काठमाडौं । ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०८२(क्राफ्ट एन्ड कल्चर फेस्टिभल) हुने भएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालयको सहयोगमा हस्तकला दिवसको अवसरमा बुधबारदेखि महोत्सव हुन लागेको हो ।
नेपाली कला र सांस्कृतिक धरोहरका रूपमा रहेका नेपाली हस्तकलाको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुर महानगरपालिकास्थित पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्राहलय परिसरमा प्रदर्शनी आयोजना हुने बताइएको छ । नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिका वडा नम्बर १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त तत्वावधानमा हुने हस्तकला प्रदर्शनीमा करिब २१ क्यानओपी र १० वटा टेबुल स्टल रहने महासंघ अध्यक्ष रविन्द्र शाक्यले बताए । उनका अनुसार प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरूको अलाबा ललितपुर महानगरपालिका वडा १६ को हस्तकला तथा पर्यटन प्रवर्द्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातीय पोशाक प्रदर्शनी र सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कात्तिक नाच, लोकनृत्यलगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीतलगायतको पनि प्रस्तुतिका साथै महासंघबाट कोरियास्थित इम्याकोको सहकार्यमा मुखौटा(मास्क) प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको छ ।
मास्क मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मास्क प्रदर्शनी गरिने आयोजकले जनाएको छ । मंंसिर २१ गतेसम्म सञ्चालन हुने नेवारी मौलिक खाद्य परिकारका तीन स्टल समेत रहने बताइएको छ ।