काठमाडौं । नेपालका विभिन्न विद्यालयहरुका २६ जना शिक्षकहरूको टोली थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डको धाम्मकया फाउन्डेसनद्वारा २७ नोबेम्बरदेखि १९ डिसेम्बर २०२५ सम्म आयोजना गरिएको युनिभर्सल गुडनेस फाइभ (यूजी५) सम्बन्धी तालिममा भाग लिन उनीहरु बुधबार बैंकक गएका हुन् ।
तालिममा काठमाडौ.को गोकर्णेश्वर नगरपालिकाका विभिन्न विद्यालयबाट ११ जना, रसुवाको कालिका गाउँपालिकाका विभिन्न विद्यालयबाट पाँच जना र सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका विभिन्न विद्यालयबाट १० जना गरि २६ जना शिक्षकहरूले सो तालिम कार्यक्रममा भाग लिने छन् । नेपालका स्थानीय निकायहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनसम्बन्धी सेवा प्रदान गर्ने परामर्शदाता संस्था माओमी कन्सलटिङ सर्भिसको समन्वयमा आयोजना गरिएको सो तालिम कार्यक्रमको बैंककमा हुने सम्पूर्ण खर्च आयोजकले व्यहोर्नेछ । तालिममा भाग लिन जाने शिक्षकहरूलाई त्रिभुवन विमानस्थलमा प्रतिनिधिसभाका निवर्तमान संघीय सदस्य राजन दाहाल, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान, सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहरा, माओमी कन्सलटिङ सर्भिसका कार्यकारी निर्देशक राकेश महर्जन र ईसीडी विज्ञ सबिता खनालले बिदाइ गरेका थिए ।
यसअघि धादिङको खनियाबास गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका विद्यालयहरूका शिक्षकहरूले पनि यस तालिममा भाग लिइसकेका छन । यस तालिमले शिक्षकहरूको र विद्यालयहरूको क्षमता विकासमा योगदान पुग्न जाने विश्वास लिईएको छ ।