केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा बेला–बेला चोक र गल्लीहरूमा जताततै फोहोरको पहाड बन्ने गरेको छ । त्यस्तो बेला दुर्गन्धले बाटो हिँडिसक्नु हुँदैन । यो क्रम बढ्दै जाँदा पूरै राजधानी महामारीको चपेटामा पर्ने चिकित्सकहरूले बताउने गरेका छन् । काठमाडौं जनसंख्याको हिसाबले पनि सबैभन्दा ठूलो महानगर हो ।
यस्तो बेला कथंकाल महामारी फैलियो भने त्यो कति भयावह हुन्छ, अनुमान गर्न सकिन्छ । यस्तो बेला यता नगरप्रमुख बालेन्द्र साह भने यसप्रति बेखबर देखिन्छन् । बरु उनी फेसबुकमा अरुहरूलाई तथानाम गाली गर्नमा नै समय बिताइरहेका हुन्छन् । ती गाली पनि कस्ता भने सद्दे मान्छेबाट यस्तो हँुदैन भनेर प्रतिक्रियाको ओइरो नै लाग्छ । यही क्रममा केहीअघि मात्रै यस्तै समस्या प्रकट भयो । तर यता साह भने फेसबुकमा नै रमाए । अवस्था कस्तोसम्म भने जेन–जी आन्दोलनको पहिलो चरणमा नै नियुक्त भएका एक मन्त्रीले त सर्को तानेर जथाभावी नलेखौँ भनेर सामाजिक सञ्जालमा सुझाव नै दिए । उनले लेखे– ‘केही–केही आशलाग्दा अभियन्ता र अगुवाहरूले बेला–बेलामा सर्को तानेर बोलेको र लेखेजस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’
मेयर यसरी मस्त रहेकै बेला महानगर भने फोहोरमा परिणत भएको थियो । यो अवस्था आउने कारण पनि यिनै मेयर हुन् । उनी काठमाडौं महानगरको प्रमुखमा निर्वाचित हुनासाथ गरेका सम्झौताहरू यो तीन वर्षको समयमा कतै कार्यान्वयनमा आएनन् भन्ने आरोप लाग्यो । उपत्यकाको फोेहोरको व्यवस्थापनका लागि २०७९ जेठ २६ गते नुवाकोट र धादिङका स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सम्झौता भएको थियो । ती कुनै बुँदा पनि कार्यान्वयनमा आएनन् भनेर यो क्षेत्रका स्थानीय प्रतिनिधिले यो ठाउँमा फोहोर फाल्न रोकेका हुन् । ती निकायले यस्तो चेतावनी दिएका पनि लामो समय भएको थियो तर निकासका लागि मेयर तत्पर नै भएनन् । अन्ततः फोहोर फाल्न नै रोकिएपछि महानगरवासीलाई घरभित्रै फोहोर राख्न आग्रह गर्नतिर लागे । घरभित्र फोहोर थुपार्नु भनेको समाधान थिएन बरु सडकको फोहोर घरभित्र रहने भयो । फोहोर जहाँ रहेपनि त्यसले महामारी नै ल्याउने हो । यो पटक महानगरका प्रमुख यसमा कतिसम्म गैरजिम्मेवार देखिए भने फोहोर व्यवस्थापनका लागि पहल गर्न सरकारको टोली नै सम्बन्धित ठाउँमा पुग्दा उनी कतै देखा नै परेनन् । यो समय भनेको दायित्वबाट भाग्ने होइन स्थानीयसँग वार्ता गरेर, पहिलेका मागहरूप्रति आफ्ना धारणा राखेर, भरपर्दोरूपमा प्रतिबद्धता जनाएर समस्याको समाधान गर्नुपर्ने थियो । त्यस्तो बेला जब मेयर नै देखा पर्दैनन् तर यता आफ्नो सञ्जालमा असान्दर्भिक कुरा लेखिरहन्छन् भने त्यसलाई सामान्य मान्नुहुँदैन ।
यी मेयर आफैँले पनि अब यो कुराको मनन गर्न आवश्यक छ । अहिले उपत्यकाको फोहोर फालिँदै आइएको ओखरपौवाका स्थानीय बासिन्दा मात्र होइन, यी मेयरजस्तै गरी निर्वाचित जनप्रतिनिधिहरू यो बेला विरोधमा उत्रिएका थिए । यसको कारण मेयरले त्यसबेला गरेका १८ बुँदे सहमतिपत्र कार्यान्वयनमा नल्याउनु नै हो । त्यो सम्झौताको पहिलो बुँदा नै कार्यान्वयनमा नआएको भन्ने आरोप छ । बितेको तीन वर्षसम्म यति पनि माग पूरा नहुँदा यो समस्या आएको हो । यसका लागि सम्पूर्ण रुपमा मेयर नै जिम्मेवार छन् । यति ठूलो महानगरको मेयरमा यो कुराको बोध हुनुपर्ने हो । नगरवासीहरूले अपेक्षा गरेको पनि यही जिम्मेवारीबोधकै हो । अब यस्तो कहिल्यै नहोस् । मेयरमा सद्बुद्धि आओस् मात्र होइन, स्थानीय तहको समस्यामा समेत केन्द्र सरकारकै मन्त्रीले गएर समाधान गरिदिनुपर्ने अवस्था नदोहोरियोस् ! यसमा काठमाडौं महानगर जिम्मेवार बनोस् !