काठमाडौं । ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रस्टका पूर्व सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । ६६ वर्षीय कार्की चितवनको भरतपुर महानगरपालिका–१५ निवासी हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार कार्कीलाई नेपाल ट्रस्टका नाममा दर्ता रहेको जग्गा अनियमितरूपमा भाडामा दिएको अभियोगमा पक्राउ गरिएको हो । उनको संलग्नतामा नेपाल ट्रस्टको कार्यालय र थामसेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा ट्रस्टको जग्गा कित्ता नं. ४६०६ बाहेक अर्को कित्ता नं. ४६०५ समेत समेटी बदनियतपूर्वक ३० वर्षका लागि लिजमा दिएको पाइएको छ । उक्त सम्झौतामा बोट मोडलका लागि तीन वर्षको निर्माण अवधि तोकिएको र यो सम्झौता नेपाल ट्रस्टलाई दीर्घकालीनरूपमा हानिकारक हुने गरी २०७४ साल जेठ १४ गते गरिएको अनुसन्धानबाट खुल्न आएको सीआईबीले जनाएको छ । त्यतिबेला ट्रस्टको सचिव अर्जुन कार्की थिए ।
सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल ट्रस्टको जग्गा लिजमा लिने लाभग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिहरुले गैरकानुनी तवरले लाभ लिइ ठगी, आपराधिक विश्वासघात गरेको, उल्लेखित कार्यबाट नेपाल ट्रस्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानिनोक्सानी पु¥याई विभिन्न पद तथा ओहोदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको पाइएको छ ।’ एसएसपी श्रेष्ठका अनुसार कार्कीलाई सोही मुद्दामा पक्राउ गरी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको छ ।