यतिखेर गिरिजा लिगेसी देउवा कांग्रेसका एआई उत्तराधिकारहरु पूर्णबहादुर खड्कादेखि शेखर कोइरालासम्म ‘विशेष अधिवेशन’कि ‘नियमित अधिवेशन’ भन्ने आफैले खनेको नौफिट गहिरो कलहको खाल्डोमा हामफालेका छन् । सात फिट गहिरो खाल्डोमा आफै हात उचालेर उफ्रदा निस्कन सकिन्छ । तर नौ फिट गहिरो खाल्डोबाट निस्कन अरुले हात दिनु पर्ने हुन्छ । अर्कोतर्फ कवि गोपालप्रसाद रिमालको ‘आमा’ कविताको शैलीमा उठेको जेन–जी विद्रोह र आम जनआक्रोशको नवजागरण भने यी एआइ उत्तराधिकारहरुलाई त्यसै खाल्डोमा पुरपार गरिदिन कटिवद्ध देखिएको छ । यस्तोमा डुब्तेको तिनका सहारा भने जस्तो ज्यान जोगाएर सिङ्गापुर पुगेका सभापति देउवा खाल्डोबाट निकालीदिन राजसंस्था (राजा ज्ञानेन्द्र) गुहार्न थालेका समाचार सामाजिक संजालमा भाइरल हुनुलाई पंक्तिकारका दृष्टिमा अस्वाभाविक होइन । तर यहींनेरी तथ्य अर्कै छ । खासगरी नक्कली भूटानी शरणार्थी काण्डमा बेचन झाको गीरफ्तारीले देउवा पत्नी आरजु राणा जेल पुग्ने पक्का भएपछि रातारात विचौलियाको चरणमा लम्पसार परेर खड्ग ओलीलाई प्रधानमन्त्री र जेलपुग्ने स्वास्नीलाई परराष्ट्रमन्त्री बनाए । त्यस यता देउवाको एउटा अन्तरवार्ताको भिडियो अहिलेसम्म पनि सामाजिक संजालमा भाइरल छ । हात हातको मोवाइल मार्फत जनजनको मन मस्तिष्कमा अंकित भइसकेको छ । त्यो अन्तरवार्ता हो लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्शाभित्र पुग्ने महाकाली सन्धीमा हस्ताक्षर गर्न प्रधानमन्त्रीको हैसियतले दिल्ली उड्नु अघि राजा वीरेन्द्रले दरवारमा बोलाएर भनेका थिए – ‘महाकाली सन्धीमा हस्ताक्षर नगर त्यो राष्ट्रघाती छ’ । त्यसमा देउवाको पत्रकारलाई अहंकार र दम्भको उत्तर हुन्छ– ‘म महाकाली सन्धीमा हस्ताक्षर गर्न दिल्ली जाँदैछु, राजाले भनेको कसरी मान्न सक्छु’ । तैपनि त्यतिखेरसम्मको निर्णायक शक्ति त राजानै थिए । राजसंस्था रहँदासम्म लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्शाभित्र पुग्ने सम्भावना थिएन । नेपालका १५ पहाडी जिल्लाका १७ ठाउँमा गाडीएका भारतीय सैनीक क्याम्प (सार्वभौमिकतावन्दक) उखेल्न माओत्सेतुङ (चीन)को बलमा राजा महेन्द्र सफल भएजस्तै राजा बीरेन्द्र (राजसंस्था)ले पनि कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउन चीनको सहायता पाउने सम्भावना थियो । त्यहीकारण राजा वीरेन्द्रको विभत्स हत्या भएको अब त सबै दशीप्रमाण छर्लङ्ग भइसकेको छ । जनआन्दोलन ०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई चितवन भरतपुर विमानस्थलमा गर्दन भाँचेर गिरिजा कांग्रेसबाट लखेटिएको र एमालेका लोकप्रिय नेता मदन भण्डारीलाई हत्या गरेर त्रिशुलीमा फालिएको (डा.रामप्रसाद उप्रेतीको पोष्टमार्टम रिपोर्ट अनुसार भण्डारीको फोक्सोमा एक थोपा पनि पानी थिएन जुन रिपोर्टको फाइल खड्ग ओलीको २४ भाद्रमा जलेको घरमा भेटिएको हल्ला छ) पृष्ठभूमि पनि टनकपुर प्रकरण महाकाली सन्धी नै रहेको अब त प्राइमरी स्कूलसम्म पाठ्यक्रम पुग्न मात्र बाँकी छ । यहाँसम्मको यति विवरण पाठ्यक्रममा ल्याउनुको तात्पर्य के हो भने आफै नौ फिट गहिरो खाडल खनेर त्यसमा हामफालेका देउवाका कांग्रेसका एआई उत्तराधिकारहरुको गुहारबाट द्रवित भएर राजा ज्ञानेन्द्र (राजसंस्था) तिनको उद्धार र तिनले देश बेचेर जनता लुटेर थुपारेको सम्पति जोगाइदिन अग्रसर (सहयात्रा) भएभने आफै पुरिने नौ फिट गहिरो खाडल खन्न उद्यत भएको जस्तो हुने पक्का छ ।हल्का फुल्का अलिकति रोचक घोचक पनि आम पाठकलाई गम्भीर कुरा बुझ्न सरल पनि होस भन्ने शैलीमा यतिकुरा आउनेक्रममा राजसंस्थाको प्रशङ्ग पनि आइहाल्दा आफ्ना केहि साक्षात्कार अध्ययन ठहर प्रस्तुत पाठ्यक्रममा अभिलेख गर्न चाहन्छु । कुरो गिरिजा कांग्रेसले गणतन्त्रमा जाने निर्णय गरेपछि कृष्णप्रसाद भट्टराईले कांग्रेस त्याग्नु भएर गिरिजाको पनि मृत्यु भइसकेपछिको हो ।एकजना हुनुहुन्थ्यो नयन बहादुर खत्री । अहिले त स्वर्गे हुनुभएको पनि दशक पुग्न लागिसक्यो । वि.सं. २००४ सालमा लखनउ विश्वविद्यालयबाट एम ए बीएल् गरेर आइसकेपछि श्री ३ पद्म शमशेरबाट ऐनसवाल फाँटको सुब्बामा नियुक्त हुनुभयो । त्यतिखेर आम जनताले पाउने भनेको सबैभन्दा ठूलो पद त्यही हुन्थ्यो । २००७ सालको परिवर्तन हुँदा तिब्बतमा वकिल (राजदूतलाई वकिल भनिन्थ्यो) हुनुहुन्थ्यो । मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएका बखत अनुरोध गरेर नेपाल फर्किनुभयो र कानुन सचिवमा नियुतिm पाउनु भयो । वि.पी. प्रधानमन्त्री भए पछि दाजिलिङमा वकालत गर्दाका वी.पी.का गुरु हरिप्रसाद श्रेष्ठलाई मुख्य न्यायधिश बनाउँदा श्रेष्ठको सहयोगका लागि न्यायधिश नियुक्ति पाउनुभयो । प्रधान न्यायधिशको अवधी तोक्ने आयोगको अध्यक्ष भएर पाँच वर्षको अवधी तोक्नुभएको नियतिले उहाँलाई नै दसवर्ष प्रधान न्यायधिश हुनुपर्यो । त्यसपछि कालक्रममा चीनका लागि चारवर्ष राजदूत भएर रिटायर जीवन विताइरहनु भएको थियो । ०५७ सालमा गिरिजाले ‘राष्ट्रिय मानव अधिकार आयोग’को संस्थापक अध्यक्षमा लगे । पाँच वर्ष आयोगको अध्यक्ष पूरा भएर फेरि अर्को पाँच वर्षका लागि थपिएको थियो । प्रचण्ड प्रधानमन्त्री भए पछि बर्खास्त गरिदिए । त्यतिखेरसम्म माओवादी अहिलेको जस्तो नाङ्गेझार भइसकेको थिएन । प्रचण्डको राष्ट्रपति बनाउने आस्वासनमा गिरिजा नराम्रोसँग पच्छारिएर कांग्रेसको पतन निश्चित देखिए पछि उहाँमा ‘मेरो जीवन यात्राः अनुभव र अनुभुति’ नामक पुस्तक प्रकाशन गर्ने जाँगर पलाएछ । त्यही जागरले उहाँले मलाई खोज्नुभयो र पुस्तकलाई छरितो, सरल र आम पाठकका लागि पनि पठनीय बनाइदिन सम्पादकको भूमिका दिनुभयो । प्रदिप गिरि, नरहरि आचार्य आदि इत्यादिले कांग्रेस भित्र गणतन्त्रमा जानुपर्ने प्रस्ताव राख्दा मैले बोलेको लेखेको थिएँ कि– ‘दुनीयाँका राजा र हाम्रो राजामा फरक छ । दुनीयाँका राजा आए गए तर देशलाई केहि फरक परेन । तर हाम्रो राजा देश निर्माण गरेर आएका (पृथ्वीनारायण शाह) हुनाले राजसंस्था जाँदा कतै देशै पनि न जाओस’ मेरो यस्तै लेखनबाट प्रभावित भएर आफ्नो पुस्तक सम्पादनका लागि मलाई खोज्नुभएको रहेछ । ‘गिरिजाले राष्ट्रपति हुने लोभमा गणतन्त्रमा गएर ठूलो गल्ती गरे । गिरिजाको त्यस गल्तीबाट कांग्रेस त अपराधमा प¥यो प¥यो, राष्ट्रले पनि अब ठूलो मूल्य चुकाउनु पर्नेछ । राजाले ओगटेको ठाउँमा अब अस्थिरता, अशान्ती र अराजकताले ठाउँ लिनेछ । हिजोसम्म नेपाली राजनीतिका दुईटा केन्द्र दरवार र दिल्ली थियो । विश्वेश्वरलाई दरबारले लखेट्दा दिल्लीको र दिल्लीले लखेट्दा दरबारको शरण लिने सुविधा थियो । दरवार सिध्याएपछि अब एउटा मात्र केन्द्र दिल्ली हुन पुगेको छ । चीन फ्याक्टरले (चीनमा चार वर्ष राजदूत भएको अनुभव) नेपाल जोगिए पशुपतिनाथको आशीर्वाद ठान्छु । होइन भने नेपालको अस्तित्व ठूलो संकटमा पर्ने निश्चित छ’ । ८४ वर्ष उमेर पार भइसकेपछि नयनबहादुर खत्रीले व्यक्त गर्नुभएका उल्लिखित अनुभव र अनुभुति यतिखेर आइपुगेर अक्षरस चरितार्थ भएको छ । मुलुक पूर्णरुपमा अस्थिरता अशान्ती र अराजकताको दलदलमा नराम्रोसँग फसेको छ । राजसंस्था स्थापना भएर विगत ३० वषदेखि कांग्रेस, एमालेलगायतका दलहरुले देश बेचेर जनता लुटेर थुपारेका सम्पत्ति सेनाको बलमा राष्ट्रियकरण गरेर दोहोरो शिक्षा प्रणालीको अन्त्य गरेर स्वास्थ्यमा लुटको व्यापार बन्द न हुँदासम्म देशलाई श्वास फेर्न मुस्किल भइरहने पक्का छ । यो काम जेन–जी पुस्ता या जेन–अल्फा पुस्ताका नामबाट उठ्ने नवजागरणले गर्ने पंक्तिकारलाई पूर्ण विश्वास छ । पुस्तक लोकार्पणको सन्दर्भ पनि प्रतिकात्मकरुपको शिक्षाप्रद हुने ठानेर अलिकति विवरण ल्याउँछु ।सम्पादनक्रममा खत्रीजीले भन्नुभएको थियो– ‘सुवेदीजी मलाई राजनीति त्यति आउँदैन मिलाई दिनुहोला’ । मिलाउने क्रममा ‘आजभन्दा २५ सयवर्ष पहिले ग्रीसमा गणतन्त्र र दाशप्रथा (मानिसको किनबेच) दुबै एकसाथ थियो । आज हामीले गणतन्त्र त ल्यायौं । तर के दास मानसिकताबाट माथि उठेका छौं ?’ जस्ता धेरै प्रशङ्गहरु जोडिदिएको थिए । यसखालको मेरो सम्पादनबाट खत्रीजी अत्यन्त हर्षित र सन्तुष्ट हुनुभयो । भन्नुभयो ‘तपाइलाई लागेका कुरा पनि पुस्तकमा आउनुपर्यो, केहि लेख्नुहोस्’ मैले भने ‘तपाईले दिएको पारिश्रमिकबाट म सन्तुष्ट छु । मेरो सम्पादनबाट तपाई सन्तुष्ट हुनुहुन्छ । लागेका कुराचाहिं लेख्दिन ।’ ‘किन’ ? सोध्नुभयो । मैले भने ‘२००४ सालमा पद्म शमशेरले जागिर दिएको व्यक्तिलाई नै ०५७ सालमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बनाउनु पर्यो भने परिवर्तन कहाँ आयो ? मैले लेख्दा यो प्रश्न पनि गर्नुपर्ने हुन्छ । यस प्रश्नले पुस्तकलाई केहि असजिलो हुनसक्छ’ । एउटा सेतो कागजमा मेरो हस्ताक्षर गराउँदै भन्नुभयो– ‘आ सुवेदीजी, तपाई जे लेख्नुहुन्छ तपाईको हस्ताक्षर स्क्यानिङ गरेर राख्छु’ । नभन्दै आजसम्म प्रकाशमा आएका मेरा दर्जन बढी लेखन र सम्पादन पुस्तकमा खत्रीजीको पुस्तकमा मात्र मेरो हस्ताक्षर स्क्यानिङ भएर अभिलेख छ । पुस्तक लोकार्पणको कुरो उठ्दा ‘राष्ट्रपति रामवरण यादवबाट गराउँछु’ भन्नुभयो । मैले भने ‘हेर्नुहोस् खत्रीजी कन्टेनरको छेउमा उभिएपछि जिउमा फोहोर पर्यो भन्न पाइँदैन । राष्ट्रपति भनेको अहिलेको हाम्रो राष्ट्रिय राजनीतिको कन्टेनर हो । किन आफ्नो यति पवित्र इतिहासमा दाग लगाउन चाहनुहुन्छ ?’ उहाँले भन्नुभयो ‘तपाईले कुरो त ठिकै गर्नुभयो । तर राजा हटिसके । गिरिजा मरिसके (गिरिजाले नै उहाँलाई मानव अधिकार आयोगमा लगेका थिए) । ‘को बाट गराउँ त ?’ मैले भने– राष्ट्रपतिबाट होइन । राष्ट्रकविबाट’ मेरो प्रस्तावबाट गदगद हुनुभयो र राष्ट्रकवि माधव घिमिरेबाटै पुस्तक लोकार्पण भयो । लोकार्पण वक्तव्यका क्रममा राष्ट्रकविबाट ग्रीसको प्रशङ्गलाई मुरीमुरी प्रशंसा गरेको पाउँदा पंक्तिकारलाई नवजागरणको झिल्को अनुभूति भएको थियो । अस्तु ।