विराटनगर । भन्सार परिसरबाटै प्रज्ञापनपत्रमा घोषणा गरेकोभन्दा बढी सामान तस्करी गरेर लैजाने प्रयास गरेपछि विराटनगर भन्सारले एकजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा पठाएको छ ।
भन्सार एजेन्ट सौगात पोखरेलको एजेन्ट लगइन नम्बर ७४५ बाट सटिङ्गसुटिङ्गका कपडाहरु कुन्दन मण्डल भन्ने व्यक्तिले लाने गरेको फेला पारेपछि भन्सारले मण्डललाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।
बुधबार नै भन्सार एजेन्टका पदाधिकारीसहित प्रमुख भन्सार अधिकृतको नेतृत्वमा भएको छलफलबाट भन्सार एजेन्टको लगइन नम्बर ७४५ निलम्बन गरिएको छ । भन्सार एजेन्ट सौगात पोखरेललाई आवश्यक कारबाही गर्दै उनको एजेन्ट लगइन नम्बर बन्द गर्नेदेखि निलम्बन गर्नेसम्मको कारबाहीका लागि भन्सार विभागमा पत्राचार गरिएको छ । भन्सारले उनको भन्सार एजेन्ट नम्बर ७४५ को लगइन बन्द हुने भन्सार स्रोतले बताएको छ ।
विराटनगर भन्सारले मण्डलसँगै उनले जाँचपास गर्ने प्रयास गरेको कपडासहितको ट्याक्टरलाई कारबाहीका लागि राजस्व अनुुसन्धान सुनसरीको जिम्मा लगाएको हो । उक्त सामानसहितको ट्याक्टर राजस्व अनुसन्धान सुनसरी पुुगेपछि थप अनुसन्धानका लागि बुधबार विराटनगर–६ सरौचियास्थित बुद्धपूजा ढुवानी सेवाबाट राजस्व अनुसन्धान इटहरीको टोलीले ३४ पोका कपडा नियन्त्रणमा लिइएको छ । मंगलबार पक्राउ परेका कुन्दन मण्डलले भन्सार छलेर भित्र्याएको सामान ढुवानी सेवामार्फत पठाउने तयारी गरेको सूचनाका आधारमा राजस्वले छापा हानेर बरामद गरेको राजस्वस्रोतले जानकारी दिएको छ । मण्डलले भन्सार छलेर भित्र्याएका सामान ढुवानी सेवाबाट पठाउने गरेको आशंका राजस्वको छ ।
राजस्व अनुसन्धानको टोलीले गरेको अनुन्धानमा प्रज्ञानपत्रमा उल्लेख गरेभन्दा फरक मालवस्तु भन्सार परिसरबाटै भित्र्याउने गरेको फेला पारेको छ । यो सूचना सशस्त्र प्रहरी बल कोशी प्रादेशिक कार्यालय इटहरीका डीआईजीसम्म पुगेपछि मण्डलले जाँचपास गराएका मालवस्तु भन्सार हुँदै उनको ट्रान्सपोर्टसम्म तानिएको हो । बुधबार नियन्त्रणमा लिइएको सामानको नक्कली बिल र नक्कली प्रज्ञानपत्र समेत बनाएको हुन सक्ने आशंका गरिएको छ । राजस्व अनुसन्धानले ढुवानीका प्रोपाइटर धिरज मण्डललाई समेत सामानको परिमाण यकिन नहुँदासम्म नियन्त्रणमा लिएको छ । ढुवानी सेवा समेत कुन्दन मण्डलसहितका परिवारले सञ्चालन गरेको आशंका गरिएको छ । त्यसमा बद्रीनारायण मण्डल र धिरज मण्डल आबद्ध छन् । यो ढुवानी सेवाबाट दुहबी, इटहरी, धरान, विराटचौक, लेटाङ, उर्लाबारी, पथरी, दमक, पश्चिममा इनरुवा, झुम्का, भण्टाबारी र कोशी ब्यारेजसम्मको मालवस्तु ढुवानी गर्न सकिन्छ ।