काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ । आइतबार राति बसेको ओवी बैठकले अर्का अध्यक्ष डा. बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो । दुई गुटमा विभाजन भएको एनआरएनएको एकताका लागि श्रेष्ठ नेतृत्वको समूह तयार भएको छ । श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर) लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए ।
बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्वयन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ । सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ । श्रेष्ठले डा. केसीले नेतृत्व गरेको समूहसँग आपसी संवाद, सहकार्य र सहमतिको माध्यमबाट संघभित्र विगतका विवादहरू समाधान गर्ने र पारदर्शिता, विश्वसनीयता तथा संस्थागत स्थायित्वलाई प्राथमिकता दिने बैठकमा प्रतिबद्धता व्यक्त गरेका छन् ।