काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले निर्माण कार्य बिथोल्ने प्रयास नगर्न आग्रह गरेको छ । संघले त्रि.वि परिसर कीर्तिपुरमा विद्यार्थीहरूको हुलहुज्जतले निर्माण कार्यस्थलमा प्रवेश गरी निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी एवम् श्रमिकहरूप्रति दुर्व्यवहार गरी निर्माण सामग्रीहरू समेत फाल्ने कार्य गरेको जानकारी दिँदै त्यस्ता कार्य नगर्न आग्रह गरेको हो ।
संघका महासचिव पञ्चबहादुर तामाङ (विजय)ले विज्ञप्ति जारी गरी त्रि.वि. रजिस्ट्रारको कार्यालयद्वारा आह्वान भएको बोलपत्रबमोजिम चमेना गृह भवनको निर्माणसम्बन्धी कार्य भइरहँदा विद्यार्थीहरूबाट यही कात्तिक १७ गते निर्माण श्रमिकहरूमाथि दुव्र्यवहार भएको जानकारी दिएका छन् । पचली भैरव एन्ड मनकामना निर्माण सेवा प्रालिबाट भइरहेको काम बिथोल्ने गरी भएको यस किसिमको हर्कतले निर्माणस्थलको वातावरण बिथोल्ने र निर्माण व्यवसायीलाई आतंकित पार्ने काम भएको विज्ञप्तिमा उल्लेख छ । संघले विज्ञप्तिमार्फत् निर्माण व्यवसायी तथा श्रमिकहरूको जिउधनका सुरक्षा गर्न जोडदार माग गरेको छ । ‘निर्माण व्यवसायीले कबोल गरेको निर्माण कार्य सम्बन्धित कार्यालयसँग समन्वय गरी यथाशक्य छिटोभन्दा छिटो निर्माण कार्य सुरुवात गर्ने वातावरण सिर्जना गर्न र विकासविरोधी तत्वलाई तत्काल कारबाही गरी कानुनी दायरामा लिन संघ जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।