काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले हालको राजनीतिक परिस्थितिमा गैरसरकारी संस्था र नागरिक समाजमाथि भइरहेका नियोजित हल्ला र आरोपहरूबारेमा गम्भीर आपत्ति जनाएको छ ।
महासंघले सोमबार एक विज्ञप्ति जारी गरी नागरिक समाजमाथिको अविश्वास र लाञ्छना लोकतन्त्र, संविधान र मानव अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको उल्लेख गरेको छ । महासंघका अनुसार गैरसरकारी संस्थाहरू राज्यका विपक्षी नभई सरकारका नीतिलाई व्यवहारमा उतार्ने साझेदार हुन् ।
नागरिक समाजमाथि लगाइने निराधार आरोप लोकतान्त्रिक मूल्य र सिद्धान्तमाथिको प्रहार भएको विज्ञप्तिमा उल्लेख छ । महासंघले नेपालमा लोकतन्त्र र सामाजिक न्याय स्थापनामा नागरिक समाजले खेलेको ऐतिहासिक भूमिकाको अवमूल्यन अस्वीकार्य रहेको बताएको छ । पछिल्ला दिनहरूमा जेन–जी आन्दोलनपछि देखिएका राजनीतिक र सञ्चारमाध्यमका टिप्पणीहरूले नागरिक समाजको योगदानमाथि प्रश्न उठाएको भन्दै महासंघले यसलाई गम्भीररूपमा लिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रवृत्तिले संविधानले प्रत्याभूत गरेका राजनीतिक तथा नागरिक अधिकारहरू कमजोर पार्ने, अविश्वास र संस्थागत संकट निम्त्याउने जोखिम छ ।’
महासंघका अनुसार गैरसरकारी संस्थाहरू संविधान, कानुन र नीति–विधिअनुसार नै कार्यरत छन् । ती संस्थाहरूले सरकारका नीतिलाई व्यवहारमा उतार्दै सेवा पहुँच नपुगेका नागरिकसम्म पु¥याउने र पछाडि पारिएका समुदायका अधिकार सुनिश्चित गर्ने कार्य गर्दै आएको महासंघले जनाएको छ । नागरिक समाज प्रत्यक्ष सत्ता राजनीतिमा संलग्न नरहेको भन्दै महासंघले यसको भूमिका सुशासन, जवाफदेहिता र पारदर्शिता प्रवद्र्धनमा सीमित रहेको उल्लेख गरेको छ । महासंघले जेन–जी आन्दोलनका युवाहरूका मागलाई न्यायोचित ठहर गर्दै मुलुकलाई भ्रष्टाचारमुक्त र उत्तरदायी बनाउन विद्युतीय शासन प्रणाली र चुस्त अनुगमन प्रणाली तत्काल लागू गर्न सरकारलाई आग्रह गरेको छ ।
आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि र सम्पत्ति क्षतिको घटनाप्रति महासंघले भर्सना गर्दै गौरी बहादुर कार्की आयोगलाई निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न तथा राष्ट्रिय मानव अधिकार आयोगलाई सहयोग पुर्याउन आग्रह गरेको छ । महासंघले संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले सबै पक्षले सर्वोच्चको निर्णयलाई सम्मानपूर्वक कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएको छ । महासंघले वर्तमान राजनीतिक जटिलता समाधानका लागि सरकार, परम्परागत र नयाँ राजनीतिक दलहरू, नागरिक समाज र जेन–जी आन्दोलनबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न आह्वान गरेको छ । महासंघले हल्ला र आरोपको राजनीति अन्त्य गर्दै नीति निर्माण र सुधारको बाटो रोज्न सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।