काठमाडौं । दार्चुला पावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीको वार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्ने निर्णयसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ । कम्पनी अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो । हाल दार्चुला जिल्लामा २८ दशमलव तीन सय चार मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । करिब पाँच सय ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ । कम्पनीले आईपीओ जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी प्रक्रियालाई अगाडि बढाइसकेको प्रवन्ध निर्देशक शास्वत चालिसेले जानकारी दिए ।
आईपीओअघि कम्पनीको अधिकृत पुँजी तथा जारी पँुजी वृद्धि गर्ने र त्यहीअनुसार प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले अनुमोदन गरेको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा आयोजनाको भौतिक प्रगति, आर्थिक व्यवस्थापन, सञ्चालनगत चुनौती तथा आगामी वर्षका रणनीतिक लक्ष्यहरू समेटिएका थिए । यस्तै, उक्त आर्थिक वर्षका वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायत सबै वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गरेको छ । कम्पनीले लागत नियन्त्रण र आयोजना–केन्द्रित खर्च व्यवस्थापनमा देखाएको पारदर्शिताको सभामा प्रशंसा गरिएको थियो । कम्पनी ऐन २०६३ को दफा एक सय ११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
कम्पनीका संचालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत् आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै कम्पनीले अवलम्बन गरेको रणनीति र व्यवस्थापन क्षमता निकै प्रभावकारी भएको बताए ।