दाङ,दाङको लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा शुक्रबार साँझ लुटपाट गर्ने उद्देश्यले अज्ञात समूहले गोली प्रहार गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार लुटपाटको प्रयासकै क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ।
गोली लागेर पसल सञ्चालक १८ वर्षीय दिपक सुनार घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी लमही अस्पतालमा उपचार गराइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए।
घटनापछि प्रहरीले आसपासको क्षेत्र घेराबन्दी गरी अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र गरिएको प्रहरीले जनाएको छ।