भारत । भारतीय धनाढ्य अनिल अम्बानीको ३० अर्ब भारु बढीको सम्पत्ति भारतीय राजस्व विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)ले जफत गरेको छ ।
रिलायन्स ग्रुपका प्रमुख रहेका अम्बानी तथा ग्रुप कम्पनीहरुको ३० अर्बभन्दा बढी भारतीय रुपैयाँबराबरको सम्पत्ति जफत गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका अम्बानीको पाली हिली मुम्बईको घरसहित ४२ सम्पत्ति शुक्रबार जफत भएको हो । ती सबैको एकीकृत मूल्य ३० अर्ब ८३ करोड बढी छ । दिल्लीस्थित महाराजा रणजित सिंह मार्गमा रिलायन्स सेन्टरको नाममा रहेको प्लटिङ जमिन र रिलायन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका दिल्लीसहित नोयडा, गाजियावाद, मुम्बई, पुने, थाने, हैदराबाद, चेन्नई र इस्ट गोदावरीमा रहेका धेरै अन्य सम्पत्तिहरु पनि जफतमा परेका छन् ।
ईडीले मुम्बईको चर्चगेटमा रहेको नागिन महल भवनको कार्यालयहरु, नोयडामा रहेको बीएचए मिलेनियम अपार्टमेन्ट फ्ल्याटहरु र हैदराबादमा रहेको केमस क्याप्री अपार्टमेन्टहरु पनि जफत गरेको छ । ग्रुप कम्पनीहरु रिलायन्स होम फाइनान्स लिमिटेड र रिलायन्स कमर्सियल फाइनान्स लिमिटेडले उठाएका सार्वजनिक कोषहरुको रुपान्तरण र शुद्धीकरण गरेको भेटिएपछि ईडीले सम्पत्ति जफत गरेको बताएको छ । यसअघिको रिलायन्स निप्पन म्युचुअल फन्डले अनिल अम्बानी ग्रुपका वित्त कम्पनीहरुमा भएको प्रत्यक्ष लगानी कानुनीरुपमा सम्भवै नभएको पाइएपछि ईडीले अनुसन्धान तीव्र पारेको थियो । आममान्छेले म्युचुअल फन्डमा लगानी गरेको पैसा अप्रत्यक्षरुपमा एस बैंक हुँदै अनिल अम्बानी ग्रुप कम्पनीहरुमा पुगेको आरोप छ ।
ईडीले आफ्नो अनुसन्धानले अप्रत्यक्षरुपमा एस बैंकको माध्यमबाट रिलायन्स होम र रिलायन्स कमर्सियलमा पुगेको र ती दुई कम्पनीहरुले कर्जा विस्तार गर्दै रिलायन्स अनिल अम्बानी ग्रुपका कम्पनीमा पुर्याएको पाइएको उल्लेख गरेको छ । ‘व्यावसायिक कर्जाको ठूलो हिस्सा अन्ततः रिलायन्स ग्रुप कम्पनीहरुमा पुगेको छ । ती कर्जा विस्तार गर्ने क्रममा नियन्त्रणात्मक विधिहरु असफल भएको पाइएको छ’, ईडीले भनेको छ ।
यसरी अम्बानीका कम्पनीहरुलाई परीक्षण नै नगरी अत्यन्तै द्रूतगतिमा ऋण प्रक्रिया गरिएको समेत ईडीले जनाएको छ । धेरैजसो ऋणहरु आवेदनकै दिन प्रवाह गरिएको समेत ईडीले गरेको अनुसन्धानले देखाएको छ । ईडीले रिलायन्स कम्युनिकेसन्स लिमिटेड र यससँग सम्बन्धित कम्पनीहरुतर्फ पनि कर्जा दुरुपयोगको अनुसन्धान अघि बढाएको छ । यी कम्पनीहरुले एक खर्ब ३६ अर्ब भारुभन्दा धेरै रकम सदावहार कर्जामा बदलेको आरोप छ । एक खर्ब २६ अर्बभन्दा बढी रकम सम्बन्धितहरुलाई र १८ अर्बभन्दा बढी रकम निक्षेप र सामूहिक कोषहरुमा लगानी गरी अन्ततः ग्रुप कम्पनीहरुमै ‘रि–रुटिङ’ गरिएको पाइएको छ ।
अम्बानीविरुद्ध वित्तीय अनियमितता र रिलायन्स इन्फ्रास्ट्रक्चरसहित धेरै ग्रुप कम्पनीहरुबाट एक खर्ब ७० अर्ब भारु बढी ऋण रुपान्तरण गरेको आरोप छ ।