देशमा कायम रहेका सातमध्ये मधेश प्रदेशमा बेला–बेला रमिता देखिने गरेको छ । भ्रष्टाचारका विषयमा होस् कि अरु कुनै प्रकारको अनियमितता वा असामाजिक मानिने कामहरू । त्यसमा अरुभन्दा मधेश प्रदेश बढी नै चर्चामा आउने गरेको छ । सबैभन्दा पछिल्लो पटक मुख्यमन्त्री नियुक्तिमा त्यस्तो नमूना प्रकट भयो । यो प्रदेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमालेका संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त भए । यो नियुक्तिमा प्रदेश प्रमुखले जस्तो व्यवहार देखाए त्यो पनि नमूना नै थियो । प्रदेश प्रमुखले यी मुख्यमन्त्रीलार्ई बाटोमा हिँड्दाहिँड्दै एउटा होटलभित्र गएर शपथ खुवाए भने त्यसरी शपथ खाएका मन्त्रीको सिफारिसमा बनेका तीन मन्त्रीलाई पनि यसरी नै शपथ खुवाउने काम भयो । तर यता यस्तो शपथ खुवाइएको आधा घण्टा नबित्दै तीनमध्येका एक मन्त्रीलाई उनको दलले तुरुन्तै फिर्ता बोलायो । मिलिजुली सरकार बनाउनुपर्ने अवस्थामा मन्त्रीसमेत थाम्न नसक्ने मुख्यमन्त्रीले एक महिनामा लिनुपर्ने विश्वासको मत कसरी पाउलान् भन्ने यसले शंका खडा गरिदियो ।
यसमा अझ गम्भीर कुरा के हो भने, प्रदेश प्रमुखबाट यी मुख्यमन्त्रीको नियुक्ति र शपथ खुवाउने काम नै गोप्य राखियो । मुख्यमन्त्रीको शपथमा त प्रदेशका सबै राजकीय निकायहरू, सत्ता र विपक्षी दलका उपलब्ध भएसम्मका नेता, उच्चपदस्थ कर्मचारी आदिको उपस्थितिको अपेक्षा हुन्छ तिनलाई शपथको कार्यक्रममा औपचारिकरूपले बोलाइन्छ नै र यस्तो शपथ समारोह उच्च सरकारी कार्यालयमा हुने गर्छ तर यहाँ त्यस्तो भएन । प्रदेश प्रमुख बाटोमा हिँड्दाहिँड्दै एउटा होटलभित्र पसेको केही समयमा नै यस्तो काम सम्पन्न भयो । जब कि यो एउटा उच्च तहको औपचारिक कार्यक्रमका रूपमा सम्पन्न हुनुपर्ने थियो । प्रदेश प्रमुखले पनि यस्तो कार्यक्रमलाई यसको मर्यादाअनुसार सम्पन्न गर्न सकेको देखिएन । औपचारिकरूपले सम्पन्न हुनुपर्ने कार्यक्रम मर्यादाविपरीत भयो भने त्यसले कसरी वैधता पाऊला ? भन्ने प्रश्न पनि उठ्न सक्तछ ।
यो शपथ कार्यक्रम अरुले हेर्दा जति लाजमर्दो प्रकारको भयो त्यसलाई शपथ लिने र दिलाउनेले त्यस्तो मानेको देखिएन । यो पनि एक प्रकारले आपत्तिकै विषय हुन सक्तछ । शपथ लिने मुख्यमन्त्री नै होटलमा गएर शपथग्रहण गर्नुपर्ने अवस्था किन आयो ? भन्ने प्रश्नमा भन्छन्– ‘हिजो मलाई नियुक्ति दिइसकेपछि शपथग्रहणका लागि बोलाउँदा लोसपाका सांसदहरू प्रदेश प्रमुखको कार्यालयको गेटमै धर्ना बस्नुभएको थियो । शपथ खाने बेलामा पनि म किन झगडा गर्न जान्छु ? मलाई एउटा उपयुक्त वातावरण बनाइदिनुपर्यो भन्दा ल हुन्छ हुन्छ भन्दाभन्दै प्रदेश प्रमुखज्यू बिरामी पर्नुभो । उपचारका लागि निस्किएँ भनेर फोन गर्नुभयो । तपाईँले नियुक्ति दिइसकेपछि शपथ पनि त खुवाउनुपर्छ, उभिएरै भए पनि शपथ खुवाएर जानुस्, एक मिनेट भए पनि शपथ खुवाएर जानुस् भनेर अनुरोध गरेका थियौँ । उहाँले ल ठीक छ तपाईँ बर्दिबास आउनुस् भन्नुभयो । त्यसैले बर्दिबासको एउटा होटलमा शपथ खाएका हौँ । उहाँ बिरामी नै हुनुहुन्थ्यो । काठमाडौँ निस्कनुभयो ।’ यो विवरणले अर्थात् भनाइले प्रदेशका मुख्यमन्त्रीको शपथ खुवाउने प्रदेश प्रमुख अस्वस्थ थिए । उपचार गर्न हिँडेको बेला बाटोमा पर्ने होटेलमा गएर यस्सो शपथ दिलाएर त्यहाँबाट हिँडेको भन्ने सम्बन्धित पक्षहरूले नै भनिरहेका छन् भने यो सामान्य कुरा नहुनुपर्ने हो । प्रदेश प्रमुख राष्ट्रपतिप्रति जवाफदेही हुन्छन् । त्यसो हो भने यी प्रदेश प्रमुखमाथि राष्ट्रपतिले नै सोधपुछ गरुन् । यो ठाउँमा प्रदेश प्रमुखले आफ्नो मानमर्यादाको पनि ख्याल गरेको देखिएन । त्यस कारण प्रदेश प्रमुखलाई जवाफदेही बनाउन यी पदाधिकारीलाई प्रस्टीकरण सोधियोस् भन्ने माग हुन थालेको हुनुपर्छ ।