नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्शाभित्र पुग्यो । यस तथ्यले देश बेचेको राष्ट्रघात प्रमाणित हुन्छ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर बेचियो । यस तथ्यले मानव तस्करी गरेको प्रमाणित हुन्छ । लगभग ८० लाख गरिव, निमुखा, श्रमिक, किसान जनताले छाक काटेर सहकारीमा गरेको वचत लगभग चार खर्ब लुटियो । यसबाट गुण्डागर्दी गरेर आम जनता लुटेको प्रमाणित हुन्छ ।
यसरी देश बेच्ने, मानव तस्करी गर्ने गुण्डागर्दीबाट आम जनता लुट्ने तथ्यबाट प्रमाणित काम कस्ले गरे भन्दा विगत ३० वर्षको अवधीमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, वैचारिक स्वतन्त्रताको नारा फलाकेर राज्यसत्तामा हालीमुहाली मच्चाएका दलहरुले गरे । ती राजनीतिक दलहरु मुख्य मुख्य को हुन् त भन्दा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, माओवादी, मधेशवादी आदि इत्यादि हुन् । प्रतिक विम्व उदाहरणमा राष्ट्रपति भएका कागती बाजेको संज्ञा पाएका (एक समय तनहुँबाट कागतीको अमिलो बोकेर असनमा बेचेर जिविकोपार्जन) रामचन्द्र पौडेलको छोराको लन्डनमा चारवटा घर हुनु र प्रधानमन्त्री भएका देउवा प्रचण्डको घरमा जलेका डलर, भारु, नेरु फोरोन्सिक रिपोर्टबाट प्रमाणित हुनुलाई लिन सकिन्छ । तीनचार करोडमा टिकट किनेर पाँच–१० करोडबाट चुनाव जितेर सांसद, मन्त्री, प्रधानमन्त्री भएर राजनीति भनेको एकसूत्रीय जनता ठग्ने, बेच्ने, देश लुट्ने भएपछि आज परिणाम हेरौं नेपाल र नेपाली कहाँ पुगेका छौं ।
नेपालको सार्वभौमिकता र नेपालीको स्वाभिमान आज ठूलो संकटमा पुगेको छ । तीनकरोड पनि जनसंख्या न नाघेको नेपालका ८० लाख बलिया पाखुरी जनसंख्या खाडी मुलुकमा रगत पसिना बगाउन लखेटिएका (रेमिटेन्सको लागि बेचिएका) छन् । मुलुकको ६४ प्रतिशत उब्जाउ जमिन बाँझै छ । ग्रमीण वस्तीका किसान मजदुरका आठ लाख घरहरु खण्डहरमा रुपान्तरण भएका छन् । ८३ प्रतिशत खाद्यपदार्थलगायत दैनिक उपभोग्य वस्तु विदेशबाट आयात भएर विहान बेलुका धान्नु परेको छ । जन्मिदै नेपालीको टाउकोमा ३० खर्ब बढी वैदेशिक ऋण भार बोकाइएको छ । आर्थिक रुपमा यस स्तरको दिवालिया तन्मय भएको देशलाई आजका दुनीयाँका कुनै पनि स्वाधीन र स्वाभिमानी मुलुकले सार्वभौम र स्वाभिमानी मुलुक ठान्न र मान्यता दिन सक्दैन, मिल्दैन । आजको विश्वमा सार्वभौम र स्वाभिमानी मुलुक ठानिन र मानिनका लागि कम से कम गाँस वास र कपासमा आत्मनिर्भर हुनु अनिवार्य हुन्छ । त्यो हुने सम्पूर्ण पूर्वाधार प्राकृतिक श्रोत साधन जनशक्ति हुँदाहुँदै पनि किन नेपाल आफ्नै खुट्टामा उभिएको सार्वभौम स्वाभिमान देश हुन पाइरहेको छैन ।
माथि उल्लिखित दसी प्रमाण र साक्षीले पुष्टी यी तथ्यहरु मैले आफ्ना स्तम्भ, लेखन र बोली वचनहरुमा पटक पटक दोहोर्याउदा तेहर्याउदा रिपिटेन्सन (पुनरुक्ति)को दोष देखाउने गरेको पनि पाउँछु । तर कुनै पनि उज्यालोको विषयमा लेख्न बस्दा या विचारधारा निर्माण गर्न खोज्दा घामको उदाहरण नलिइ धर नपाइने भने जस्तै यी रिपिटेसन दोष हुन् र घाम जत्तिकै छर्लङ्ग र प्रमाणित तथ्य के हो भने आज हाम्रो देश नेपाल सार्वभौमिकता र स्वाधिनताच्यूत अराजकताको खाडलमा पुगेको (पानी बाड्दा बाड्दै मन्त्री बाड्न थालेको सरकार) विगत ३१ वर्ष (०५१ को गिरिजाको मध्यावधीबाट उत्पन्न १० वर्षे माओवादी हिंसात्मक रगतपच्छे दुर्भाग्य) देखि राज्यसत्ताको हालीमुहालीमा पुगेर मनपरितन्त्र, लुटतन्त्र मच्चाएका खासगरि पाँचदल (कांग्रेस, एमाले, राप्रपा, माओवादी, मधेशवादी) का राष्ट्रघात, मानवतस्करी र जनता लुट्ने गुण्डागर्दीको परिणाम नै सार्वभौमिकता र स्वाभिमान संकटमा परेको हो । यो तथ्यलाई इन्कार गरेर अन्य कुनै उपाय र विकल्पबाट समाधान खोजिन्छ भने एक दुई ती त्यो कुनै पनि हालतमा सम्भव छैन ।
रुसी वोल्सेकिक क्रान्तिका महानायक व्लादिमीर लेनिनको एउटा कालजयी भनाइ छ, ‘तथ्यहरु वडो जिद्दी हुन्छन् । तिनको सम्मान गरिएन भने तिनले नराम्रोसँग वदला लिन्छन् ।’ एसियाका मार्क्स भनेर संसारभरिका विश्वविद्यालयहरुमा पढाइ हुने भारतीय समाजवादी आन्दोलनका एक प्रखर चिन्तक हुनुहुन्थ्यो डा. राममनोहर लोहिया । अंग्रेजको टेकोमा अडिएको नेपालको राणासत्ता भारतबाट वेलायत जाने भए पछि राणासत्ता ढल्ने उहाँले बेलैमा देख्नुभयो । तर नेपालमा शिक्षाको घनघोर अन्धकारका कारण नेपाली जागरणमा त्यसको आभाष हुने सम्भावना थिएन । यो तथ्य बुझेर डा. लोहियाले नै वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामहरि जोशी आदि इत्यादि नेपाली युवाहरुलाई प्रेरित गरेर घोषणापत्र र कार्यक्रम पनि आफै लेखेर ‘नेपाली राष्ट्रिय कांग्रेस’ खोल्न लगाउनुभएको थियो । भारत ठूलो मुलुक छ । जनसंख्या पनि विशाल छ । भारतमा समाजवादी क्रान्ति सफल हुन सदियौं लाग्न सक्छ । नेपाल सानो मुलुक छ । जनसंख्या पनि थोरै छ । पाँच १० वर्ष इमान्दारीपुर्वक काम हुन सक्यो भने नेपालमा सफल समाजवादी क्रान्ति प्रयोग हुनसक्छ र त्यसको नमुना देखाएर भारतमा समाजवादी क्रान्ति सम्पन्न गर्ने लोहियाको आन्तरिक ध्येय थियो । नेपालमा राणासत्ता ढलेर नयाँ आउने सत्तालाई समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गर्न अत्यन्त अनुकुल पनि थियो । अरु केहि गर्नै पर्दैन थियो । त्यतिखेर ९५ प्रतिशत (कसै कसैले ९७ प्रतिशत भनेका छन्) जमीनको स्वामित्व राणासत्ताको कव्जामा थियो । नयाँ आउने सत्ताले ‘जसको जोत उसको पोत’ एउटै वोल्ड निर्णय गर्दा ९५ प्रतिशत भूमिहिन किसान जमिनका मालिक हुन्थ्ये र संसारकै लागि एउटा उदाहरणीय समाजवादी क्रान्ति सम्पन्न हुन्थ्यो । त्यो हुन सकेको भए आज हामी विकासको सगरमाथा चुमिरहेका हुने थियौं । तर त्यसका लागि लोहियाको एउटै सर्त थियो, त्यो काम क्रान्तिको राप ताप रहँदै तुरुन्त सम्पन्न गर्न वीपीलाई भन्नुभएको थियो । संविधान ल्याएर नियम कानुन मिलाएर विस्तारै विस्तारै गर्छु भन्ने ठानियो भने पछि जमनिदारहरुले अनेकथरिका भाँजो हालेर त्यो गर्न दिदैनन् भन्ने लोहियाको सल्लाह थियो । नेहरुको सत्ता चकाचौधमा तिरमिराएर लोहियोको सल्लाह नमान्दा पछि वीपीलाई गला लागेको जस्तो पछुतो पनि भयो । प्रधानमन्त्री भएका वखत कांग्रेसकै जमिनदार सांसदहरुले लखेट्न खोज्दा गोर्खा परिषदका भरत शमशेरले कुर्सी जोगाइदिएको वीपी आफैँले ‘आत्मवृतान्त’मा सविस्तार वर्णन गर्नुभएको छ । उनै लोहियाको इतिहास सम्बन्धी बडो कालजयी भनाइ छ, ‘इतिहासले आफैं कुनै पाठ सिकाउँदैन । तर इतिहासबाट पाठ नसिक्नेलाई भने सिध्याइदिन्छ’ ।
लेनिन र लोहियाकामाथि उल्लिखित तथ्य र इतिहास वारेका भनाइ यहाँ किन ल्याइएको भने गत २३/२४ भदौको जेन–जी विद्रोह र जनआक्रोश विष्फोटन तथ्यहरुलाई इन्कार गरेर इतिहासबाट पाठ न सिक्नुको परिणाम हो । अझै पनि दलहरुले गरेका राष्ट्रघात, मानवतस्करी र जनता लुटेका तथ्यलाई इन्कार गरेर इतिहारबाट पाठ नसिकेर चुनाव कि संसद पुनःस्थापना भन्ने कुनै अर्थ र औचित्य समाप्त भइसकेको रडाकोमा अलमलिइरहने हो भने भदौ २३/२४ त आँधी मात्र हो । अब आउने भनेको सुनामी हो र आँधीले कोमामा पु¥याएको ०७२ को संविधानलाई सुनामीले जरैदेखि उखेली दिने पक्का छ ।
कांग्रेसले प्रजातन्त्रको, एमालेले लोकतन्त्रको, माओवादीले गणतन्त्रको, राप्रपाले राजसंस्थाको, मधेशवादीले संघीयताको दुहाइदिनु नारा फलाक्नु आजको दिनमा देश, जनता र प्रणालीका लागि पूर्णरुपमा धोखा, वेइमानी, ठगी र पाखण्ड हो भन्ने तथ्य अब सर्वत्र छर्लङ्ग भइसकेको छ । गणेशमान र कृष्णप्रसादलाई कांग्रेसबाट लखेटेर, एमालेबाट मदन भण्डारीको हत्या गरेर र लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्शाभित्र पुर्याउन अवरोध हुँदा राजा वीरेन्द्रको वंश हत्या गरेर आएको ०७२ को संविधान । जातिय, क्षेत्रिय, धार्मिक द्वन्द मच्चाएर नेपाललाई भुटान हुँदै सिक्किम पुर्याउने उदेश्यले लादिएको भन्ने अब सबै तथ्य, प्रमाण, परिणामबाट छर्लङ्ग भइसकेको छ ।
यदि भारतमा नेहरु लिगेसीको सोनीया कांग्रेसको सत्ता अहिलेसम्म जोगिएको भए नेपाल विधीवत रुपमै सिक्किम भइसक्ने थियो होला । जनमत संग्रहको हल्ला फैलाएर सिक्किम बनाउने प्रयास अहिले पनि भइरहेकै छ । तर भारतमा सोनीया कांग्रेस सत्ताबाट च्यूत हुनु र चीन फ्याक्टरले गर्दा मात्र अहिलेसम्म नेपाल जोगिएको छ । गत भदौ २३/२४ जेन–जी विद्रोहको मौका छोपेर वारवरा सरकारको जुन अराजकता प्रदर्शन भइरहेको छ त्यसले जनमत संग्रहको हल्ला मच्चाएर सिक्किम पुर्याउने षडयन्त्र अव पूर्णरुपमा असफल भएको अनुमान लगाउन सकिन्छ । किनभने वारवरा सरकारको मुख्य लक्ष्य भारतलाई अलमलाएर चीनलाई हिर्काउने रहेको प्रष्ट भइसकेको छ । यस्तो पृष्ठभूमिमा चीन भारत नेपालको पक्षमा एकठाउँमा उभिनु पर्ने बाध्यता जस्तो हुन पुगेको छ । जेन–जी जागरणले ल्याएको आँधीको सबैभन्दा ठूलो उपलब्धी यही हुन पुगेको छ ।
नेपाली जनसंख्याको पछिल्लो अथ्यांक अनुसार जेन–जी पुस्ताको हिसाब ३५ प्रतिशत देखिएको छ । त्यसपछि लगत्तै जेन–जी पुस्तालाई फलो गर्दै आइरहेको जेन–अल्फा पुस्ताको हिसाब लगभग ३० प्रतिशत देखिएको छ । दुवै पुस्ता जोडिएर विद्रोहमा उत्रिदा त्यो शक्ति भाद्र २३/२४ को भन्दा दोब्बर शक्तिशाली हुन्छ । यही तथ्यको आधारमा ‘आँधी पछि सुनामी’ भनेको हुँ । आँधीले ०७२ को संविधानलाई लासमा रुपान्तरण गरिदिएको छ भने ‘सुनामी’ले दाहसंस्कार गरिदिने निश्चित छ । संसद पुनः स्थापना या फाल्गुन २१ को चुनावको वकालत गर्ने दलहरु र तिनका नेता कार्यकर्ताहरु ०७२ को संविधानको लासमा टासिएका लिखा र जुम्राहरु हुन् । लिखा र जुम्रामा के फरक हुन्छ भने लिखाहरु लाससँगै खरानी हुन्छन् भने जुम्राहरु लास छोडेर ज्यान जोगाउने प्रयास गर्छन् । यसलाई सरल रुपमा बुझ्न हिजोसम्म देउवासँग जोडिएर देश, जनता र प्रणालीको रगत चुसीरहेका २५ केन्द्रीय सदस्यहरु देउवालाई त्यागेर शेखरमा टासिए भन्ने जुन समाचार आयो, हो त्यहीं हो जुम्राको परिचय । गिरिजाको राष्ट्रघात र देउवाको मानवतस्करीमा मतियार भएर खुमबहादुर खड्का, विजय गच्छदार आदि इत्यादिका भ्रष्टाचार मार्गी भएर अकुत सम्पत्ति जोडेका र अब आउने सुनामीले त्यो सम्पत्ति पनि देउवा र प्रचण्डको जस्तै खरानी (राष्ट्रियकरण) हुने देखेपछि राजसंस्था चाहियो भन्दै सामाजिक संजालमा उफ्रिन थालेकाहरु पनि जुम्राको परिभाषामा आउँछन् ।
अन्त्यमा ‘जेन–जी’ भनेको ‘पुस्ता’ नभएर हाम्रो समयले खोजेको ‘नवजागरण’ हो भन्ने राम्रोसँग बुझी राखौं । ‘समयले खोजेको विचारधारा र माग भन्दा दुनीयाँमा अरु केहि पनि कोइ पनि शक्तिशाली हुन्न’ भन्ने भिक्टर ह्यूगोको कथन छ । अस्तु ।