नयाँ प्रहरीमहानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीको यसपटक कांग्रेस, एमाले, माओवादी (देउवा, ओली, प्रचण्ड) को कुनै भागवण्डा किनबेच वेगर नियमसंगत ढङ्गले रोलक्रम अनुसार नै नियुक्ति भएको समाचारबाट मनमा अलिकति आशाको न्यानो झिल्को आभाष भएको छ । विगत दिनहरुमा सात करोडदेखि १४ करोडसम्म भागबन्डा पुर्याउन नसक्दा रोलक्रममा आफ्नो पालो आउँदा पनि नियुक्ति पाउन नसकेर अदालत धाउँदै रिटायर भएका कतिपय अतिरिक्त महानिरीक्षकहरुका खुलासा (भण्डाफोर) सबैलाई जानकारी छँदैछ । यसरी जीन्दगीभरको कमाइ नेता (प्रधानमन्त्री गृहमन्त्री)लाई बुझाएर नियुक्ति पाएका महानिरीक्षकबाट शान्ति सुरक्षा र सुशासनमा आशाको न्यानो झिल्को आभाष सम्भावना हुन्नथियो ।
यहाँ म ‘आशाको न्यानो झिल्को आभाष’ किन भनिरहेको छु भने देशको शान्ति सुरक्षा र सुशासनमा प्रहरीशक्तिको कत्रो ठूलो निर्णायक भूमिका हुन्छ भन्ने तथ्यको मलाई लामो साक्षात्कार अनुभव छ । वि.सं. २०२५ साल वी.पी. जेलबाट छुट्नु भएदेखि कांग्रेस भएर फाँसी या जन्मकैद हुने राजकाज मुद्दामा सात वर्ष जेलजीवन झेलेर ०४६ सालको आन्दोलनसम्म वी.पी., गणेशमान, कृष्णप्रसाद भट्टराई, सी.के प्रसाइँ सँगसँगै काँधमा काँध मिलाएर आन्दोलनका हरेक चरणमा प्रहरीशक्तिसँग नै पौठेजोरीमा समय बितेको हुनाले साक्षात्कार अनुभव बटुल्ने अवसर पाएको हुुँ र, त्यतिखेरको प्रहरी शक्तिको देशभक्ति प्रतिको कर्तव्य परायणतामा पुरा आशा र भरोषा राख्न सकिने किटेर भन्न सक्छु ।
यद्यपि आजको मितिको आशा र भरोषाको न्यानो झिल्को अकबर बीरबलको ‘खिचडी’ कथामा माघको महिनामा पोखरीमा घाँटीसम्म डुबेर रात बिताउँदा जुनको उज्यालोबाट पाएको न्यानो जस्तो मात्रै हुने सम्भावना पनि छ । किनभने आजका मितिका प्रहरीमहानिरीक्षकले देशभक्तिपूर्ण कर्तव्य परायणतामा खरो उत्रिएर शान्ति सुरक्षा र सुशासनमा भूमिका निर्वाह गर्न खोज्दा चौतर्फी असहयोग र अवरोध मात्र सामना गर्नुपर्नेछ । आजका महानिरीक्षकले प्राकृतिक न्यायको सिद्धान्त र मुलुकमा विद्यमान संविधान, कानुनअनुसार शान्ति सुरक्षा र सुशासनमा काम गर्न खोज्दा आफूभित्र वास गर्नुभएका भगवान् बाहेक कतै र कोइबाट पनि साथ र सहयोग पाउने अवस्था छैन ।
हालका राष्ट्रपति रामचन्द्र पौडेलका विरुद्ध किर्ते हस्ताक्षर र आर्थिक घोटालाको मुद्दा लिएर वरिष्ठ वकिल ध्रुवलाल श्रेष्ठ र स्वागत नेपाल अदालत र अख्तियार पुगेका छन् । सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म प्राय ः न्यायाधीशहरु पार्टीहरुका झोले कार्यकर्ताहरु भर्ति भएका कतै लुकेको छैन । एमाले अध्यक्ष खड्ग ओलीका झोले परिभाषित भएका अख्तियार प्रमुख प्रेम राई नै नक्कली भुटानी शरणार्थी (मानव तस्करी) काण्डमा मुछिएका भनेर चर्चित छन् । प्रहरीले प्रमाण जुटाएर मुद्दा अभियोजन गर्ने जिम्मेवारीको महान्यायधिवक्ता कार्यालयकी सविता भण्डारीलाई दिएकोद छ जो, किशोरीहरुको डिम्ब चोरी तस्करीमा मुछिएकी भनेर समाचार भाइरल छ । हाल प्रधानमन्त्रीको कुर्सीमा पुगेकी सुशीला कार्की नै उनी प्रधान न्यायाधीशको कुर्सीमा रहँदा कांग्रेसका रमेश लेखक र माओवादीका वर्षमान पुनसँग सेटिङ गरेर कांग्रेसका ४० जना र माओवादीका ४० जना गरेर ८० जना पार्टीका झोलेहरुलाई न्यायाधीशमा नियुक्ति दिएकी, सुडान घोटाला सर्जु जलाधारको फैसला दशी प्रमाणले पुष्टी समाचार हो । त्यतिखेर उनले न्यायाधीशमा नियुक्ति पाएकी नै कांग्रेसका शेरबहादुर देउवाबाट प्रदिप गिरि र माओवादीका प्रचण्डबाट दुर्गा सुवेदी (रअको सहयोगमा प्लेन अपहरणका नायक र स्वयं सुशीलाका पति) को लविङले भन्ने लुकेको तथ्य होइन । हाल उनी प्रधानमन्त्रीमा नियुक्ति भएकी नै कुनै संवैधानिक आधार छैन । किर्ते हस्ताक्षर र आर्थिक घोटालाको मुद्दा खेपिरहेका राष्ट्रपतिबाट आवश्यकताको सिद्धान्त फलाक्दै किर्ते जुक्तिले प्रधानमन्त्री नियुक्ति भनेर सर्वोच्चमा मुद्दा दर्ता छ । अदालतका सबै ठूला मुद्दा सेटिङ र किनबेचको आधारमा फैसला आउने गरेका भनेर त बारएसोसियनका अध्यक्ष भएका शम्भु थापाले पत्रकार सम्मेलन गरेरै खुलासा गरिदिएका हुन् ।
मुलुकको राज्यसत्ताको सबैभन्दा माथिल्लो जिम्मेवारी पाएको पद राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको यस्तो चिनारी स्थापित छ भने यस्तो पृष्ठभूमिमा एउटा कर्तव्य परायण प्रहरीमहानिरीक्षकले शान्ति सुरक्षा र सुशासनको लागि इमान्दारी पूर्वक काम गर्न आफू भित्रको भगवान (पशुपतिनाथ) बाहेक कतैबाट पनि साथ र सहयोग पाउने सम्भावना छैन ।
सुडान घोटालामा गृहमन्त्री जोगाउन प्रहरीमहानिरीक्षकहरु जेल जानु पर्ने र गृहमन्त्री भएको नेताले भारतीय दूतावास गएर कसलाई प्रहरीमहानिरीक्षक बनाऊँ? भनेर सोध्नुपर्ने लिगेसनको उत्तराधिकार हुन आइपुगेका नव नियुक्त कार्कीलाई भागबण्डा, किनबेच र सेटिङको आधारमा नियुक्ति पाएको भए अह्राएको काम गर्न कुनै अप्ठेरो हुन्नथियो होला । तर , संविधान, नियम कानुन र प्राकृतिक न्यायको सिद्धान्तले दिएको भूमिका स्वायत्तपूर्वक निर्वाह गर्न भने धेरै ठूलो चुनौति छ । त्यही चुनौतिलाई सामना गरेर अगाडि बढ्न सक्नुलाई नै मैले ‘देश भक्तिको ठूलो अवसर’ भनेको हुँ ।
आफूभित्र वास गर्नुभएका भगवानलाई साँची राखेर गत भाद्र २३–२४ का ७६ सहिदले उठाएका नवजागरणको कसम खाएर आईजीपी कार्कीले नेपालआमाको यतिखेरको संकट र दुर्दशालाई कम गरेर राहत पुर्याउन कम्मर कसेर आँट गर्ने हो भने अगाडि बढ्नलाई राजमार्गमा रातो कार्पेट ओछ्याएर स्वागत हुने मैले चाहिं प्रष्ट देखिरहेको छु । जनता, राजसंस्था र सेनाले सम्पूर्ण शक्ति लगाएर साथ दिने प्रष्ट देखिएपछि राष्ट्रपति, प्रधानमन्त्री, अदालत, अख्तियार, राजनीतिक दलहरुले जतिसुकै कोशिस गरे पनि भाँजो हालेर अवरोध पुर्याउन सिन्को पनि भाँच्न नसक्ने ७६ सहिदको नवजागरणबाट छर्लङ्ग भइसकेको छ । एउटै मात्र बाधा र अवरोध भनेको विगत ३० वर्षको अवधीमा कांग्रेस, एमाले, माओवादीलगायतका दलहरुले देश बेचेर , जनता लुटेर थुपारेको सम्पत्तिको शक्ति हो । खड्ग ओलीले हालै शक्ति प्रदर्शन गर्नखोज्दा मासुभात, बियर र पेट्रोलको कुपन बाँडेको दशौँ प्रमाणबाट यो तथ्य पुष्टी हुन्छ । देउवा, प्रचण्ड पनि ओली ड्याङकै मुला हुन् । पानी वाड्न गएकोले मन्त्री वाड्न थालेको वर्तमान सुशीला सरकारले निम्त्याइरहेको अस्थिरता, अशान्ति, द्वन्द्वको अराजकताबाट देशले चाडै मुक्ति पाउनु अपरिहार्य भएको छ ।
राजनीतिक दलहरुको साँचो शक्ति भनेको उसको विचारमा हुन्छ । प्राण गएको मानिस र विचार हराएको दलको समयमै अन्त्येष्ठी नहुँदा रोग फैलिन थाल्छ । एउटा अन्तर्राष्ट्रिय सर्वे रिपोर्ट अनुसार यतिखेर नेपालको राज्यसत्तालाई ११ हजार गुण्डा नाइकेहरु (दिपक खड्का, गगन थापा, महेश बस्नेत, वर्षमान पुन, शक्ति बस्नेत, शंकर पोखरेल आदि इत्यादि)ले पूर्णरुपमा क्याप्चर गरेका छन् । गाउँपालिका, नगरपालिका, प्रदेशसभादेखि संघीय संसदसम्म तिनै गुण्डाहरुको हाली मुहाली छ । यतिखेर तिनीहरुकै देश लुट्ने, जनता लखेट्ने (८० लाख बढी बलिया पाखुरी जनसंख्या विदेशमा कामदार) एकसूत्रीय मनपरितन्त्र, लुटतन्त्र चलिरहेको छ । यी सबै तथ्य अब आम जनता, सेना र राजसंस्था समक्ष छर्लङ्ग भइसकेको छ । देउवा, ओली, प्रचण्डको गत भाद्र २४ को हालतदेखि जानीसकेपछि पनि आफू भित्र रहनुभएका भगवानको निर्देशन आदेश थाहा न पाउनु ‘विवेकहीन पशु समान’ हुनु हो ।
यही तथ्यलाई साक्षी राखेर मैले नवनियुक्त आईजीपीलाई आफूभित्र वास गर्नुभएका भगवानको आदेश पालना गर्नुहोस्, देशभक्तिको ठूलो अवसर जुरेको, भाग्यले साथ दिएको भनेको हुँ । गृहमन्त्री र प्रधानमन्त्री जोगाउन प्रहरी महानिरिक्षकले जेल जानुपर्ने दिन अब इतिहासको कुरो भइसकेको छ । डलर किसान र भारुखेतिका प्राडाहरु, पत्रकारहरु, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा आदि इत्यादि राजनीतिक विष्लेशकहरुले भूराजनीतिक चपेटाको जुन डम्फु बजाइरहेका छन् त्यो सबै झाँक्रीका अगाडि बोक्सीको वकाइ भन्ने सेना र राजसंस्थालाई पनि छर्लङ्ग थाहा भइसकेको छ । अब चीन, भारत, रुस कुनैपनि हालतमा नेपालमा सुशासन, शान्ति र विकाशका लागि प्रतिवद्ध भइसकेका छन् । उनीहरुको यो प्रतिवद्धता नेपालका लागि मात्र न भएर उनीहरुका लागि पनि अपरिहार्य बाध्यता भइसकेको छ । पानी बाँड्न गएकोले मन्त्री बाँड्न थालेको नेपालको वर्तमान सरकार चीन भारतका लागि पनि टाउको दुखाइको विषय भएको रुसलाई पनि छर्लङ्ग भइसकेको छ । यति कुरा बुझेपछि भूराजनीतिक चपेटाको कुनै वकवकको केहि अर्थ छैन भन्ने पनि छर्लङ्ग भइहाल्छ ।
काम कहाँबाट थाल्ने र कहाँ अन्त्य गर्ने भन्ने सन्दर्भमा अमेरिका र चीनका दुईवटा उदाहरणहरु छन् । अमेरिकाका राष्ट्रपनि वाराक ओवामाले आफ्नो राष्ट्रपतिको उम्मेदवारी दिंदा स्वीसबैंकमा थुपारिएको कालो धन फिर्ता ल्याउँछु भन्ने वाचा गरेका थिए । त्यही वाचाले उनी राष्ट्रपतिमा विजयी भएर आफ्नो वाचा पुरा पनि गरे । यो अलि पुरानो उदाहरण हो । चीनको हालैको उदाहरण चीनीयाँ कम्युनिष्ट पार्टीका ठूलै नेता हाम्रो यहाँको संघीय प्रदेशको मुख्यमन्त्री जस्तै नेताले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको प्रमाणित भएपछि राष्ट्रपति सि जिनपिङले फाँसीमा झुन्डाइदिए । हामीकहाँ फाँसी दिने कानुन नभए पनि आजीवन जेल कोचेर श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरेर आजभोलिनै ७५ लाख जनताका राजनीतिको आडमा गुण्डाहरुले लुटेका खर्बौं (अनुमानित चार खर्ब) रकम फिर्ता त गर्न सकिन्छ । यस्ता देश बेचेर (महाकालीसन्धीदेखि एमसीसी पाससम्म) र जनता लुटेर थुपारिएका राष्ट्रिय सम्पत्ति हिनामिनाका सयकडौं कान्डका फाइलहरु दसी प्रमाण साक्षीवयान सहिद वरिष्ठ वकिलहरु डा. ध्रवलाल श्रेष्ठ, स्वागत नेपाल, हरि कट्टेल, युवराज कोइराला आदि इत्यादि देशभक्त महानुभावहरुले सबै फाइलहरु अभिलेख गर्नुभएको छ । अस्तु ।