स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन (हिनामिना) आरोपमा फरार रहेका ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। बम्जन भदौ २४ गतेको ‘जेनजी आन्दोलन’को मौका छोपेर काठमाडौँ प्रहरी परिसरको हिरासतबाट फरार भएका थिए। लामो समयदेखि फरार रहेका उनलाई काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट प्रहरीले पक्राउ गरेको हो। सिन्धुलीको दुधौली नगरपालिका–७ निवासी ५४ वर्षीय बम्जन, गीतेन्द्रबाबु राई ‘जीबी’ का जेठान हुन्। बम्जन यसअघि कास्की, पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। उक्त प्रकरणमा अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। गत वर्ष पुस २१ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, बम्जनसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको थियो। प्रहरीले अहिले बम्जनविरुद्ध पूरक अनुसन्धान तयार पार्दैछ। सो अनुसन्धानका आधारमा थप कारबाही अघि बढाइने बताइएको छ।