काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यमी विकास समितिले निःशुल्क स्तन तथा पाठेघरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
समितिले नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ, लायन्स क्लब अफ काठमाडौं सेन्टरसँगको सहकार्य तथा क्यान्सर सेन्टर ललितपुरको प्राविधिक सहयोगमा कन्या विद्याश्रम मावि डिल्लिबजारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरमार्फत १५० जना महिलाहरूको स्वास्थ्य परीक्षण—स्तन क्यान्सर, पाठेघर क्यान्सर तथा अन्य स्त्रीरोगसम्बन्धी समस्याको निःशुल्क जाँच गरिएको महासंघको महिला समिति सभापति कमला श्रेष्ठले जानकारी दिइन् । शिविरमा नेपाल क्यान्सर हस्पिटल भक्तपुरका डा.मुरारीमान श्रेष्ठ, डा. अनुशा शर्मा र डा. सुनिता श्रेष्ठसहितका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो । सो अवसरमा डा. मुरारीमान श्रेष्ठले क्यान्सरबारे सचेतना फैलाउन यस्ता जनचेतनामूलक कार्यक्रम तथा शिविर महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महिला स्वास्थ्यको संवेदनशील विषयमा संघका तर्फबाट गरिएको यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमले महिलाको जीवनस्तर र स्वास्थ्य सचेतनामा ठोस योगदान पु¥याउने बताए । महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला स्वास्थ्यमा केन्द्रित कार्यक्रमले समुदायस्तरमा क्यान्सर रोग प्रति सचेतना बढाउने र प्रारम्भिक पहिचानलाई प्रभावकारी बनाउने बताइन् ।