पर्वतारोहणका लागि नेपाल प्रमुख गन्तव्यका रुपमा रहेको छ । त्यसो हुनुमा विश्वले मान्यता दिएका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ वटा नेपालमै रहनु एक हो । ती हुन्ः १) सगरमाथा–चोमोलुङमा–एभरेस्ट, ८८४८.८६ मिटर । २) कञ्चनजंघा–सेवालुङ, ८५८६ मिटर । ३) ल्होत्से/चे, ८५१६ मिटर । ४) मकालु, ८४८ मिटर । ५) चोओ यु, ८२०४ मिटर । ६) धवलागिरि, ८१६७ मिटर । ७) मनास्लु–कुताङ, ८१६३ मिटर । ८) अन्नपूर्ण–१, ८०८१ मिटर । हुन पनि डाक्टर हर्क गुरुङका अनुसार नेपालमा पाँच हजार मिटरभन्दा माथिका हिमाल लगभग १७ सय वटा रहेका छन् तर पनि, नेपाल सरकारले पटकपटक गरेर चार सय ७४ वटा हिमाल पर्वतारोहणका लागि खुला गरेको छ । पछिल्लो पटक विसं २०८१ असोजमा ५७ वटा हिमाल खुला गरेपछि आरोहणका लागि खुला गरिएको हिमालको संख्या चार सय ७४ वटा पुगेको हो । त्यसअघि चार सय १४ वटा हिमाल आरोहणका लागि सरकारले खुला गरेको थियो ।
नेपालका यी चार सय ७४ वटा हिमाल आरोहण गर्न आएका पर्वतारोहीको तथ्यांक हेर्दा चाहिँ नेपालमा वार्षिक रुपमा त्यति धेरै संख्यामा स्वदेशी तथा विदेशी पर्वतारोहीहरुले नेपालमा खुला गरिएका माथिका हिमालहरु अपेक्षा गरे अनुरुप धेरै ठूलो संख्याले आरोहण गरेको देखिँदैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२४ मा प्रकाशित गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक्स–२०२४’ मा उल्लेख गरिएको तथ्यांक अनुसार नेपालमा रहेका चार सय ७४ वटा हिमालमा आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्वतारोहण दलको संख्या सन् २०२३ मा दुई हजार दुई सय ५३ वटा रहेको थियो । त्यस्तै सन् २०२४ मा चाहिँ नेपालको विभिन्न हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्वतारोहण दलको संख्या दुई हजार तीन सय ७५ वटा रहेको थियो । तर पर्वतारोहीको संख्याका आधारमा हेर्दा सन् २०२३ मा भन्दा सन् २०२४ मा पर्वतारोहीको संख्या केही कम रहेको देखिन्छ । तथ्यांक अनुसार सन् २०२३ मा नेपालका पर्वतारोहीसहित विभिन्न देशका नौ हजार तीन सय ६८ जना पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका थिए । सन् २०२४ चाहिँ नेपाल तथा विभिन्न देशका नौ हजार तीन सय ६८ जना पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका थिए । यो संख्या भनेको सन् २०२३ को भन्दा सन् २०२४ को केही कम हो ।
अब लागौं, हालसम्म विश्वले मान्यता दिएका आठ हजार मिटरभन्दा माथिका अग्ला १४ हिमालहरु मध्ये बाँकी छ वटा हिमाल चाहिँ कहाँ छन् त ? भनी जान्नेतर्फ । हो, ती छ वटा आठ हजार मिटर माथिका हिमालमध्ये पाँच वटा पाकिस्तानमा र एउटा चाहिँ चीनमा रहेका छन् । जस्तै विश्वकै दोस्रो अग्लो हिमाल के–टु (काराकोरम दुई), ८६११ मिटर । विश्वकै नवौं हिमाल नाङ्गा पर्वत, ८१२६ मिटर । विश्वकै एघारौं अग्लो हिमाल गासेरब्रुम, ८०८० मिटर । बाह्रौं अग्लो हिमाल ब्रोड पिक, ८०५१ मिटर । तेह्रौं अग्लो हिमाल गासेर ब्रुम–२ ८०३५ मिटर र विश्वको चौधौं र अन्तिम अग्लो हिमाल सिसापाङ्मा, ८०२७ मिटर । यसरी हेर्दा विश्वले मान्यता दिएका आठ हजार मिटरभन्दा माथिका सबै हिमाल संयोगले एसिया महादेशभित्रै रहेका छन् ।
मुख्य कुरो ती बाहेक पनि अरु छ वटा आठ हजार मिटर माथिका हिमाल रहेका छन् । त्यसैले यो लेख लेख्नुको खास आशय सो सम्बन्धमा आम पाठकहरुलाई जानकारी दिनु पनि रहेको छ । अब लागौं त्यसतर्फ । बाँकी रहेका ती छ वटा आठ हजार मिटरभन्दा माथिका सबै हिमाल भाग्यवश हाम्रै देश नेपालमा रहेका छन् । ती छ वटा नयाँ (घोषणा हुन बाँकी हिमाल)का लागि नेपाल सरकार र नेपाल पर्वतरोहण संघ (एनएमए)ले लगभग ११–१२ वर्षदेखि विश्वले मान्यता दियोस् । खास गरी त्यसरी अन्तर्राष्ट्रिय रुपमा आधिकारिक मान्यता दिने संस्था चाहिँ स्वीटजरल्यान्डमा रहेको ‘इन्टरनेसनल माउन्टेनिरिङ एन्ड क्लाइम्बिङ फेडरेसन (यूआईएए)’ हो । त्यसैले सो संस्थाले मान्यता नदिई अर्थ नहुने हुनाले नेपालका छ वटा (घोषणा हुन बाँकी) हिमाललाई मान्यता दिलाउनका लागि नेपाल सरकार र नेपाल पर्वतरोहण संघ (एनएमए)ले लगभग ११–१२ वर्षदेखि लबिङ गरिरहेको छ । किनभने, नेपालले पनि ‘नेपाल पर्वतरोहण संघ–एनएमए’ले) ‘इन्टरनेसनल माउन्टेनिरिङ एन्ड क्लाइम्बिङ फेडरेसन (यूआईएए)’ को सदस्यता लिएको छ । तर अहिलेसम्म ‘इन्टरनेसनल माउन्टेनिरिङ एन्ड क्लाइम्बिङ यूआईएए’ले आफ्नो बोर्ड बैठकबाट पारित गराउन सकेको छैन, वा भनौं जानाजान पारित गराउन चाहेको छैन । त्यस्तो हुन सक्छ र ? भन्ने प्रश्न उठ्न सक्छ, सर्वसाधारण जनहरुमा । हो, त्यस्तो हुन सक्छ र भइरहेको पनि छ । किनभने सुरुदेखि हालसम्म विश्वमा मान्यता पाएका १४ वटै अग्ला हिमाल आरोहण गरेर अनेकौं कीर्तिमान बनाएका पर्वतारोहीहरुले नयाँ आठ हजार मिटरका हिमाल थपिएपछि आफ्नो पूरानो कीर्तिमान कायम नरहने भएकोले यसअघि नै विश्वका अग्ला १४ वटै हिमाल आरोहण गरेर विभिन्न कीर्तिमान कायम गरेकाहरु नाखुस छन् । जस्तै, उदाहरणका लागि विश्वको पहिलो, दोस्रो तेस्रो, चौथो, पाँचौं अनि आफ्नो (सम्बन्धित देशका) पहिलो १४ वटा विश्वको अग्लो हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका पर्वतारोहीहरु पनि यस कार्य (नयाँ आठ हजार मिटर माथिका हिमाल थपिनेकुरो) मा खुसी छैनन् । उनीहरुले यस कार्यमा खुलेर समर्थन गरेका छैनन् र गर्न पनि चाहँदैनन् । त्यसमा पनि विशेष युरोप, अमेरिका, दक्षिण कोरिया, जापानलगायत देशका पर्वतारोहीहरु भित्रभित्रै नाखुस रहेका छन् ।
जे भए पनि सँधै सत्यकै जीत हुन्छ भन्ने कुरामा हामीले विश्वास गर्ने हो भने एकदिन न एकदिन नेपालमा रहेका छ वटा नयाँ हिमाललाई विश्वको अन्तर्राष्ट्रिय पर्वतारोहणसँग सम्बन्धित संस्था ‘इन्टरनेसनल माउन्टेनिरिङ एन्ड क्लाइम्बिङ फेडरेसन (यूआईएए)’ ले मान्यत दिनेछ भन्ने आशा गरौं । त्यसपछि अवश्य पनि नेपालको पर्वतारोहण पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने छ । वास्तवमा यसरी थप हुने नयाँ हिमाल केवल नेपालीहरुका लागि मात्रै नभएर विश्वका लागि पनि एक महत्वपूर्ण घटनाका रुपमा दर्ज हुनेछ । साथै, यसलाई प्रकृतिले सित्तैमा दिएको एक अनुपम पँुजीका रुपमा पनि दरिने छ । यसरी थपिने ती छ वटा नयाँ हिमालपछि हाल विश्वमा मान्यता प्राप्त भएका १४ वटा हिमालबाट बढेर २० वटा पुग्ने छ । हामी नेपालीहरुका लागि एकदमै गर्व लाग्ने कुरो के हो भने, त्यसरी थपिने नयाँ आठ हजार मिटर माथिका सबै हिमाल नेपालमै रहेका छन्, रहने छन् ।
ती छ वटा हिमाल मध्ये कञ्चनजंघा हिमाल वरिपरि चार वटा रहेका छन् । ती हिमालहरु हुन् १) यलुङ काङ ८,५०५ मिटर । २) कञ्चनजंघा दक्षिण (साउथ) ८,४७६ मिटर । ३) कञ्चनजंघा मध्यम (सेन्ट्रल) ८,४७३ मिटर । ४) यलुङ काङ पश्चिम (वेस्ट), ८,०७३ मिटर । बाँकी दुई नयाँ हिमाल भने ल्होत्से हिमाल वरिपरि रहेका छन् । ती हुन् १) ल्होत्से मध्यम (मिडल) ८,४१० मिटर । २) ल्होत्से पूर्वी (सार) ८,४०० मिटर । नयाँ थपिने ती छ वटा हिमालको आधिकारिकता र विश्व पर्वतारोहण संघमा सूचीकृत हुनका लागि लगभग ११–१२ वर्ष अघिदेखि नै नेपाल सरकार र नेपाल पर्वतारोहण संघले पहल गरिरहेको भनी माथि नै उल्लेख भइसकेको छ । त्यसका लागि युरोपको स्वीट्जरल्यान्ड हिमाल सम्बन्धी प्राविधिक (हिमाल सम्बन्धी विज्ञता हासिल गरेका) ज्ञान भएका टोलीले नापजाँच गर्ने भनिएको पनि धेरै समय भइसकेको छ । यसोउसो गर्दागर्दै त्यो वेलामा कोरोना महामारी सुरु भयो । त्यसपछिका दिनमा पनि अनेकौं कारणले स्वीट्जरल्यान्डबाट आउने भनिएको प्राविधिक (हिमाल सम्बन्धी ज्ञाता) ज्ञान भएका टोली नेपालका आउन सकेका छैनन् । आशा गरौं कि, आगामी दिनमा यो काम अवश्य फत्ते हुनेछ ।