काठमाडौं । निर्वाचन आयोगमा अद्यावधिक रहेका १२२ राजनीतिक दलमध्ये मात्र ३३ दलले गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाएका छन्। आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ८९ दलले अझै विवरण बुझाएका छैनन्।
दलहरू एकआपसमा एकीकृत भएर नयाँ दल बनेका भए पनि एकीकृत हुनुअघि अस्तित्वमा रहेका दलहरूले अनिवार्य रूपमा आफ्नो पुरानो संरचनाको आय–व्यय विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। विवरण नबुझाउने दलको नाम आयोगले सार्वजनिक गर्नेछ।
यस वर्ष आय–व्यय विवरण बुझाउने दलमा नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, त्रिमूल नेपाल सहित दर्जनौँ दल छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल परिवार दल, समावेशी समाजवादी पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी लगायतले पनि विवरण पेस गरिसकेका छन्।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार दलहरूले आफ्नो वास्तविक आय–व्यय अभिलेख राखेर हरेक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखा परीक्षण गराई, त्यसको एक महिनाभित्र आयोगमा पेस गर्नुपर्छ। आगामी माघ मसान्त नै यो वर्षको विवरण बुझाउने अन्तिम समय तोकिएको छ।समयमै विवरण नबुझाउने दललाई आयोगले अवधि सकिएको ३५ दिनभित्र स्पष्टीकरण माग्ने अधिकार राख्छ।
आय–व्यय विवरण बुझाउने दलहरूको हकमा भने आयोगमा पेस गरेको मितिले एक महिनाभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।