काठमाडौँ, मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल आउँदो कात्तिक २६ गते नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गर्ने भएका छन्।नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। हालै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भएर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ मा रावल नेतृत्वको अभियानलाई पनि समाहित गर्ने विषयमा केही दिनदेखि छलफल चलिरहेको थियो। सोही क्रममा आइतबार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, र नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवर लगायतले रावलसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा प्रचण्ड र नेपालले रावललाई पार्टीमा सामेल हुन आग्रह गरेका थिए। त्यसमा सकारात्मक प्रतिक्रिया दिँदै रावलले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्न स्वीकृति जनाएका हुन्।पार्टीले रावलसहितका नेताहरूलाई स्वागत गर्न कात्तिक २६ गते साढे १ बजे विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार रावललाई नेपाली कम्युनिष्ट पार्टीको छैठौं वरीयता दिने सहमति भएको छ। वर्तमान संरचनामा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछि रावलको स्थान रहनेछ। सचिवालय तहमा पनि उनलाई समावेश गर्ने तयारी भइरहेको बुझिएको छ। एमाले र माओवादी मिलेर गठन भएको तत्कालीन नेकपाको सचिवालयमा नारायणकाजीसम्म मात्र राखिएको थियो भने, अहिले रावलसम्म सचिवालय विस्तार गर्ने तयारी नयाँ वाम एकताको ‘सन्देश’का रूपमा लिइएको छ।