मानिस जति शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छ, उसले त्यति नै प्रभावकारी रूपमा काम गर्न सक्छ । जीवन अमूल्य छ, एक पटक पाएको स्वस्थ जीवनलाई हामीले ऐत्तिकै फाल्नु हुँदैन । जीवन रहे पो संसार देख्न पाइन्छ । जीवन नै अस्वस्थ भएमा न त संसार, न काम, न घर, न परिवार । स्वास्थ्यलाई जीवनको पहिलो प्राथमिकतामा राख्दा कार्यक्षमता बढ्छ, निर्णय क्षमता सुधारिन्छ, ध्यान केन्द्रित हुन्छ र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । स्वस्थ रहन विभिन्न उपायहरूको पालना गर्नु आवश्यक हुन्छ । तल उल्लेखित उपायहरूले मानिसलाई मानसिक तथा शारीरिक रूपमा सुदृढ बनाउँछन् ।
१. दैनिक योग–ध्यान गर्ने
दैनिक योग र ध्यानले शरीरलाई लचिलो, बलियो र ऊर्जावान् बनाउँछ । शरीरका अंग–अंग चल्ने र सक्रिय हुन्छन् । ध्यानले तनाव घटाउँछ, मस्तिष्कलाई सकारात्मक ऊर्जा दिन्छ, मनलाई एकाग्र बनाउँछ र नकारात्मक भावनाहरू हटाउन मद्दत गर्छ । विहानको ब्रह्म मुहूर्तमा उठेर नुहाइ–धुवाइ गरी मनलाई एकाग्र गरेमा नचाहिने कुरालाई फिल्टर गर्छ । विहानको समयमा ३० मिनेट योग तथा ध्यान गर्ने बानीले दिनभरि सकारात्मक ऊर्जा प्रदान गर्छ र कार्यसम्पादन अत्यन्त प्रभावकारी बनाउँछ । शरीर जहिल्यै फुर्तिलो देखिन्छ । अनुहारमा समेत ऊर्जा आउँछ र काममा सहयोग पुग्छ । जोश र जाँगरले काम गर्दा आवश्यक रूपमा सफलता मिल्छ ।
थोरै उदाहरणको लागि, यदि विहान ३० मिनेट सूर्य नमस्कार र ध्यान गरिन्छ भने शरीरका मांसपेशी सक्रिय हुन्छन्, शरीरमा रक्तसञ्चार राम्रो हुन्छ र मानसिक रूपमा नयाँ योजनाहरू बनाउन सजिलो हुन्छ । यसरी सानो अभ्यासले पनि जीवनभरी सकारात्मक प्रभाव पार्न सक्छ ।
२. दैनिक शारीरिक व्यायाम वा जिम गर्ने
हामीले जिम भन्नासाथ शरीरलाई सुगठित बनाउने वा बोडी बनाउने सोच्दछौँ, तर जिम गर्नु वा व्यायाम गर्नु भनेको नियमित कसरत हो । यसले मांशपेशीहरूलाई ठीक–ठीक ठाउँमा राख्छ । हल्का दौडिने र हरेक अङ्गको व्यायाम गर्ने बानीले शरीरलाई फुर्तिलो बनाउँछ । दैनिक व्यायाम वा जिमले शरीरलाई तन्दुरुस्त राख्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र दैनन्दिन थकान कम गर्छ ।
नियमित कसरतले शरीरमा रक्तसञ्चार सुधारिन्छ, मांसपेशीहरू सक्रिय रहन्छन्, नराम्रो कोलेस्ट्रोल नियन्त्रण हुन्छ, मुटु स्वस्थ रहन्छ र दीर्घकालीन रोगको जोखिम घट्छ । स्वस्थ शरीर भएकाले मानिसले आफ्नो काममा उत्साह, फुर्तिलोपन र उत्पादकता देखाउन सक्छ । उदाहरणका लागि, विहान हल्का दौड र बेलुकी जिम गरेमा शरीरको तानाशक्ति बढ्छ र दिमाग नयाँ सोचको लागि तयार हुन्छ ।
मानिस शारीरिक रूपमा कमजोर देखिए समाजमा हेपाइ हुन्छ; स्वस्थ र सफा छ भने जसले पनि विश्वास गर्छन् । त्यसैले कार्यसम्पादन उच्च राख्न शारीरिक स्वास्थ्य अनिवार्य छ ।
३. बाहिरी वातावरणसँग रमाउने
घर त छँदै छ, हिमाल–पहाड–तराई पनि हाम्रो घरै हुन् । आकाश छानो हो, धरती घर हो । मानिसले प्रकृतिसँग सम्बन्ध राख्नुपर्छ । प्रकृतिसँग केही समय बिताउँदा मानसिक शान्ति मिल्छ, तनाव घट्छ र दिमाग ताजा हुन्छ ।
हरियाली, खुला हावा र प्राकृतिक वातावरणले मनमा सकारात्मक प्रभाव पार्छ । दैनिक घामको किरण लिनु, आकाश हेर्नु, बाहिर हिँड्ने वा बस्ने अभ्यासले मन सुधारिन्छ र काममा प्रेरणा तथा एकाग्रता बढाउँछ । यसले ध्यान केन्द्रित क्षमता पनि वृद्धि गर्छ र आफ्नो काम राम्रोसँग गर्न सजिलो हुन्छ । उदाहरणका लागि, हिउँदे दिनमा बाहिर सूर्यको प्रकाशमा १०–१५ मिनेट बस्दा मस्तिष्कले सेरोटोनिन उत्पादन गर्छ, जसले खुशी र मनोबल बढाउँछ ।
४. हाइकिङ गर्ने
प्रकृति नै जीवन हो, प्रकृतिमै स्वास्थ्य छ । प्रकृतिले नै हामी सबैलाई जीवन दिएको हो । त्यसैले हप्तामा एक पटक वा महिना–महिनामा केही पटक हाइकिङ गर्दा शरीर चलायमान हुन्छ, बाहिरी स्वच्छ हावा लिन पाइन्छ, फोक्सो राम्रो हुन्छ । शारीरिक शक्ति बढ्छ र मन प्रफुल्लित हुन्छ ।
डाँडा–पहाड, जंगल, नदी जस्ता प्राकृतिक ठाउँमा हिँडाइले तनाव घटाउँछ र मानसिक स्वास्थ्यमा ठूलो सुधार ल्याउँछ । यसले अनुशासन, धैर्य र आत्मविश्वास बढाउँछ, जसले कार्यसम्पादनमा सकारात्मक असर पार्छ । उदाहरणका लागि, साथीहरूसँग पहाडमा घुम्दा शरीर सक्रिय हुन्छ र मनमा खुशी आउँछ, जसले दिनभरि ऊर्जा र जोश दिन्छ ।
५. सकारात्मक ऊर्जा लिएर काम गर्ने
मानिसले जहिल्यै राम्रो ऊर्जा लिएर अगाडि बढ्नुपर्छ । ‘म यो काम गर्न सक्छु, अरूले गर्न सकेका काम म पनि गर्न सक्छु’ भन्ने सकारात्मक ऊर्जा लिएर काम गर्दा कुनै पनि चुनौतीलाई सजिलै सामना गर्न सकिन्छ ।
सकारात्मक सोचले तनाव कम गर्छ, सिर्जनशीलता बढाउँछ, मन एकाग्र बनाउँछ र कार्यसम्पादन बढाउँछ । सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम रहन्छ । सकारात्मक ऊर्जायुक्त वातावरणमा काम गर्दा समस्या समाधान क्षमता उच्च हुन्छ र लक्ष्य हासिल गर्न सजिलो हुन्छ । उदाहरणका लागि, टिम प्रोजेक्टमा उत्साही र सहयोगी दृष्टिकोण राख्दा सबै सदस्यहरूले योगदान गर्न प्रेरित हुन्छन्, जसले काम उत्कृष्ट बनाउँछ ।
६. राम्रो साथी–संगतमा बसेर काम गर्ने
कार्यस्थलमा राम्रो सकारात्मक मानिस छ भने सकारात्मक ऊर्जा प्राप्त हुन्छ । डर–त्रासमा काम बिग्रन्छ । सकारात्मक, प्रेरणादायी तथा सहयोगी साथी–संगतले मानसिक अवस्था बलियो बनाउँछन् ।
राम्रो साथले उत्साह, आत्मविश्वास र प्रेरणा बढाउँछ भने नकारात्मक वा निराश व्यक्तिहरूसँग बसेर काम गर्दा केही दिनमै आफू पनि नकारात्मक बन्छ । सकारात्मक साथमा काम गर्दा मन रमाइलो हुन्छ, स्वस्थ वातावरणमा काम हुन्छ, विवाद न्यून हुन्छ र कार्यसम्पादन उच्च हुन्छ । उदाहरणका लागि, सहकर्मीको सहयोगी व्यवहारले कठिन कार्यलाई सहज बनाउँछ र टीमको मनोबल बढाउँछ ।
७. नराम्रा बानी त्याग्दै जाने
आज खाएको नसालु पदार्थले आजै असर गर्न सक्छ, तर धेरै नसालु पदार्थले अर्को दिन वा वर्षौँसम्म असर गर्छ । धूम्रपान, अत्यधिक सामाजिक सञ्जाल, अनियमित खानपान, ढिलो सुत्ने जस्ता बानीहरूले स्वास्थ्य कमजोर बनाउँछन् ।
नचाहिने रोग आफैँ उत्पन्न हुन्छ र काममा बाधा पुर्याउँछ । यस्ता बानी क्रमशः त्याग्दै अनुशासित जीवनशैली अपनाउँदा शरीर र मन दुवै स्वस्थ रहन्छ । राम्रो बानीले काममा ध्यान केन्द्रित गर्न मद्दत गर्छ र उत्पादकता बढाउँछ । शरीर थाक्दैन, सधैं ऊर्जावान देखिन्छ, जसले काममा लगाव बढाउँछ । उदाहरणका लागि, नियमित निद्रा र स्वस्थ खाना खाँदा मस्तिष्कले ऊर्जा उत्पादन राम्रो गर्छ र दिनभरि काम गर्न सजिलो हुन्छ ।
८. नातागोता, आफन्त र परिवारसँग सुमधुर सम्बन्ध राख्ने
आफ्नो परिवार आफ्नो मेरुदण्ड हो । परिवार र आफन्तसँग राम्रो सम्बन्ध रहँदा मन हलुका र खुसी हुन्छ । कुनै समस्या परे आफन्त र परिवारसँग सल्लाह गर्नुपर्छ । सुमधुर सम्बन्धले भावनात्मक सहारा दिन्छ, तनाव घटाउँछ र सकारात्मक सोच जन्माउँछ । मानसिक रूपमा सन्तुलित व्यक्ति आफ्नो कामलाई दिगो, जिम्मेवार र प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम हुन्छ । उसले परिवारलाई पनि खुसी राख्न सक्छ, जसले सकारात्मक ऊर्जा प्रदान गर्छ । उदाहरणका लागि, परिवारसँग नियमित समय बिताउँदा मानसिक शान्ति मिल्छ र काममा फुर्तिलोपन बढ्छ ।
९. धेरै सामाजिक सञ्जाल नचलाउने
आजकाल मानिसहरू अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्छन् । धेरै चलाउँदा ध्यान विचलित हुन्छ, रिस उठ्छ, समय खेर जान्छ र मानसिक तनाव बढ्छ । त्यसैले सीमित मात्रामा आवश्यक परेका विषय मात्र हेरेर सामाजिक सञ्जाल प्रयोग गर्दा मन शान्त रहन्छ र काममा ध्यान केन्द्रित हुन्छ । डिजिटल अनुशासन पालना गरेमा मात्र कार्यक्षमता उल्लेखनीय रूपमा बढ्छ । जे पायो त्यही प्रयोग गर्दा नकारात्मक असर पर्छ, दिमाग थाक्छ र कार्यसम्पादन घट्छ । उदाहरणका लागि, दैनिक दुई–तीन पटक मात्र सामाजिक सञ्जाल जाँच्दा मस्तिष्क फुर्तिलो रहन्छ र काम समयमै सकिन्छ ।
१०. सधैं सकारात्मक सोच राख्ने
जान्ने मान्छेको कुरा सुनिनुपर्छ । नेपाली उखान अनुसार ‘आगो ताप्नु मुडाको, कुरा सुन्नु बूढाको’ जस्तै, अनुभवी व्यक्तिको कुरा सुन्नु बुद्धिमानी हो । नचाहिने कुरा हटाउनुपर्छ । सधैं सकारात्मक सोच राखेर काम गर्नुपर्छ । सकारात्मक सोचले कठिन परिस्थितिमा पनि आशा, धैर्य र आत्मविश्वास कायम राख्न मद्दत गर्छ । ‘हुन्छ’ भन्ने आशाले नै काम गर्नुपर्छ । सकारात्मक सोच भएको व्यक्तिले सकारात्मक ऊर्जा र आभा प्राप्त गर्छ । यस्ता व्यक्ति कार्यस्थलमा सहज, अनुशासित र उत्पादनशील हुन्छन् । उदाहरणका लागि, चुनौतीपूर्ण प्रोजेक्टमा सकारात्मक सोच राख्दा समाधान सजिलै आउँछ र टीम सफल हुन्छ ।
११. खेलकुद र मनोरञ्जनात्मक कार्यमा भाग लिनु
विभिन्न खेलकुदमा आफूलाई उपयुक्त हुने खेल खेल्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा अनुकूल असर पर्छ । खेलकुद र मनोरञ्जनात्मक गतिविधिमा नियमित रूपमा सहभागी हुँदा शरीर बलियो, फुर्तिलो रहन्छ र मानसिक तनाव घट्छ । समूहमा खेल्दा सहकार्य, मेलमिलाप, अनुशासन र नेतृत्व क्षमता बढ्छ । मनोरञ्जनले मन हलुका बनाउँछ, ताजा महसुस गराउँछ, आत्मविश्वास बढाउँछ र दिमागलाई सक्रिय राख्छ । यसले दैनिक कार्यक्षमता तथा कार्यसम्पादनलाई अत्यन्त सकारात्मक ढंगले सुधार्छ । उदाहरणका लागि, साप्ताहिक फुटबल खेलमा सहभागी हुँदा टीम भावना बढ्छ र मानसिक तनाव कम हुन्छ ।
यी माथिका बुँदाहरूको अक्षरशः पालन गर्दा मानिसले धेरै हदसम्म सफलता पाउन सक्छ । मानसिक र शारीरिक स्वास्थ्य ठीक भएमा मात्र कार्यसम्पादन राम्रो हुन्छ । यसको साथै आफ्नो शरीरको अवस्था कस्तो छ भनेर नियमित स्वास्थ्य परीक्षण गर्नु जरुरी छ । आफू स्वस्थ छु भन्ने आत्मविश्वाससहित काम गर्दा कार्यसम्पादन अझ राम्रो हुन्छ । मानिस केही शरीरको रोगी त हुन्छन् नै तर धेरैजसो मानिस मनको रोगी हुन्छन् । तर, मनको रोग भएन भने शरीरको रोग पनि आफैँ विस्तारै हराउँछ । त्यसैले मानसिक स्वास्थ्य पनि अत्यन्तै महत्वपूर्ण कुरा हो । मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यलाई पनि असर पार्छ र कार्यसम्पादनमा वृद्धि गर्न मद्दत गर्छ । त्यसैले स्वस्थ खानपिन, स्वस्थ सङ्गत र स्वस्थ सोचले नै जीवनलाई जीवन जस्तो बनाउँछ र मानिस खुसी भइ यो प्रकृतिमा रमाएर, हाँसेर बाँच्दै आफ्नो जीवनको रथ अगाडि बढाउन सक्छ ।