समग्र देशको अवस्थाको पहिचान गराउने भनेको नै राजनीति र अर्थतन्त्र हुन् । राजनीति शासन प्रणालीसँग सम्बन्धित हुन्छ भने अर्थतन्त्रले देशको आर्थिक अवस्था एवं जनताको जीवनस्तरसँग सम्बन्धित हुन्छ । राजनीति यस्तो नीति हो जसले समाजका हरेक इकाइसँग जोडिएको हुन्छ । त्यस्तै गरेर देशको अर्थतन्त्र जनताको जीवनस्तर उकास्ने कार्यसँग सम्बन्धित हुन्छ । मूलतः यी दुई प्रणालीबाट नै राज्य सन्चालन भएको हुन्छ ।
नीतिमा सर्वश्रेष्ठ राजनीति हो । राजनीतिबाट नै अन्य नीतिहरु निःसृत हुन्छन् । यस अर्थमा समुन्नत विकासको लागि राजनीतिको महत्वपूर्ण भूमिका हुन्छ । तर, अहिले राजनीतिले भूमिका निभाउन नसकेको हुनाले सबै नीतिहरु खल्बलिएका अवस्थामा देखिन्छन् । राजनीति जनताउन्मुख हुनुपर्नेमा दलगत र व्यक्ति केन्द्रित हुनगएको छ । यसले गर्दा स्वार्थगत भावनाको विकास भएको अवस्था छ । जहाँ स्वार्थ केन्द्रित गतिविधि फस्टाउँछन् त्यहाँ अनियमित काम भएका हुन्छन् ।
देशले विश्वमा नै उत्कृष्ट ठानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाएको छ । यो शासकीय प्रणाली ल्याउन देशले धेरै मूल्य तिरेको छ । लामो संघर्ष र क्षति बेहोरेर ल्याएको गणतन्त्र बाँदरको हातको नरिवल जस्तो हुन पुगेको छ । राज्यको शासन प्रणाली चटकेले देखाउने खेल जस्तो बन्न पुगेको छ ।
देशका ठूला दुई दल साझेदारी गरेर सत्तामा पुगेका थिए । ठूला दई सत्तामा पुग्दा देशले राम्रो विकास गर्नु पर्ने थियो । तर, देशले विकास लिन सकेन । अलि अलि भएको विकास पनि हामी आफुले गरेको होइन । अरुले गरिदिएको विकास हो । एकैछिन् हामी खुला दिलले विचार गरौँ त हामीले के गर्यौँ ? जनतालाई कति सुख दियौँ ? देशको विकास कति गर्यौँ ? जनताको जीवनस्तरमा कति सुधार गर्यौँ ? यस्ता प्रश्नहरु अनुत्तरित नै छन् ।
वास्तवमा भन्ने हो भने राजनीतिले जनताको लागि केही गर्न सकेको छैन र राजनीति, राजनीति गर्नेको लागि मात्र भएको देखिन्छ । भनिन्छ, राजनीति धनीको लागि हो । अरुले राजनीतिमा सहभागी हुन सक्ने अवस्था नै छैन । यसको अर्थ राजनीति ज्यादै महंगो हुन गएको छ । कुनै पनि तहमा निर्वाचित हुन करोडौँ रुपैयाँ खर्च गर्नु पर्दछ । जोसँग अकुत सम्पति छ उसैले निर्वाचन जितेको हुन्छ । जो सक्षम छ र जो जनताको प्रिय छ उसले निर्वाचनमा सहभागि नै हुन सक्दैन । किनभने उसँग पैसा छैन । कतिपय राजनीतिकर्ताले दलले टिकट दिँदा पनि अस्वीकार गरेका समाचारहरु आएका थिए । निर्वाचनको लागि अकुत पैसा चाहिने पैसा नभए पछि निर्वाचनमा उम्मेदवार हुनुको के अर्थ भयो र ? यसरी पैसाले जित्ने निर्वाचनले पीँधमा रहेका जनतालाई छुनै नसकेको अहिले राजनीति प्रणालीमा धेरै सुधारको आवश्यकता देखिन्छ ।
अहिले राजनीतिलाई व्यवसायको रुपमा लिइएको छ । जनतामुखी नभइ पेशामुखी भएको राजनीतिले राजनीतिकर्ताको अवस्थामा मात्र सुधार ल्याउने भयो । जनताको जीवनस्तरमा कुनै सुधार नल्याउने भएकाले गरिबी बढ्दै गएको छ । अर्को तर्फ इमान्दारीका साथ भन्ने हो भने राजनीति गर्नेहरु धनी हुँदै गएका देखिन्छन् । यो कुरालाई कसैले पनि अन्यथा भन्न सक्दैन । सबैको आँखा अगाडि छर्लङ नै छ ।
जहाँ राजनीतिमा अपराधीकरण र अपराधीकरणमा राजनीति हुन्छ त्यहाँ हुने भनेको नै जनताले दुःख पाउने मात्र हो । अहिले नेपालमा यही भइरहेको छ । पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, उच्च प्रशासक, उच्च अधिकृत, उच्च प्रहरी जस्ता जो देश निर्माण र जनतालाई सेवा उपलब्ध गराउन जिम्मेवारी लिएका हुन्छन् , उनीहरु नै ठूला ठूला गम्भीर आरोपमा मुछिएका छन् । जिम्मेवार राजनीति र प्रशासनिक व्यक्तिहरुबाटै हुने यस्ता क्रियाकलापले गर्दा हाम्रो राजनीतिमा सुधार आउँछ भन्न सकिँदैन ।
राजनीति अपराधसँग मात्र जोडिएको छैन । भ्रष्टाचारसँग पनि त्यत्तिकै जोडिएको देखिन्छ । देशलाई नै डुबाउने गरी भएका भ्रष्टाचारका काण्डहरुको नालीबेली केलाउनै पर्दैन । सबैलाई थाहा भएकै विषय हो । राजनीतिले भावी पुस्तालाई राम्रो बाटो देखाउनु पर्नेमा त्यस्तो भएको छैन । राजनीति गर्ने भनेको नै सम्पत्ति आर्जन गर्ने व्यवसाय हो भन्ने सन्देश युवा पुस्तामा प्रवाह भएको देखिन्छ । यस किसिमको सन्देशले वर्तमान अवस्था मात्र खराब हुने होइन कि पछि आउने पुस्ता पनि खराब हुनसक्ने वातावरण निर्माण हुँदै गएको अवस्था छ । वर्तमान अवस्था त यसै बिग्रियो पछिको अवस्था पनि बिग्रिन सक्ने कस्तो राजनीतिक संस्कारको विकास हुने हो भन्ने चिन्ता सबैमा आएको अवस्था छ ।
देशको अर्थतन्त्र पनि शिथिल अवस्थामा गुज्रिरहेको छ । बजेट तर्जुमाको अवस्थादेखि नै स्वार्थ हुने गरेको छ । सत्ता, शक्ति र पहुँचको आधारमा बजेट निर्माण हुने गरेको कुरा सबैलाई थाहा भएकै छ । त्यसैले गर्दा बजेट तर्जुमाको अवस्थामा नेता तथा कार्यकर्ताको सिंहदरबारमा भिड हुने गर्दछ । आफ्नो क्षेत्रमा जतिसक्यो धेरै बजेट लैजाने नेताहरुमा एक प्रकारको प्रतिस्पर्धा नै हुने गरेको छ ।
देशको राजनीति सञ्चालनकर्ताहरु नै स्वार्थी हुन पुगे । राष्ट्रिय स्वार्थ भन्दा व्यक्तिगत स्वार्थमा राजनीति केन्द्रित हुन पुग्यो । जसरी भए पनि राजनीतिबाट फाइदा लिने हो ा सत्तामा पुगेपछि जे गरेपनि हुन्छ भन्ने नेता तथा कार्यकर्ताच एक प्रकारको भावना आउन थाल्यो । यसै कारणले गर्दा देशमा भ्रष्टाचार बढ्दै गयो । सीमित मानिस धेरै धनी भए, धेरै मानिस झन् झन् गरिब बन्दै गए । परिणाम स्वरुप देश स्वभावैले गरिब भनेर चिनिएको अवस्था छ । देशको ऊर्जाशील जनशक्ति निर्यात गरेर विप्रेषणको रकमले देशको अर्थतन्त्र धानिएको छ । राष्ट्रिय बजेटको हाराहारीमा विप्रेषण आउने गरेको छ । २६ खर्बभन्दा बढी राज्यको ऋण पुगेको छ । प्रत्येक नेपालीको भागमा एक लाख ऋण पुगेको छ । ऋण धेरै भएको हुनाले साँवा व्याज भुक्तानीमा ठूलो रकम विनियोजन गर्नुपरेको छ । नेता तथा कार्यकर्तालाई रिझाएर निर्वाचनमा प्रभाव पार्न वितरणमुखी बजेट प्रणालीको विकास गरिएको छ । सरकारले प्राप्त गर्ने राजस्वले लक्ष्य हाँसिल गर्न सकेको छैन । पुँजीगत बजेट खर्चले लक्ष्य प्राप्त गर्न सकेको हुँदैन भने चालुगत खर्च जति विनियोजन भएको छ सबै खर्च हुने गरेको छ । यसरी नेपालको अर्थतन्त्र एकदम कमजोर हुँदै गएको छ । यसरी नै अर्थतन्त्र खस्कदै जाने हो भने देशले ठूलो आर्थिक संकट बेहोर्नुपर्ने हुन सक्दछ ।
देशको विकास कहिल्यै नहुने, अर्थतन्त्र कमजोर हुँदैजाने र राजनीतिक नेतृत्व तथा कार्यकर्ता यसैमा रमाउँदा देशमा भ्रष्टाचार, बेथिति , कुशासन बढ्दै गयो । नक्कली भुटानी शरणार्थी, ललिता निवास, पतञ्जली , गिरिबन्धु टी स्टेट, ओम्नी आदि काण्डैकाण्डमा उच्च राजनीतिक नेतृत्व संलग्नता देखियो र उनीहरुलाई चोख्याउने गरियो । राजनीति यति घिनलाग्दो र लाजमर्दो भएको छ कि विदेशी लगानीकर्ता पनि नेपालमा बढ्दै गएको भ्रष्टाचारले गर्दा लगानी गर्न चाहिरहेका छैनन् । नेपाल भ्रष्टाचार गर्ने मुलुक हो भनेर चिनीन पुग्यो ।
नेपालको यस्तो अवस्था देखेर नै अहिलेको जेन–जी भनिने नयाँ पुस्ताले आन्दोलन गरेको हो । २८ वर्ष मुनीका यो पुस्ता यति निडर, आँटिलो, शक्तिशाली र जोसिलो रहेछ कि दुई दिन भित्रमा नै सत्ताबाट लखेटीदियो । ठूला दल भनिने जो वर्षौँदेखि देशको शासन कब्जा गरी आएका थिए अहिले उनीहरु सबै भागेको अवस्था छ । उनीहरुका महलहरु आगजनी भएका छन् । नातागोता तथा परिवारजनसमेत जनताको आँखाको तारो बनेका छन् । नेताहरुले गरेका भ्रष्टाचार र राष्ट्रहित विपरितका कार्यहरु देखेर नै यो युवा पुस्ता जेन–जीले उनीहरुको घर तथा सम्पत्ति आगजनी गरे ।
जेन–जीको मागअनुसार नै प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपतिबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । न्याय क्षेत्रमा उनी निडर र हक्की स्वभावकी ठानिन्छिन् । त्यसैले जेन–जीहरुले पनि उनीलाई स्वीकारेका हुन् । जेन–जी आफ्ना माग पुरा हुने विश्वासमा रहेका छन् । उनीहरुको माग मूलतः देशमा भ्रष्टाचार, नातावाद, कृपावाद, बेथिति, कुशासन जस्ता कुराहरु विरुद्ध लड्नु हो र आन्दोलनको एजेन्डा पनि यिनै हुन् । भ्रष्टाचारीहरुलाई जवसम्म न्यायको कठघरानामा उभ्याउन सकिँदैन तवसम्म नेपाली जनताले दुःख पाउने नै हुन् भन्ने जेन–जीको भनाइ रहेको र यसैका लागि जेन–जीले आन्दोलन गरेकोे अवस्था हो ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको हुनाले यसको विरोधमा जेन–जी पुस्ता आन्दोलनमा अघि बढेको थियो । उनीहरुको सानो माग सरकारले पुरा नगरेर बलमिच्याइ गरेको हुनाले नै आज भ्रष्ट नेताहरुको यो दुर्दशा भएको हो । अहिले केन्द्रीय सचिवालय र सर्वोच्च अदालत मात्र जलेको छैन । अन्य कतिपय सरकारी संरचना तथा भवनहरु जले । देशमा भएको भ्रष्टाचार र भ्रष्टाचारी नेताहरुको बारेमा संसारभर समाचार प्रशारित भएका छन् । यसता समाचारहरुले स्वाभीमानी नेपाली जनतालाई चोट पुग्नु स्वाभाविकै हो ।
अहिले प्रतिनिधिसभा विघटन भएको छ र आगामी फाल्गुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेको छ । छोटो अवधि र विशेष परिस्थिति सिर्जना भएको अवस्थामा निर्वाचन गराउन असंभव नभए पनि चुनौती भने प्रशस्त देखिन्छन्् । दलहरुले निर्वाचनमा भाग लिने भन्ने कुरामा पनि विश्वस्त हुन सकिने देखिँदैन । भर्खर सत्ताबाट बाहिरिनुको पीडा र निर्वाचनमा पनि अपेक्षित उपलब्धि प्राप्त हुने संभावना न्यून भएको कारणले गर्दा दलहरु सकारात्मक हुन्छन् भन्ने कुरामा विश्वस्त हुन सकिँदैन । त्यसकारण देशको राजनीति, अर्थतन्त्र र जेन–जीको आन्दोलन कसरी अघि बढ्छ केही अनुमान गर्न सकिन्न ।