विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पछिल्लो समय नेपाल भारतको खुला सीमानाका प्रयोग गर्दै अवैध हुन्डिको कारोबार बढ्दै गएको छ ।
कोशी प्रदेशको राजधानीमा सरकारबाट अवैध भनि प्रतिबन्ध लगाइएको हुन्डिसहित भारु मोरुको व्यापारमा पछिल्लो समय सानादेखि ठूला व्यवसायिक घरानाका व्यक्ति सम्लग्न रहेको कुरा खुल्न थालेको हो । जेनजीको आन्दोलन पश्चात् अहिले बजारमा पुराना हुन्डिका कारोबारी बिस्तारै पलायन भएका छन् । तर, उनीहरूको पलायनसँगै हुन्डिको कारोबारमा नयाँ अनुहार थपिन थालेको खुलेको छ । करिब दुुई महिना अगाडी मात्रै इलाका प्रहरी कार्यालय रानीले एक भरियालाई मोटरसाइकलमा लुकाइ छिपाइ भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा करिब आठ लाख रुपैयाँ सहित पक्राउ गरेको थियो । विराटनगरबाट जुट उद्योग सँचालन गर्दै आएकाहरूले पनि आफ्नो उद्योगलाई आवश्यक पर्ने जुट भारतबाट आयात गर्ने र जुट खरिदको अधिकांस भुक्तानी हुन्डिमार्फत नै विराटनगरबाट हुने गरेको दावी स्रोतले गरेको छ । जुट उद्योगलाई आवश्यक पर्ने जुटको कारोबारमा विचौलियाको काम गर्दै आएकाहरूले हुन्डिको साहारामा कारोबार गर्ने गरेको रहस्य पनि खुलेको छ । यो समूह पछिल्लो समय खुलेयाम हुन्डिको कारोबारमा संलग्न भएको दावी स्रोतको छ ।
सुनसरी मोरङ्ग औद्योगिक करिडोरमा संचालन हुँदै आएका जुट मिलमा हुने भारतीय जुट व्यापारीको कारोबारमा विचौलियाको काम गर्दै आएका समूहले विराटनगरमा डरलाग्दो तरिकाले हुन्डिको कारोबार गर्ने गरेको दावी स्रोतको छ । सरकारको नियमानुसार भारतीय जुटका व्यवसायीलाई जुट खरिदको भुक्तानी गर्दा बैंकबाट आरटीजीसमार्फत भुक्रानी व्यवस्था मिलाउनुपर्नेमा उद्योगिहरूले विचौलीयामार्फत भुक्तानी व्यवस्था गरेर हुन्डिको कारोबारलाई प्रश्रय दिएको बताइएको छ । अहिले विराटनगरमा भारतीय जुटको कारोबारलाई गर्ने भुक्तानीमा हुुन्डिले आफ्नो वर्चस्व राखी कारोबारीको भुक्तानी पुर्जीसमेतको खरिद बिक्री पनि गर्ने गरेको रहस्य खुुलेको छ । यसरी उद्योगीसँग खरिद गरिएको सोही पुर्जीको अधिकांश भुक्तानी हुन्डिको माध्यमबाट भारतका विभीन्न सहरमा भारतीय जुटका कारोबारीलाई पठाइने गरेको दावी पनि स्रोतले गरेको छ ।
यसबाहेक विराटनगर र भारतीय बजार जोगबनीमा दैनिक पाँच करोडभन्दा माथी नेपाली मुद्रामा व्यवसायिक कारोबार हुुने गरेको भनाइ स्थानीय व्यवसायीको छ । दैनिक उक्त रकमको कारोबार भएको नेपाली मुद्रा खुुलासीमाको फाइदा उठाउँदै विराटनगर भित्रीने र उक्त रकम भारतीय मुद्रामा कारोबार हुँदै फेरी भारत नै पुग्ने गरेको दावी नेपाली व्यापारी स्रोतले आर्थिक दैनिकलाई बताएको छ । विराटनगर औद्योगिक एवं व्यवसायिक क्षेत्र भएकाले हुन्डि कारोबारका लागि उर्वर भूमि भएको जानकारहरूको भनाइ रहेको छ । पछिल्लो समय भारतीय जुटका कारोबारीको कारोबारलाई दुबैका बीच सामिप्यता बढाएर बिचौलियाको काम गर्न थालेपछि हुन्डि कारोबारबाट राम्रै नाफा हुने भन्दै आफ्नो पुरानो व्यापारी कारोबार नै छाडेर केही व्यवसायीले नयाँ रूपमा हुण्डिको कारोबार थालेको दावी पनि गर्न थालिएको छ । नयाँ र पुराना दुबै अवैध हुन्डिको कारोबारमा प्रवेश गरेसँगै हुन्डिको संजाल पछिल्लो समय विराटनगरमा सक्रिय हुन थालेको हो ।