काठमाडौं । भ्रष्टाचारविरुद्धको जेन–जी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारकी महान्यायाधिवक्ता सविता भण्डारी बराल नियुक्ति पाएको दुई महिना नबित्दै भ्रष्टाचार र तस्करीमा मुछिएकी छिन् ।प्रधानमन्त्री कार्कीले उनलाई आफ्नो प्रमुख कानुनी सल्लाहकारका रूपमा नियुक्त गरेकी थिइन् । योसँगै उनी पहिलो महिला महान्याधिवक्ता बनेकी थिइन् । नेपालको प्रथम वकिल कृष्णप्रसाद भण्डारीकी छोरी सविता बराललाई महान्यायाधिवक्ता पदमा नियुक्ति दिएर सरकारले इतिहास रचेको थियो । कार्की सरकारको निर्णयको चौतफी प्रसंशा भएको पनि थियो ।
तर उनी महान्यायाधिवक्ता पदमा नियुक्त भएको दुई महिना नबित्दै किशोरीहरूको डिम्ब चोरी र तस्करी काण्डमा फसेकी छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गत भदौ २७ गते आफू प्रधानमन्त्री नियुक्त भएपछि भदौ २९ गते बराललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन् । महान्यायाधीवक्ता बरालको समेत लगानीमा बबरमहलमा सञ्चालित होप फर्टिलिटी क्लिनिक महाराजगञ्जमा रहेको एन्जल फर्टिलिटी क्लिनिकसँगै किशोरीहरूको डिम्ब चोरी र तस्करीमा संलग्न रहेको आरोप लागेको थियो । होप फर्टिलिटिकी सञ्चालिका डा. प्रत्युषा वराल महान्यायाधिवक्ता बरालकी छोरी हुन् भने अर्की सञ्चालिका डा. स्वस्ती शर्मा उनकी सानीमाकी छोरी हुन् ।
उनी नाताले महान्यायाधिवक्ता बरालकी बहिनी पर्दछिन् । विभिन्न प्रलोभन दिएर १८ वर्षमुनिका कलिला किशोरीहरूको डिम्ब निकालेर निसन्तान महिलाहरूमा प्रत्यारोपण गरेको आरोपमा सीआईबीले गत असार २९ गते होम फर्टिलिटिकी डा. स्वस्ती शर्मासहित असीम अधिकारी मालिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई पक्राउ गरेको थियो र उनीहरूलाई मुद्दा चलाउन सिफारिस गरेको थियो तर महान्याधिवक्ता बरालले गत असोज ३१ गते उनीहरूविरुद्ध मुद्दा नचलाउने निर्णय गराएको कुरा झण्डै एक महिनापछि प्रकाशमा आएसँगै उनी नैतिक संकटमा परेकी छन् । प्रहरी अनुसन्धानले महान्यायाधिवक्ता बराल लगानीकर्ता रहेको होप फर्टिलिटीले कलिला किशोरीहरूको डिम्ब अवैधरूपमा निकालेर अधिकतम २० लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको छ ।