (कथा, कविता, नाटक, उपन्यास, संस्मरण आदिइत्यादि सबै विद्या) केन्द्रविन्दु सत्ताधारी वर्गको शोषण दमन अत्याचारबाट गरिब, निमुखा, दलित र पीडित जनताहरुलाई कसरी मुक्ति दिलाउने भन्ने नै हुन्थ्यो । राज्यसत्तामा संलग्न भएर बढी आमजनताको हितमा काम गर्न सकिएला कि भन्ने ठानेर एकपटक फ्रान्सको राज्यसभाको सदस्य (सांसद) पनि हुनु भएछ । तर चाँडै नै त्यो राज्यसभा पनि आजको भाषाको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ साक्षात्कार भए पछि हामी कहाँ मोहन वैद्य किरण बाहिरिएजस्तै बाहिरिनुभएछ । त्यसैबखत उहाँको दृष्टि बेलायत र फ्रान्स मिलेर ‘अफिम युद्ध’मार्फत चिनियाँ जनतामाथि भएको भयङ्कर शोषण, दमन, अत्याचारको हृदय विदारक हालतमा पुगेछ । अफिमको नसामा बेहोस पारिएको चीन जाग्यो भने त्यसले दुनियाँ हल्लाइदिनेछ भन्ने नेपोलियनको कथनलाई आधार बनाएर चिनियाँ जनतालाई जगाउने अभियान र लेखनमा केन्द्रित हुन थाल्नुभएछ । न भन्दै उहाँको जीवनकालमै चिनियाँ जनता जागेर बेलायत र फ्रान्सको अफिम युद्धमार्फतको शोषण दमन अत्याचारबाट मुक्ति पाउन चीन सफल भएछ । चिनियाँ शासकहरुले बेलायत फ्रान्सलगायत युरोपका आठ राष्ट्रको शोषण, दमन, अत्याचारलाई साथ दिएका कारण चिनियाँ जनता पशुसरह जीवन बाँच्न बाध्य भएका थिए । चिनियाँ जनता जागेर अफिम युद्धबाट मुक्ति पाएका दृष्टान्तबाट ह्युगोले ‘शासकहरु राष्ट्रघाती हुन सक्छन् तर जनता (दलाल एजेन्टबाहेक) ले कहिल्यै पनि राष्ट्रघात गर्दैनन्’ भन्ने निष्कर्ष निकाल्नुभयो । ‘समयले खोजेको विचारधारा र मागभन्दा दुनियाँमा अरु केही पनि र कोइ पनि शक्तिशाली हुन्न’ भन्ने ह्युगोको कालजयी कथन चिनियाँ जनताको नवजागरण अध्यायबाट पुष्टि र प्रमाणित भएको मान्न सकिन्छ । ह्युगोको यस्तै अध्ययन पद्धति र निष्कर्ष ठहरबाट बी.पी. प्रभावित भएको प्रष्टरुपमा बुझ्न सकिन्छ ।
आफ्नो १७ वर्षको उमेरमा बी.पी.ले भिक्टर ह्युगो अध्ययन गर्न सल्लाह दिनुभएको प्रशङ्गलाई यहाँ जोड्न खोजेको सन्दर्भ हो गत भाद्र २३/२४ गते हाम्रो मुलुक नेपालमा उठेको ऐतिहासिक युगान्तकारी जेन–जी विद्रोहले विजारोपण गरेको अभूतपूर्व नवजागरण । ‘समयले खोजेको विचारधारा र मागभन्दा दुनियाँमा अरु केही पनि र कोही पनि शक्तिशाली हुन्न’ भन्ने भिक्टर ह्युगोको १९औँ शताब्दी अन्त्यतिरको कथन २१औँ शताब्दी दुईदशक पार भइसकेपछि आज हाम्रो मुलुकमा जेन–जी विद्रोहबाट उठेको नवजागरणबाट अक्षरसः चरितार्थ हुन पुगेको छ । भिक्टर ह्युगोको रिफरेन्सबाट के तथ्य अगाडि आउँछ भने पश्चिमा राजनीतिशास्त्रीहरुले संसारभरिका विश्वविद्यालयहरुका पाठ्यक्रम बनाइदिएका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, वैचारिक स्वतन्त्रता आदिइत्यादि नारा तीनका नाममा एसिया अफ्रिकाका मुलुकहरुमा आफ्नो हैकम स्थापित गरेर मनपरीतन्त्र, लुटतन्त्र मच्चाउने उद्देश्य रहेको नवजागरण चिनियाँ जनतामा बेलैमा विकसित भएको रहेछ । यो तथ्यलाई बेलैमा आत्मसात गरेर नै बेलायती मोडलको संसद्लाई महात्मा गान्धीले ‘बाँझ र वेश्या’ र कार्ल माक्र्सले ‘स्वतन्त्रताका नाममा उदारवादी गफ गरेर भोटको समयमा जनतालाई ठग्ने गफाडी क्लब’ भन्नुभएको रहेछ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार नामको मनपरीतन्त्र, लुटतन्त्र, अस्थिरता, अशान्ति बेलैमा बुझेर चीन आज कहाँ पुगेको छ सबै छर्लङ्गै छ । त्यही बेलायती मोडलको संसदीय प्रणालीले गर्दा भारतको अवस्था छर्लङ्ग छ । डेढ अर्ब जनसंख्या भएको भारतमा आज सत्ताधारीवर्गको एउटा तप्का धिरुभाइ अम्बानीभाइ विवाह वर्षगाँठको अवसरमा श्रीमतीलाई हेलिकोप्टर हवाईजहाज उपहार दिइरहेका भेटिन्छन् भने ९० करोडभन्दा बढी जनसंख्या बिहान खाए बेलुका के खाने पिरलोमा पिल्सिरहेका छन् । भ्रष्टाचारीका हिसाबले हेर्ने हो भने पनि हामीकहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल (पौडेलका छोराको लण्डनमा चारवटा महल रहेको पुष्टि) पुष्पकमल दाहाल, खुमबहादुर खड्का, विजय गच्छदार, खड्ग ओली आदि इत्यादिभन्दा हजुरबा भ्रष्टाचारी भारतभरी छ्याप्छ्याप्ती दिनौँ भण्डाफोर भइरहेका समाचारहरु पढिरहेका सुनिरहेका नै हुन्छौँ । यस तथ्यलाई बेलैमा स्मेल गरेर नै बी.पी.ले ‘भारतमा अभ्यासरत संसदीय प्रणाली (अहिलेको संघीयता) को यान्त्रिक अनुशरणबाट माथि नउठेसम्म नेपालको विकास र उन्नति कुनै पनि हालतमा सम्भव छैन’ भन्नुभएको रहेछ ।
अन्त्यमा भाद्र २३/२४ गतेको जेन–जी विद्रोह र आम जनआक्रोश एक अन्तर्राष्ट्रिय रिपोर्टअनुसार (पुरञ्जन आचार्य) ११ हजार गुण्डाहरु (गगन थापा, महेश बस्नेत, दिपक खड्का, नन्दकिशोर पुन आदिइत्यादि मन्त्री, सांसद र पार्टीहरुका केन्द्रीय सदस्य, जिल्ला नेतृत्वका जमात)ले नेपालको राज्यसत्तालाई पूर्णरुपले क्याप्चर गरेर पेट काटेर सहकारीमा बचत गरेका ७५ लाख जनताका मुखको गाँस लुटेर भोकभोकै पारिदिएका (यसमा देश बेचेर मानव तस्करी गरेर बंकरमा पैसा थुपारेर निजी घरमा स्विमिङ पुल निर्माण गरेर मोजमस्ती गरेका ठालु नेताहरुका तमाम अरु काण्डहरु पनि छन्) कारण २४ भाद्रको सिंहदरबार, संसद् भवन, मन्त्री क्वाटर र सर्वोच्च अदालत खरानी हुन पुगेका हुन् । त्यो खरानी भनेको जातीयता, क्षेत्रीयता, धार्मिक द्वन्द्व मच्चाएर अस्थिरता अशान्तिको बाटो हुँदै नेपाललाई भुटान सिक्किम पु¥याउने षड्यन्त्र तहत लादिएको ०७२ को संविधानको हो । यसमा दुविधा र भ्रमको अब कुनै सम्भावना छैन । यहीँ नेर हो मैले भिक्टर ह्युगोको अध्ययन ठहरलाई जोडेको । भाद्र २३/२४ को जेन–जी विद्रोह जनआक्रोश हाम्रो समयले खोजेको विचारधारा र माग हो जसलाई दुनियाँको कुनै शक्ति र ताकतले पनि हराउन सक्दैन । अस्तु ।