काठमाडौं,काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० गैरिगाउँमा मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्। जेनजीहरुको भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा मेयर अधिकारीको घरमा तोडफोड भएको थियो। सो घटनामा संलग्न भएको ठहर गरिएका व्यक्तिहरूलाई बुधबार बेलुका कपनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा इलाम जिल्ला माई नगरपालिका–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१० गैरिगाउँमा बस्ने २० वर्षीया निशा राई र गुल्मी जिल्ला हस्तिचौर गाउँपालिका–२ की २२ वर्षीया आयुषा कुमाल रहेका छन्। दुवैजनालाई प्रहरीले बुढानिलकण्ठ–१० गैरिगाउँबाट पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।