काठमाडौं , नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलसँग एकताको निर्णयमा पुगेपछि पार्टीभित्र विभाजन उत्पन्न भएको छ। र्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, र पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायत नेताहरूले माओवादी केन्द्र परित्याग गर्दै नयाँ राजनीतिक अभियान सुरु गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत शर्माले ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ राजनीतिक अभियानको घोषणा गरेका हुन्।उनले पार्टी नेतृत्वसँग लामो समयदेखि विचारगत मतभेद रहँदै आएको उल्लेख गर्दै भने, “दश वर्षे जनयुद्ध र पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत माओवादी नेतृत्व अघि बढेकाले हामी एकता प्रक्रियाबाट बाहिरिएका हौं।”शर्माले विगतमा पार्टी नेतृत्वका खराब आचरण र निर्णयहरूमा आफूहरूले पनि साथ दिएको स्वीकारोक्ति गर्दै आत्मालोचना गरेका छन्। उनले अब नयाँ सोच र सच्चिएको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाए। उनका अनुसार ‘प्रगतिशील अभियान नेपाल’ले विखण्डित वामपन्थी र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक अभियान सञ्चालन गर्नेछ।