काठमाडौं । सम्झौता अवधि सकिएको सात वर्षसम्म पनि पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले जग्गा खाली नगरेपछि नेपाल स्काउटले सूचना निकाल्दै संरचना र मालसामान हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
नेपाल स्काउटले आफ्नो जग्गामा रहेका संरचना र सो संरचनामा रहेका मालसामान जफत गर्ने तयारी गरेको हो । नेपाल स्काउटको लैनचौरस्थित केन्द्रीय कार्यालयमा रहेको कित्ता नम्बर १० को तीन रोपनी जग्गा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०५६ सामा भाडामा लिएको थियो । तर, सम्झौता अवधि २०७५ सालमै सकिए पनि उक्त जग्गा र संरचना कम्पनीले खाली गरेको छैन । यो कम्पनी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काको स्वामित्वमा छ ।
स्काउटको सम्पत्ति खाली गर्न अदालतले पटक–पटक आदेश दिए पनि कम्पनीले अटेर गर्दै आएको छ । उल्टै स्काउटका जग्गा र भवन सात वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेको छ । बिहीबार सूचना निकाल्दै स्काउटले संरचना र मालसामान नहटाए जफत गरिने भनेको छ ।