काठमाडौं । नेपालको खेल पर्यटन प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन–२ प्रबर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान)सँग समझदारी गरेको छ ।
सम्झौता अनुसार, बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्नेछ । छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित भएको एनपीएल–२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुची राख्ने पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ । बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई नेपालमा अन्तर्राष्ट्रिय स्तरका इभेन्ट आयोजना गर्नसक्ने प्रमुख खेलका रूपमा लिइएको छ । एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा गरिएको छ । एनपीएल–२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस्बाट गरिने भएको छ । जसले गर्दा विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि– विशेषगरी एनपीएल–२ ले खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए । यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने उनको भनाइ छ । उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरे । अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर, तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्व–स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटनका अवसरहरू विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्टस् टुरिजम डेस्टिनेसन’का रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।